arrow

‘हो आमा त्यो आयो नि’ भनेर अब नयाँ गोपालप्रसाद रिमाल जन्माउने कि ?

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ भदौ २५ शनिबार
rajendra-panthi-article-51.jpg

‘आमा, त्यो आउँछ र ?
हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’
                         (आमा कविता)
                      गोपालप्रसाद रिमाल

माथिको कवितांशमा गोपालप्रसाद रिमालले भनेजस्तै त्यो आउने आशमा धेरै वर्ष बिते । आमाले निर्धक्कसँग आउँछ भनेर देखेका ती सपना भनेका प्रजातन्त्र, सुख, शान्ति र समृद्धि, सुव्यवस्था, समुन्नत समाज, जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारका ग्यारेन्टी नै हुन् । आमाले देखेको सपनाजस्तै प्रजातन्त्र त आयो तर त्यसको खास मूलमर्म र तत्व आउन सकेन । प्रजातन्त्रको वास्तविक रुपलाई कुर्दा कुर्दा पुस्तासमेत बित्न थाले । 

यो नेपाल आमाले २००७ सालपूर्व देखेको सपना हो । त्यो सपना अझै पूर्ण रुपमा विपना हुन सकेको छैन । रिमालले भनेजस्तै र आमाले देखेको सपनाजस्तै क्रान्तिका आँधिबेरी नआएका होइनन् । क्रान्तिले राणा, पञ्चायत, राजाको शासन व्यवस्था नै ढले तर नयाँ आएको लोकतान्त्रिक व्यवस्थामा पनि नेपालको विकास र समृद्धिमा उल्लेखनीय र अनुभूतियोग्य परिवर्तन हुन सकेन । क्रान्ति भए, मान्छे मरिए र मारिए । धेरै सम्झौता गरिए । सपना बाँडिए र नेपाल आमालाई पटक पटक झुक्याइयो । 

प्रजातन्त्रको पुनः बहाली भएको तीन दशक बित्दा पनि नेपाल आमाका ती छोराछोरीको अवस्थामा तात्विक फरक आउन सकेन । अब आमाले भनेजस्तै कति वर्ष आशावादी भएर आउँछ आउँछ भनेर बस्न सकिन्छ र ? आमाले देखेको सपनाजस्तै प्रजातन्त्र त आयो तर प्रजातन्त्रमा प्रजाको तन्त्र आउन सकेन । प्रजातन्त्ररुपी मुकुटो मात्र आयो । प्रजातन्त्रको मुकुटोभित्र पुरानै सोच र चिन्तनको नेतातन्त्र, पार्टीतन्त्र, गुटतन्त्र र लुटतन्त्र नै रहिरह्यो । 

पटकपटक विभिन्न स्वरुपमा क्रान्तिका हुरी र बतास चले । व्यवस्था पनि हुत्तिए तर त्यो पुरानो चिन्तन र सोच हुत्तिन सकेको छैन । अब पनि आउला भनेर पर्खेर आशावादी भएर बस्ने अवस्था छैन । नेपाल आमाको त्यो सपना प्रजातन्त्र वा लोकतन्त्र आइसकेको छ । यही व्यवस्थालाई प्रयोग गरेर अब नेपाली जनताको अवस्थामा परिवर्तन ल्याउनु पर्छ र सपनालाई साकार पार्नुपर्छ । ‘हो आमा, त्यो आयो नि’ भनेर खुशी हुँदै अर्को गोपालप्रसाद रिमाल जन्माउनु पर्छ ।

रिमालद्वारा रचित प्रस्तुत कविता २००७ पूर्व नै रचना गरिएको थियोे । रिमालले राणा शासनका विरुद्धमा आक्रोशित हुँदै यो कविता लेखेका थिए । प्रजातन्त्र प्राप्तिको लागि अब कसैले रोक्न सक्दैन, परिवर्तन अवश्य हुन्छ भनेर उनले यस कवितामार्फत उद्घोष गरेका थिए । कविले भनेजस्तै २००७ र २०४६ मा नेपाली जनताले लडेर र मरेर प्रजातन्त्र ल्याए । जनता दलहरूप्रति विश्वस्त भए । तर दलले जनतालाई बेवास्ता, अपमान र अपहेलना गरी व्यवस्थाको नै खिल्ली उडाउँदै भ्रष्टाचारमा लम्पट भए । 

प्रजातन्त्रको नाममा नातावाद, कृपावाद, चाकडी, चाप्लुसी, घुसखोरी, षड्यन्त्र, भ्रष्टाचार, अनियमितता, विभेद आदि थुप्रै विकृति र विसंगति देखिए । प्रजातन्त्रलाई बलियो र मलिलो बनाउन खोजिएन । जनताले लडेर प्रजातन्त्रमात्र होइन अझै त्यसको सुदृढ रुप लोकतन्त्र र गणतन्त्र ल्याउँदासमेत नेता मोटाउने तर जनता दुब्लाउँदै जाने अवस्था भयो ।

अब त देशमा राजनीतिक स्थिरता होला कि भन्यो पुनः जस्ताको त्यस्तै नै भइरहेको छ । यही अवस्थामा यिनै दलबाट यही तरिका र प्रवृत्तिले आशा मात्र गरेर आमाले देखेको जस्तो सपना अब आउने सम्भावना छैन । नेपाल आमाका छोराछोरीले अब गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । सिद्धान्त र नैतिकताविहीन राजनीतिको कुनै अर्थ र गन्तव्य नहुनाले यस्तै अवस्थाका यी राजनीतिक दलहरूको गीत गाएर अन्धभक्त हुनुको कुनै औचित्य छैन । 

अझै त्यो आउला भनेर पर्खेर बस्ने हो भने त हामी बाँचुञ्जेल त त्यो आउँदैन  र पछिल्लो पुस्तालेसमेत केही पाउन सक्दैनन् । नेपाल आमाले देखेको त्यो सपना पूरा गर्नको लागि बाटो तय गरिसकिएको छ । तर आफैं हिँड्नु पर्ने देखिन्छ । अब प्राप्तिका लागि यी राजनीतिक दलहरूबाट आश गर्नु बेकार हो । किनकि नेपालमा रहेका अहिलेका सक्रिय राजनीतिक दलहरूमा सिद्धान्त, विचार, नैतिकता, जिम्मेवारीबोध र इमान्दारिता भन्ने पटक्कै छैन । यी विज्ञानसम्मत तरिकाले पटक पटकको परीक्षणबाट असफल भएका छन् । यही अवस्थामा यिनैलाई स्वीकार्नु भनेको देशलाई अझै अन्धकारतिर धकेल्नु हो ।

अब नेपाल आमाको सपना पूरा हुन नदिने ती राजनीतिक दलहरूको कुकृत्यलाई एक एक गरी नंग्याइदिनुपर्छ । अहिले पनि मासुको बिलो लगाए झैँ सत्ताको बिलो लगाउन तम्तयार भएर बसेका छन् । लोकतन्त्रमा स्वतन्त्र तरिकाले आफ्ना जनप्रतिनिधि चुन्न पाउने नेपाली जनताको हक र अधिकारमाथि अझै बन्देज लगाएर यसैलाई भोट दिनुपर्छ भनेर जबर्जस्ती गरिँदैछ । यस्तो परिस्थितिमा त्यो आउला भनेर बस्ने अवस्था छँदै छैन । अबको चुनावमा आक्रोश र विद्रोहको राँको दन्काउनु पर्ने देखिन्छ ।

यही मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघको निर्वाचनमार्फत नै सीमित व्यक्ति र पार्टीले बन्धक बनाएर राखेको त्यो नेपाली जनताको सपनालाई खोस्नुपर्छ । अबको चुनावमा कुर्सी ओगटेर र जरा गाडेर देशको ढुकुटी रित्तो बनाएका यी कथित राजनीतिक दलका हजुरबुवा पुस्ताका नेतालाई ठाउँको ठाउँ हराउनु पर्छ । यो हजुरबुवा पुस्ताप्रतिको अपमान भने होइन । पार्टीमा केही इमान्दार कार्यकर्ता पनि छन् । ती जुनसुकै पार्टीका होउन् तिनलाई जिताउनु पर्छ । अब सबैखाले नेतृत्वमा पुस्तान्तरण र समाजमा रुपान्तरण चाहिएको हुनाले यसपालिको चुनावमा एउटा उर्लदो खहरे ल्याउनु पर्ने देखिन्छ जसले यो फोहरी र दुर्गन्धित राजनीतिलाई उखेलोस् र बढारोस् ।

यो पुरानो दल वा त्यो नयाँ दल भनेर पुरानै पारा र भाषणबाजीले समाजको रुपान्तरण सम्भावना छैन । आजसम्म दलहरूले धेरै भ्रमका खेती गरे र नेपाललाई सामाजिक र आर्थिक रुपमा टाँट पल्टाए । अब यस्ता बकम्फुस गफ सुनेर तिनैका पछाडि लागेर, तिनैलाई भोट दिएर देशमा समृद्धि आउँदैन । नेपाली माटोको राजनीति चाहिएको छ । दुनियाँभरका सिद्धान्तले नेपाली जनताको पेट भरिँदैन र मुहार पनि फेर्न सकिँदैन । अब आउने निर्वाचनमा यी असक्षम र असफल नेताविरुद्ध नयाँ अनुहार चुनावी मैदानमा उतारी ठाउँको ठाउँ हराउनु पर्छ । नयाँ पुस्ताले नेतृत्व सम्हाल्नु पर्छ ।

जबसम्म यी पेशेवर राजनीतिक दललाई सच्याउन वा सकाउन सकिँदैन तबसम्म यिनले देशलाई लुट्न र नेपाली जनतालाई झुक्याउन छोड्दैनन् । यिनलाई सच्याउने एउटा मुख्य अस्त्र भनेको चुनावै हो । नेपालको निर्वाचन प्रणालीअनुसार नो भोटको व्यवस्था नभएको हुनाले यिनलाई चुनावमा हराउनु नै अहिलेको उत्तम विकल्प हो । नेपाली जनताले यी दलहरूलाई सच्चिनको लागि पटक पटक मौका दिएकै हुन् । यद्यपि लोकतन्त्रमा दलको महत्वपूर्ण भूमिका रहेको हुनाले अब नेपालमा नेपाली माटो सुहाउँदो नयाँ पार्टी बन्नु र बनाउनु पर्ने देखिन्छ । सत्ताको बार्गेनिङ गर्ने यी व्यक्तिपिच्छे बनेका पार्टीको कुनै औचित्य छैन । 

यो निर्वाचनलाई एउटा साँच्चै नै परिवर्तन ल्याउने निर्वाचनको रुपमा लिऊँ । अब पनि आमाले सपना देखेकै छन् भनेर वा गोपालप्रसाद रिमालले कवितामा भनेका छन् भनेर बस्ने अवस्था छैन । धेरै  ढिला भइसकेको छ । अब त त्यो आफै पक्कै आउँदैन अहिलेको नयाँ पुस्ताले नै जबर्जस्त खोस्नैपर्छ । नेपाली आमाको त्यो सपनालाई अब अहिले नै पुरा गर्नुपर्छ र आमा, त्यो त आयो भनेर नयाँ कविता रचिनु पर्छ । (लेखक अमेरिकाको भर्जिनियामा कर्म गर्छन्) 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ