- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको वर्तमान राजनीतिक परिदृश्य हेर्दा अब त यहाँ कुनै आफ्नो छुट्टै अस्तित्व र पहिचान भएका राजनीतिक पार्टी नै छैनन् कि जस्तो लाग्दैछ । यो देशमा जति पनि राजनीतिक पार्टी रहेका छन् भनिएको छ ती एक र अर्कोमा कुनै भिन्नता छैनन् । गठबन्धनमा गएपछि आफ्नो एकल अस्तित्व बोकेका कोही पनि छैनन् भन्ने स्पष्टै भएको हो । त्यसैले त राजनीतिक पार्टी भन्न लायक नै छैनन् ।
कुन कांग्रेस हो, कुन कम्युनिष्ट हो वा अन्य कुन हो भनेर छुट्याउने र चिन्ने आधार केही पनि छैन । यो दृश्य हेर्दा नेपालको इतिहासमा कांग्रेस र कम्युनिष्ट पार्टी त थिए भन्ने अवस्थामा पुगेको देखिन्छ । ती वीपी र पुष्पलालका आन्दोलन र विचारहरू इतिहासका पानामा थन्किएर बसेका छन् । आज पार्टीहरू सिद्धान्त र विचारलाई एउटा बोरामा थन्क्याएर जता जाँदा वा जसो गर्दा कमाउन र लुट्न पाइन्छ त्यतै लागेको देखिन्छ ।
अब यो कांग्रेस पार्टी हो भनेर के आधारमा चिन्ने ? कुन कांग्रेसमा छ त्यो वीपीको समाजवादी चिन्तन र आस्था ? स्वयं पार्टी अध्यक्षले नै गठबन्धनको विरुद्धमा नबोल्नु र फलानो कम्युनिष्टका नेतालाई भोट दिनैपर्छ नत्र पार्टीमा कारबाही हुन्छ र निष्कासनसमेत गरिनेछ भनेर सर्कुलर जारी गर्छन् । यसरी कांग्रेसको सिद्धान्त र विचार कहाँनेर देखिन्छ र ?
कम्युनिष्टका त झन् कुरै के गर्नु र ? व्यक्तिपिच्छे पार्टी नै छन् । पार्टी भित्र टीके प्रणाली छ र आन्तरिक लोकतन्त्र भन्ने कतै छैन । दलहरूले लोकतन्त्रको नाम जपेर यसका मूल्य र मान्यतालाई उल्लङ्घन गर्दै तानाशाही प्रवृत्ति देखाइरहेका छन् । लोकतन्त्रको आत्मा भनेको निर्वाचन हो । जसमार्फत जनताले आफूले रोजेको पार्टी र व्यक्तिलाई मतदान गर्ने स्वतन्त्र अधिकार हुन्छ । आफूले रोजेको र चुनेको व्यक्तिले सरकार चलाउँछ तर यहाँ त कस्तो निर्वाचन प्रणाली बनाइँदै छ भने सीमित व्यक्तिले रोजेको उम्मेदवारलाई भोट दिनुपर्ने बाध्यता छ । यस्तो निर्वाचन प्रणालीलाई कसरी लोकतन्त्र भन्ने ? पाँच वा छ दलका टाउकेले जसलाई भोट हाल्न भन्छन्, नेपाली जनता उसैलाई भोट हाल्नुपर्ने बाध्यतात्मक परिस्थिति बनाइँदै छ ।
लोकतन्त्र भनेको कुनै दलका शीर्ष नेताहरूको निजी सम्पत्ति त पक्कै होइन । लोकतन्त्रलाई बन्धक बनाएर यी तानाशाही प्रवृत्तिका विरुद्धमा बोल्नु, आक्रोश पोख्नु, विद्रोहको ज्वाला दन्काउनु र लोकतन्त्रलाई सुरक्षा गर्नु नै अहिलेको प्रमुख आवश्यकता देखिन्छ ।
लोकतान्त्रिक व्यवस्थामा देश विकासको लागि राजनीतिक पार्टीको महत्त्वपूर्ण भूमिका हुनु पर्नेमा हाम्रो देशमा त राजनीतिक पार्टीहरूले नै देशलाई कङ्गाल बनाउन लाग्दैछन् । अहिलेका पार्टीहरू यस्तो दुर्गन्धमा फसे कि अब त मानौँ कि त्यो दुर्गन्धबाट बाहिर निस्कन नै सक्दैनन् जस्तो लाग्दैछ । राजनीतिक विकृतिको चरम रुप जसरी पनि सत्ता कब्जा गर्ने बाटोतिर यी राजनीतिक दलहरू लागेका छन् ।
यी पार्टीहरूलाई नेपाली जनताको गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार आदि कुनै कुराको चासो, चिन्ता र चिन्तन नै छैन । सत्तामा कसरी पुग्ने र देशको सम्पत्ति कसरी लुट्ने भन्ने मात्र चिन्तन र चिन्ता देखिन्छ । देशको प्रमुख प्रशासकीय भवन प्रधानमन्त्री कार्यालयमा जनताका सरोकारका बारेमा आज यति ठूलो बहस भयो भनेर कहिल्यै सुनिँदैन । सुनिन्छ त केवल राजनीतिक षड्यन्त्र र सत्ता बाँडफाँडको खेलमात्र ।
विगत तीन दशकलाई मात्र फर्केर नियाल्ने हो भने नेपालका राजनीतिक दलमा विचार र आस्था खस्कदै खस्कदै गएर शून्य प्रायः नै हुन पुगेको छ । राजनीतिका नाममा अराजनीति र लाजनीति हावी भइरहेको छ । राजनीति गर्न आफ्नो स्पष्ट सिद्धान्त नै छैन भने के को राजनीति गर्नु ? देश र जनताको समृद्धिको लागि एउटा निश्चित विचार र आस्था हुनुपर्नेमा त्यो नै छैन भने कसरी राजनीतिक दल भनेर विश्वास गर्न सकिन्छ र ?
नेपालमा रहेका कुनै पनि दलमा विधि, विधान, सिद्धान्त, विचार र आस्था नै छैन । राजनीतिक दल भनाउँदामा टीके प्रणाली, गुटबन्दी, चाकरीचाप्लुसी, नातावाद र कृपावाद मात्र छ । राजनीतिक दलका नेताहरू निर्वाचन नजिक आउँदा जुकासरि स्याँउँस्याँउँ गर्दै उही रुप र उही तरिका अपनाउँदै निर्लज्ज तरिकाले जनता समक्ष आउँदै गरेको देखिन्छ ।
विगतको चुनावमा निर्वाचित भएपछि पाँच वर्ष कहाँ हराए, थाहा पत्तो भएन । कुनै नेताले आफूले जनताको काम गर्न नसकेको भनेर गल्ती त स्वीकार्ने होइन कि उल्टो अर्को दल वा नेतालाई तथानाम गाली दिएर उम्कन खोज्छन् । जहिले पनि झुटो र आश्वासनको खेतीमात्र गरेका छन् । अब नेपाली जनताले बुझ्नु पर्ने कुरो के छ भने प्रायः पार्टीका अधिकांश नेताहरू चोखा र शुद्ध छैनन् । अहिलेसम्म हेर्दा प्रायः नेताको धन्दा भनेको देशलाई लुट्ने र कमाउने मात्र देखियो ।
सबैका आँखा अगाडि छर्लङ्ग तथ्य र प्रमाण देखिएकै छन् त। यी नेताका काठमाडौंमा आलिसान घरघडेरी, जग्गाजमीन, व्यावसायिक कारोबार, ठेक्कापट्टा, शेयर कारोबार कसरी कमाइए ? सामान्य संसदको भत्ताले त्यत्रो सम्पत्ति जोड्न सकिन्छ र ? यस्ता थुप्रै प्रश्नहरू तिनीहरूका अगाडि तेर्साउनु पर्छ । जनताको सेवा गर्ने भनेर राजनीति गर्ने, चुनावमा पनि जित्ने अनि देशको सम्पत्तिमा दाइँ लगाएर ब्रह्मलुट गर्ने प्रवृत्तिले आज नेपाल कङ्गाल भएको हो । यस्तो हविगत अवस्थामा पुर्याउने तिनै नेतालाई फेरि भोट दिने हो र ? समयले कुनै हालतमा हामीलाई माफ दिन सक्दैन ।
नेपालका सीमित नेताले वर्षौँदेखि लोकतन्त्रलाई बन्धकमा राखेर मनपरितन्त्र चलाएका छन् । अब आउने निर्वाचनमा यिनलाई ठाउँको ठाउँ हराइ नयाँ पुस्तालाई जिताउनु पर्छ । अहिलेको चुनावी नारा र अभियान भनेको नयाँ पुस्तालाई जिताऔं भन्ने नै हुनुपर्छ । नयाँ पुस्ता भनेको उमेरको मात्र नयाँ होइन कि विचार र जोश पनि नयाँ भएकोलाई अवसर दिनुपर्छ । ज्योतिषले कसैलाई सातपटक प्रधानमन्त्री बन्छ भनेको आधारमा नेपाली जनताले देशलाई रित्त्याएर र आफू रित्तिएर पुनः त्यसैलाई भोट दिनुको कुनै औचित्य छैन । कसैलाई तीन तीन पटक प्रधानमन्त्री हुने भविष्यवाणी पनि ज्योतिषले गरेका होलान् ।
अब त अति भो । यिनीबाट पार लाग्नै सक्दैन । यिनीबाट देशको प्रगति, उन्नति र समृद्धि हुनै सक्दैन । नयाँ पुस्ता नै अबको सर्वोपयुक्त विकल्प हो । नयाँ पुस्ताप्रति शङ्कै लागे पनि यस्तो अतिविधि त नगर्लान् कि !
प्राकृतिक नियम र ध्रुवसत्य पनि यो हो कि कुनै पनि प्राणी उमेर चढ्दै जाँदा शारीरिक र मानसिक रुपमा शिथिल र कमजोर हुँदै जान्छ । युवा अवस्थामा जस्तो स्मरण शक्ति, हिम्मत, साहस र बल हुन्छ त्यस्तो वृद्ध अवस्थामा हुँदैन । कुनै काम गर्छु भन्दा पनि शारीरिक र मानसिक रुपमा सकिँदैन । नेपालका नेताहरू त जति बुढो हुँदै गए उति कुर्सी ओगट्ने र अरुलाई सत्ता र नेतृत्वमा पर्नै नदिने प्रवृत्तिका छन् ।
दशकौँ कुर्सीमा बस्ने र अरुलाई अवसर नै नदिने कारणले गर्दा नै आज नेपालका हरेक अङ्गहरूमा भ्रष्टाचार, अनियमितता र नातावादले जरा गाडेर बसेको छ । चाकरी र चाप्लुसीबाट खान पल्केकाहरू अझै पनि तिनै पुराना पुस्ताको जयजयकार गरिरहन चाहन्छ्न् ।
यहाँ आँखा बन्द नै गरेर जो कोही युवालाई जिताउनु पर्छ भनेको होइन । पुरानो पुस्ताप्रति अपमान गर्न खोजेको पनि होइन । देश र जनताको समृद्धिको लागि अबको विकल्प भनेको नयाँ पुस्ता हुनसक्छ भन्न खोजेको हो । नेपाली राजनीतिको पहिलो पुस्ता प्रयोगबाट नै पूरै असक्षम र असफल प्रमाणित भएको छ ।
अब यिनीहरूलाई कहिँ कतै अवसर दिनु भनेको आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हो । दोस्रो र तेस्रो पुस्ता जाँचिन पाएको छैन । उसले अवसर खोजिरहेको देखिन्छ । सामान्य तरिकाले हेर्दा दोस्रो र तेस्रो पुस्तालाई आक्षेपै लगाउने अवस्था छैन । तिनीहरूमा देशको विकास र समृद्धिको पक्षमा केही सपना, योजना, आत्मविश्वास र हुटहुटी तीव्र देखिन्छ । त्यसकारण अब आउने निर्वाचनमा युवा पुस्तालाई भोट दिनुपर्छ ।
दलका सबै मान्छे खराबै छन् भन्न खोजिएको हैन । केही असल पनि छन् तिनलाई चुनावमा जिताएर काम गर्ने अवसर दिनुपर्छ भने कतिपय दल बाहिर पनि राम्रा मान्छे छन् । तिनलाई विजयी बनाइ अवसर दिनुपर्छ । लोकतन्त्रमा एक भोटको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको हुनाले कसैलाई पनि आँखा चिम्लेर वा पैसामा बिकेर भोट हाल्नु हुँदैन ।
अब मान्छे चिनेर विचार पुर्याएर असल र इमान्दार व्यक्तिलाई भोट दिनुपर्छ । अहिलेको एकथरी युवा पिँढी नेपालको राजनीतिक विकृतिलाई सदाको लागि अन्त्य गर्न पुरानो विचार र पुस्ताको विरुद्धमा हस्तक्षेपकारी तरिकाले उत्रिएका छन् । यसरी नयाँ विचार र सपना बोकी आएका यस्ता युवालाई अवसर दिई देशमा लामो समयदेखि रहेको राजनीतिक अस्थिरता र दुर्गन्धलाई यही निर्वाचनमार्फत सफा गर्नुपर्ने देखिन्छ । (लेखक अमेरिकाको भर्जिनियामा कर्म गर्छन्)