arrow

नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट विराटचोक आसपासका सात सय बिरामी लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
nobel-hospital-check-up.jpg

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ स्थित विराटचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराट चेस क्लबसँग सहकार्य गरेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
    
शिविरमा ७ सय ६५ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ४५ जनाको ईसीजी, १ सय ९४ जनाको रक्त परीक्षण र १ सय ९७ जनाको भिडियो एक्सरे गरिएको छ । 

दाँतमा समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई अस्पतालकै गाडीमा नोबेल ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्था पनि मिलाइने छ । 

शिविरमा स्त्री रोग विशेषज्ञ डा.प्रतिमा काफ्लेसहित २२ जना स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । विशेषगरी स्त्रीरोगलाई प्राथमिकता दिएर आयोजना गरिएको शिविरमा उपचारका लागि ठूलो संख्यामा महिलाहरु आएका थिए ।

नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामीले निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्मा मोरङको बेलवारीका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा. शर्माको क्षेत्र पनि भएकाले मोरङको क्षेत्र नं. ३ मा अझ बढी स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ ।

उनी आगामी प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवारीको सिफारिसमा समेत परेका छन् । सो क्षेत्रमा डा.शर्माले अहिले घर–घरमै डाक्टर पठाएर ‘एम्बुलेन्स क्याम्प’ पनि सञ्चालन गर्ने व्यवस्था मिलाइदिएका छन् । 

उनले वर्षौं अघिदेखि सो क्षेत्रका बासिन्दालाई अवस्था हेरी नोबेलमा निःशुल्क र सहुलियतमा उपचार गराइरहेका छन् । डा.शर्मालाई अहिले कांग्रेसले मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वारको रुपमा अघि सारेको छ । 

डा.शर्मा राजनीति र समाजसेवामा पनि सक्रिय छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ