arrow

यस्तो देखिँदैछ बारा ४ मा प्रतिनिधि सभा उम्मेदवारको लेखाजोखा  

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ भदौ २१ मंगलबार
pratinidhi-sabha-nirwachan-2079.jpg

बारा । बारा निर्वाचन क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अवस्था निकै कमजोर देखिन्छ । हालै सम्पन्न स्थानीय तहको वडागत तथ्यलाई केलाउने हो भने समाजवादी भन्दा माओवादी केही माथि देखिए पनि जनमत माओवादीको पक्षमा देखिन्न । 

यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । जसपाकोसमेत निकै कमजोर जनमतका कारण बारा ४ मा जसपाले गठबन्धनका अन्य दललाई नै समर्थन गर्न सक्ने आँकलन गर्न सकिन्छ । 

२०७४ कै निर्वाचनलाई हेर्ने हो भने वामगठबन्धन र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरी आ–आफ्नो उम्मेदवारी दिएका थिए । 

जसमा राजपाका उम्मेदवार एकवाल मियाँ विजयी भएका थिए । मियाँले २२ हजार २ सय ७५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी वामगठबन्धनका उम्मेदवार देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरेका थिए । एक्लै चुनावमा गएको नेपाली कांग्रेसका उम्मेदवार लालबाबु सिंह भुमिहारले १४ हजार ५१६ मत प्राप्त गरी तेश्रो भएका थिए । 

अहिले क्षेत्र ४ मा कांग्रेसले डा. शोभाकर पराजुली, सुनिलकुमार गुप्ता, लालबाबु सिंह, कृष्णव्रत सिंह, ईच्छा वाग्ले र राजेशप्रसाद चौरसियाको नाम जिल्लाले सिफारिस गरेको छ । 

पराजुली संविधानसभा सदस्य हुन् भने भुमिहार २०७४ को निर्वाचनमा तत्कालीन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार एकवाल मियाँसँग पराजित भएका थिए । 

डा. पराजुली नेपाली कांग्रेसभित्र बौद्धिक नेताका रुपमा पनि चिनिन्छन् । उनी पार्टी केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिव र संसदीय दलको पूर्व सचेतक एवं संविधान सभा सदस्यसमेत हुन् । 

सुनिलकुमार गुप्ता गत स्थानीय निर्वाचनमा प्रसौनी गाउँपालिकामा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बनेका थिए । गुप्ता ४ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पनि हुन् । 

व्यवसायी पृष्ठभूमिबाट आएका वाग्ले यस क्षेत्रका लागि नयाँ व्यक्ति र कार्यकर्ता एवं मतदाता माझसमेत त्यति धेरै लोकप्रिय देखिन्नन् । कृष्णव्रत सिंह पहिलो स्थानीय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरको प्रमुख पदका प्रत्यासी उम्मेदवार हुन । 

निकै सादगी जीवन शैलीका कारण पार्टी भित्र राम्रो छवि बनाएका व्यक्ति हुन् । पूर्व गाविस अध्यक्षसमेत भइसकेका निकै शालीन व्यक्तित्वको रुपमा हेरिए पनि उनी जनता माझ पुग्न नसक्ने भनेर कांग्रसीजनहरु भित्रै गुनासो सुनिन्छ । 

नेकपा एमालेले पुनः देवनारायण थारु चौधरीको नाम एकल रुपमा पठाएको छ । शिक्षक पृष्ठभूमिबाट आएका थारुसमेत एमाले भित्र बौद्धिक र सरल जीवन शैली भएका व्यक्ति हुन् । 

२०७४ को निर्वाचनमा पाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थारु यस पटक भने सत्ता गठबन्धनका दलहरुका साझा उम्मेदवारसँग एक्लै भिड्नु पर्ने देखिन्छ । 

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, जसपा, माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फबाट जसले टिकट पाए पनि गठबन्धनको जित सहज देखिन्छ । 

अघिल्लो संघीय निर्वाचनमा वाम गठबन्धनका तर्फका उम्मेदवारको मत र हालै स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पाएको मतलाई समेत हेर्ने हो भने निकटतम प्रतिद्धन्द्धीका रुपमा नेकपा एमालेलाई लिन सकिन्छ । 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट केन्द्रीय अध्यक्ष महन्त ठाकुरको नामसँगै अन्य तीन जनाको नाम सिफारिस  गरेको छ । जसमा संघीय सांसद एकवाल मियाँ, सिताराम गुप्ता र शिवजी साह सोनार रहेका छन्  । 

केन्द्रीय अध्यक्ष ठाकुर बारा ४ बाट चुनाव लड्ने पक्षमा देखिँदैनन् । सद्भावका लागिसमेत उनको नाम सिफारिस भएको पार्टीकै कार्यकर्ताहरु बताउँछन् । 

हाल संघीय सांसद रहेका मियाँ, गुप्ता र सोनारमध्ये एक जना उम्मेदवार हुने छन् । जसपाको भन्दा लोसपाको यस क्षेत्रमा राम्रो पकड रहेको छ । स्थानीय निर्वाचन र गत संघीय निर्वाचनको परिणामबाट हेर्ने हो भने लोसपासमेत प्रतिस्पर्धात्मक हुन सक्ने देखिन्छ । जातिय भोटको असर देखिँदा कांग्रेस, एमाले र लोसपाबीच नै प्रमुख प्रतिस्पर्धा हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ