arrow

शंकर पोखरेल र विष्णु रिमाल समानुपातिकको नाम छनोटमा हाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
shankar-pokharel-bishnu-rimal-uml.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सामानुपातिक तर्फको नाम टुंग्याउने तयारी गरेको छ । एमालेको सचिवालयको बैठकबाट नामहरु टुंग्याउन लागेको भए पनि समानुपातिकको नाम छनोटमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल हाबी भएका छन् । 

 ‘जिल्ला जिल्लाबाट आएका नामहरुलाई ‘सर्ट लिष्ट’ गरी महासचिव पोखरेल र उपमहासचिव रिमालले टुंग्याउन लागेका हुन्’, स्रोतले भन्यो । समानुपातिक तर्फबाट जिल्लाबाट आएका नामहरुलाई हेरेर अध्यक्ष केपी शर्मा ओली सहितले त्यसलाई टुंग्याउने र त्यसलाई सचिवालय बैठकले अन्तिम रुप दिई निर्वाचनमा आयोगमा बुझाउने एमाले नेताहरुको दाबीमा शंकर पोखरेल हावी भएपछि कतिपय नेताहरुले भनेका समानुपातिकको नाम काटिन अवस्था आएको स्रोतको भनाई छ ।

 ‘समानुपातिकको सूची करिब करिब अन्तिम चरणमा पुगेको भए पनि केही काम बाँकी भएकाले एक दुई दिनमै टुंगो लगाएर पठाउने तयारी छ’, एमाले स्रोतले भन्यो ।

अहिले एमालेभित्र रहेका केही नेताहरु समानुपातिकको सूची तयार गर्न व्यस्त रहेका छन् । उनीहरुले तयार गरेको सूची नै अन्तिम हुने बताइएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने अघिल्लो दिन संसदको कार्यकाल सकिने जनाएपछि आज राति १२ बजेपछि संसदको कार्यकाल सकिने छ । त्यसकारण नेताहरु अन्तिम सूची तयार गर्दैछन् । 

असोज २ र ३ गते समानुपातिक तर्फका उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाउनु पर्नेछ । एमालले ३ गते निर्वाचन आयोगमा अन्तिम नामावली बुझाउने बताइएको छ । त्यसअघि जिल्ला, प्रदेश र जनसंगठनबाट आएका नामहरुलाई अन्तिम रुप दिने भएको छ ।

समानुपातिक नामावली कार्यालय सचिवमार्फत प्राप्त भएको थियो । त्यसलाई नै टुंग्याउने भएको हो । सचिवालयको बैठकबाट प्रतिनिधि सभाका एक सय १० र प्रदेश सभाका दुई सय २० सहित तीन सय ३० जना उम्मेदवारको बन्दसूची बनाउने गरी तयारी थालेको हो ।

एमालेमा करिब ३ हजार भन्दा बढी नेताहरु समानुपातिकमा सिफारिस भएका छन् । उनीहरुले आफ्नो क्षेत्रबाट नेताहरुसँग लविङ गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु सुवास नेम्वाङ, विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा अध्यक्ष ओलीका विश्वास पात्रहरुसँग नेताहरुले लविङ गरिरहेका छन् । 

तर अन्य नेताहरुसँग गरिएको लबिङले खास अर्थ नराखेको नेताहरुले बताउन थालेका छन् । साथै प्रत्यक्षतर्फ निर्वाचन भाग लिने नेताहरुले पनि आफ्नो क्षेत्रबाट सिफारिस भएका नेताहरुलाई समानुपातिकमा नाम पठाउन लबिङ गरिरहेका भए पनि शंकर पोखरेलसँग भेटघाट गर्न नपाएकोमा आक्रोशित भएका छन् । 

केही दिनदेखि एमाले नेताहरुको घरमा समानुपातिको टिकट माग्ने नेताहरुको भीडभाड बढेपछि नेताहरुले पार्टी कार्यालयमै भेटघाट गर्ने भन्दै पन्छाउन थालेका छन् । 

समानुपातिकको नाम टुंगिएपछि काठमाडौं रहेका नेताहरुको संख्या आधा भन्दा बढी घट्ने अनुमान गरिएको छ । केन्द्रीय कमिटीले एउटा निर्वाचन क्षेत्रबाट सके सर्वसम्मत नत्र एक महिला सहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरे पनि २० जनासम्मको नाम केन्द्रमा पठाएको थियो ।

एमालले समानुपातिक मतलाई सामूहिक कमाइ भनेको छ । यसमा सबै क्षेत्र जातजाती भाषा भाषीलाई समेट्ने जनाएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पनि यो साझा कमाई भएकाले सबैको हक लाग्ने गरी पार्टीले उम्मेदवार छनोट गर्ने बताएका छन् । 

एमालेले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशनमा पनि यो विषयलाई समेटेको छ । एमालेले समानुपातिकमा नयाँलाई अवसर दिने गरी मापदण्ड बनाएकाले त्यही अनुसार छनोट हुने प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ ।

 ‘समानुपातिक मत’ भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने मत हो । यसमा सिंगो पार्टी पंक्तिको योगदान रहेको हुन्छ । समानुपातिक मत ‘सामूहिक कमाइ’ हो । तसर्थ, समानुपातिकतर्फको बन्दसूची तयार गर्दा ‘सबै मिलेर कमाउने र दामासाहीमा वितरण गर्ने’ भन्ने पक्षलाई ध्यान दिइनुपर्छ । दामासाही वितरण’ भनेको प्राप्त अवसरको न्यायोचित वितरण हो । त्यसैले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी उक्त अवसर प्रयोग गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई आमरूपमा दोहो¥याउनुहुन्न । यस्ता क्षेत्रमा ‘पालैपालो’ वितरण प्रणाली लागू गरिनुपर्छ ’, एमालेले समानुपातिक उम्मेदवार छनोटबारे जारी गरेको अन्तरपार्टी निर्देशनमा भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ