- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरुलाई उम्मेदवार तय गर्न सकस परेको छ । देशभर रहेका १६५ निर्वाचन क्षेत्रमा सकेजति बढी क्षेत्रमा उम्मेदवार तोक्ने प्रयास राजनीतिक दलहरुले गरिरहेका छन् । सिटबाँडफाँटमा अड्किएको सत्ता गठबन्धनले पनि चाँडै नै अन्यौल टुंग्याएर उम्मेदवार तय गर्ने तयारी गरिरहेको छ ।
दश संसदीय निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा क्षेत्र नम्बर १ को अवस्था कस्तो छ भनेर यसअघि हामीले गणनात्मक र सामान्य तथ्यगंत विश्लेषण गरिसकेका छौं । यो समाचार पढ्नुस्–
यसरी नै काठमाडौं क्षेत्र नम्बर २ मा पनि संसदीय चुनावी प्रतिस्पर्धा खरो देखिने भएको छ । गत २०७४ को संसदीय निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका थिए ।
यसपालि भने लामो समयदेखि एमालेको पकड बलियो रहेको मानिने क्षेत्र नम्बर २ मा एमालेलाई चुनौती हुने भएको छ । माधवकुमार नेपाल एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दै पार्टीको नेतृत्व गरिरहेका छन् ।
गत संसदीय निर्वाचनमा नेता नेपालले क्षेत्र नम्बर २ बाट जिते पनि अहिले दलगत रुपमा भिड्न उनलाईसमेत निकै कठिन छ । यसपालि उनी हारिने डरले राैतहट कुलेलम ठाेक्दैछन् ।
२०७४ सालमा माधवकुमार नेपालले क्षेत्र नम्बर २ मा २७ हजार ३ सय ६६ मत प्राप्त गर्दै जित हात पारेका थिए । प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका तर्फबाट दीपकप्रसाद कुइँकेलले १४ हजार ९ सय ३ मत प्राप्त गरेका थिए ।
यस्तै तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत प्राप्त गरेका थिए ।
संसदीय निर्वाचन क्षेत्र काठमाडौं २ शंखरापुर नगरपालिकाको वडा नम्बर ९, काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ ।
स्थानीय चुनावमा
२०७४ को स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको चुनावी एकताले कांग्रेसले भन्दा बढी मत प्राप्त गरेको थियो । तर अहिले विघटन भएर एमाले र माओवादी केन्द्र अलग भइसकेका छन् भने एमाले फुटेको पनि छ । त्यसैले स्थानीय तह चुनावको दलगत नतिजा हेर्नु नै उचित देखिन्छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेले १९ हजार ४ सय ५ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले १५ हजार ३ सय ४२ मत पाएको थियो ।
यस्तै माओवादी केन्द्रले ५ हजार ४ सय २८ मत पाएको थियो भने राप्रपाले ५ हजार ३ सय १३ मत प्राप्त गरेको थियो । यस्तै २०७९ को गत स्थानीय निर्वाचनमा भने यो क्षेत्रमा नेपाली कांग्रेस पहिलो दलका रुपमा देखिएको छ । कांग्रेसले १७ हजार १ सय १९ मत प्राप्त गरेको छ भने, नेकपा एमालेले १६ हजार ९ सय ६९ मत प्राप्त गरेको छ ।
यस्तै माओवादी केन्द्रले ३ हजार ७५ र राप्रपाले ६ हजार ९ सय २० मत प्राप्त गरेको छ ।
एमाले र कांग्रेसबीच बलियो प्रतिस्पर्धा, कांग्रेसले पाउने सम्भावना कम
यसरी हेर्दा काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच थोरै मतको भिन्नता देखिन्छ । त्यतिबेला दुई दलबीचको एकता हुँदा माधवकुमार नेपालले ठूलो लाभसहित जित हात पारेको देखिन्छ । स्थानीय तह निर्वाचनको मतपरिणामले प्रतिनिध सभा निर्वाचमा न्युन भए पनि महत्व राख्छ नै ।
तर, अहिले सत्तागठबन्धनबीच सिट बाँडफाँड भएर यो क्षेत्रबाट माओवादी केन्द्र र नेपाली कांग्रेसले एउटै उम्मेदवार उठाउने हो भने गठबन्धन पक्षको पकड निकै बलियो रहने र एमालेलाई भने चुनौती हुने देखिन्छ ।
तथापि एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्ने पनि महत्वपूर्ण विषय हो । यसका साथ साथै नयाँ दलबाट उठ्न सक्ने उम्मेदवार, स्वतन्त्रतर्फका उम्मेदवारहरुले समेत यसलाई प्रत्यक्ष र बलियो असर पार्नेछ ।
अन्यथा गणनाको हिसाबमा र आधारभूत विश्लेषणात्मक तरिकाले हेर्दा एमाले र नेपाली कांग्रेसले तोक्ने उम्मेदवारको प्रभावलेसमेत जित्नका लागि बलियो आधार राख्नेछ ।
माओवादी केन्द्र र कांग्रेससहित गठबन्धनका तर्फबाट एउटै उम्मेदवार बनाउने हो भने एमालेसँगको मात्रै प्रतिस्पर्धामा गठबन्धनका उम्मेदवारले जितका लागि बलियो समर्थन पाउने देखिन्छ ।
माथि भने झैं एमालेका उम्मेदवारको व्यक्तिगत प्रभाव, अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारको प्रभाव पनि उत्तिकै रहनेछ ।
के होला समीकरण ?
२०७४ मा चुनाव जितेका माधव नेपाल यो क्षेत्र छोड्ने लगभग निश्चित भएको छ । उनी आफ्नो जनमत कम भएकै कारण गठबन्धनको भोटले जित्न नसकिनेमा ढुक्क छन् । त्ससैले उनले गाउँ फर्क अभियानलाई सघाउ पुर्याउने बुझ्न सकिन्छ ।
नेपाल रौतहट १ बाट चुनाव लड्ने निश्चित जस्तै छ । यसो भएपछि यो क्षेत्रमा गठबन्धनबाट त्रिपक्षीय दाबी परेको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा कांग्रेस प्रमुख दाबेदार हो । अर्कातर्फ गठबन्धनको मापदण्डअनुसार नेकपा एसको भागमा यो यसै पनि पर्छ ।
अर्कातर्फ माओवादीले पनि दाबी गरिरहेको छ । जसपा र जनमोर्चाको कुनै उपस्थिति नभएकाले गर्दा अहिलेसम्म त्रिपक्षीय दाबी देखिएको छ । २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा अचम्मसँग माओवादी नेता झक्कुप्रसाद सुवेदी विजयी भएका थिए ।
त्यसपछि लिलामणि पोखरेल भने पराजित हुँदै आएका छन् । अहिले झक्कुलाई जस्तै गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सभामुख ओनसरी घर्तीलाई ल्याउने मुडमा छन् ।
त्यसैले पनि ओनसरीको नाम सो क्षेत्रबाट एक नम्बरमा सिफारिसमा परेको छ ।
नेकपा एसले भने उपाध्यक्ष प्रमेश हमालको अडान राखेको छ । तर प्रमेश यो क्षेत्रका हैनन् । जसरी ओनसरी पनि हैनिन् । प्रचण्डले चाहे भने उनी उम्मेदवार हुनेमा दुईमत छैन ।
गठबन्धनको सबैभन्दा बढी मत कांग्रेसको भए पनि कांग्रेसले यो क्षेत्र पाउने सम्भावना कम छ ।
यो क्षेत्रबाट एमाले हाबी छ । तर चुनावसम्म माहोल कस्तो बन्छ भन्ने यसै भन्न सकिँदैन । एकल चुनाव लड्दा एमाले हावी देखिए पनि गठबन्धनले गर्दा परिणाम उथलपुथल हुने निश्चित छ ।
स्थानीय तहको परिणाम र संघीय निर्वाचनमा फरक पर्ने हुनाले पनि यसै भनी आँकलन गर्न सक्ने अवस्था छैन ।