arrow

आयोगको काममाथि प्रश्न

काठमाडौंमा एमाले कार्यकर्ता दोहोरो मतदाता नामावलीमा, सयौं कीर्तेकाण्डमा

प्रहरीले कीर्ते गर्नेलाई सोधपुछका लागि बोलायो, करिब सात सयको कीर्ते कागज बनाएकाहरुको सूचीसमेत तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
election-namelist-uml-kirte.jpg

काठमाडौं। काठमाडौं संसदीय निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडामा नेकपा एमालेका कार्यकर्ताहरुले कीर्ते कागज बनाइ दोहारो मतदाता नामावली बनाएकाे खुलेको छ ।

खासगरी बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा एमालेका प्रतिनिधिहरुको मिलेमतोमा दुई दुई ठाउँबाट मतदाता नामावली दर्ता भएकाे पाइएको हो ।

कुनै एक जिल्ला वा स्थानीय तहमा स्थायी बसोबास रहेको र सोही ठाउँको मतदाता नामावली रहेका एमाले नेता कार्यकर्ताहरुले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ बाट पनि नक्कली बसाईसराईको कागज बनाएर मतदाता नामावली दर्ता गरेको पाइएको हो ।

यसरी नक्कली बसाइसराइको कागज बनाएर मतदाता नामावली दर्ता गरेका एमालेका कार्यकर्ताको संख्या सयौं रहेको खुलेको छ । यसरी बनाइएका कीर्ते कागजमा कुनैमा सचिवको हस्ताक्षर सही रहेको र कुनैमा नक्कली रहेको पाइएको छ । कीर्ते कागजमा मितिसमेत गलत रहेको पाइएको छ । 

शुरुमा करिब १४/१५ जनाले यसरी नक्कली बसाइसराइको कागज बनाएको पाइएपछि आफूहरुले काठमाडौं जिल्ला निर्वाचन आयुक्त, प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय र नगरपालिकामा निवेदन दिएको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का सभापति श्याम संगतले बताएका छन् ।

बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २, १०, १२ लगायतमा गरेर करिब ७ सय भन्दा बढी यस्ता नक्कली बसाइसराइको कागज बनाएर मतदाता नामावली बनाएको हुनसक्ने अनुमान गरिएको छ ।

यसरी दुई ठाउँबाट मतदाता नामावली बनाउनेमा एक एमाले कार्यकर्ता ध्रुवप्रसाद घिमिरे पनि पाइएका छन् । उनले काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ बाट विगतमा मत दिँदै आएका थिए भने गत स्थानीय तह निर्वाचनमा उनले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ बाट पनि मतदाता नामावली बनाएर त्यहाँबाट भोट हालेका छन् ।

हाम्रा कुरासँग बोल्दै उनले आफूले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा यस पटक बसाइसराइसहितको मतदाता नामावली बनाएको तर महानगरको वडा नम्बर ६ बाट नहटाइनुमा आफ्नो कुनै गल्ती नभएको बताएका छन् ।

उनले भनेका छन्, 'महानगरको ६ नम्बरमा थियो । यता सारेको उसले काटिदिएनछ सिस्टममा, मैले त्यहाँ बीचमा गएर निवेदन पनि दिएको छु, अब प्रमुख निर्वाचन आयुक्तलाई भेटेरै यो विषयमा सचिवमार्फत तोक लगाएर हट्छ भनेको थियो अहिले हट्यो हटेन मैले हेरेको छैन ।'

ध्रुवप्रसाद घिमिरेले दिएकाे भनेकाे निवेदन

तथापि उनका दुई ठाउँका मतदाता नामावलीमा कीर्ते गरेको अनुमान गर्न सकिने किसिमका भिन्नता रहेका छन् । उनले जे भने पनि कागजात भने फरक छ । एउटामा उनको नागरिकता नम्बर आधा मात्रै राखिएको छ भने अर्काे ठाउँको मतदाता नामावलीमा उनको नागरिकता नम्बर पूरा राखिएको छ ।

यस्तै एक ठाउँको मतदाता नामावलीमा उनको जन्म मिति २०३९ साल ३ महिना १७ गते राखिएको छ भने अर्काे ठाउँको मतदाता नामावलीमा २०३९ साल ३ महिना २७ गते राखिएको छ ।

यस विषयमा उनले नागरिकता नम्बर के कसरी फरक परेछ भनेर अनविज्ञता प्रकट गरेका छन् । उनले अनविज्ञता जनाए पनि उनकाे कागजात विवरणमा कीर्ते गरेकाे स्पस्टै हुन्छ । 

उनी क्षेत्र ४ का एमालेका उम्मेदवारमा सिफारिस भएका डा‍ राजन भट्टराईका प्रेस सल्लाहकारसमेत हुन् । 

उनले आफूले दुई ठाउँबाट भोट दिनका लागि गरेको नभएर आफ्नो जस्तै किसिमले करिब २ लाख जनाको यसरी बसाइसराइ परिवर्तन गर्दा तलमाथि भएको तर्क गरेका छन् ।

कांग्रेसका पदाधिकारीहरुले  दिएको निवेदन अनुसार निर्वाचन आयोग र सीडीओ कार्यालयले टेकु प्रहरी परिसरलाई यसको सूचना दिइसकेको र प्रहरीले कारबाही अघि बढाउन थालेको सभापति संगतले बताएका छन् ।

'निर्वाचन आयोग र सीडीओ कार्यालयले टेकु परिसरलाई यसको सबै सूचना जानकारी दिइसकेको छ,' सभापति संगतले भनेका छन् । कीर्ते गर्नेलाई ५० हजार जरिबाना र पाँच वर्ष कैद सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।

     

कीर्ते कागजपत्रहरू

उता बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले भने आफूलाई यसबारे जानकारी नभएको बताएका छन् । हाम्राकुरासँग बोल्दै उनले भने, 'मलाई जानकारी भएन, म यसबारे भोलि नगरपालिकामा बुझ्छु है ।'

तर कांग्रेसका नेताहरुले भने अधिकारीकै नेतृत्वमा गएकाे एमालेकाे टाेलीले निर्वाचन कार्यालयमा गएर टेबुल ठाेक्ने र कुर्सी बजार्ने काम गरेकाे आराेप लगाएका छन् ।  

प्रहरीले कीर्ते गर्नेलाई प्रारम्भिक चरणमा सोधपुछका लागि बोलाइसकेको छ । यसका साथै करिब ७ सय जना कीर्ते कागज बनाएकाहरुको सूचीसमेत प्रहरीले तयार पारिसकेको बताइएको छ । 

कीर्ते कागज बनाएकाहरुलाई सोधपुछ गरेको विषयमा प्रहरी उपरीक्षक एवं प्रवक्ता दिनेशराज मैनालीले अहिले जानकारी नभएको र आफूले यस विषयमा बुझ्ने बताएका छन् ।

काठमाडौं जिल्ला निर्वाचन आयुक्त ठाकुर भट्टराईले यस विषयमा प्रश्न सोध्दा तुरुन्तै जवाफ दिन चाहेनन् । उनलाई एमालेका कार्यकर्ताले धम्क्याएर नाम सदर गर्न लगाएका थिए । उनले त्यतिबेला निरीहता प्रकट गरेका थिए । 

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

तर एक दुई वटा वडामै यसरी सयौंको संख्यामा कीर्ते मतदाता भेटिँदा देशभरको यो सूचीमा हजारौं मतदाताहरु दोहाेराे नामावली भएका हुन सक्छन् । आयाेगले सफ्टवेयरकाे व्यवस्था गरेको जनाएको छ । तर यसरी सफ्टवेयरले नै पत्ता लगाउने अवसर नपाउने गरी भएकाे कीर्ते र त्यसमा आयाेगकाे पनि मिलेमताे त छैन भन्ने प्रश्न उठाइएको छ ।

जब काठमाडाैंमै याे अवस्था छ भने माेफसलकाे अवस्था के हाेला भनी थप गम्भीर प्रश्न समेत उठेकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ