arrow

रोल्पामा गठबन्धनकै नेताद्वय अमर–कुलमा कसले पाउला टिकट ?

logo
नारायण वली,
प्रकाशित २०७९ असोज १५ शनिबार
pic4.jpg

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी २०७४ सालको निर्वाचनमा प्रदेश सभा (क) बाट विजयी भएर लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका केसी हाल प्रदेशको मुख्यमन्त्री छन् । केसी बहाल भइरहेका बेला आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने पहिले लडेको ठाउँलाई छोडेर प्रदेश सभा (ख) रोजेपछि गठबन्धनकै नेताहरु नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमा कसले टिकट पाउला भन्ने विषय चोटिलो बन्न पुगेको छ । 

प्रदेशको मुख्यमन्त्री बनेर सत्ता चलाइरहेका नेता केसी र अर्का नेता पुनको चुनावी क्षेत्र एउटै भएकाले आगामी निर्वाचनमा कसले टिकट पाउने भन्नेमा होड चलेको छ । यसअघि २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाका लागि वामगठबन्धनका उम्मेदवार वर्षमान पुनसंग प्रतिस्पर्धा गरेका कांंग्रेस नेता पुन यसपटक भने प्रदेश सभा (ख) बाट निर्वाचन लड्ने र विजयी भएमा मुख्यमन्त्रीको दावेदार मानिन्छन् । नेता पुन गंगादेव गाउँपालिका वडा–७ का स्थायी बासिन्दा हुन् भने मुख्यमन्त्री केसी रोल्पा नगरपालिकाका वडा–६ का स्थायी बासिन्दा हुन् ।  

जसले गर्दा आगामी मंसिर ४ को निर्वाचनपछि गठन हुने लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा रोल्पाबाट सत्तारुढ गठबन्धनबाटै २ जना नेताहरु आकांक्षी देखिएका छन् । उनीहरु हुन्, कुलप्रसाद केसी र नेपाली कांंग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन । भावी मुख्यमन्त्रीको लागि आकांक्षी देखिएका नेताहरु गठबन्धन भित्रका त्यो पनि निर्वाचन क्षेत्र एउटै भएकाले टिकट विषय चोटिलो बन्न पुगेको हो । 

नेपाली कांंग्रेस रोल्पाले पुनको नाम प्रतिनिधि सभा र प्रदेश सभा (ख) गरी दुवैतिर सिफारिस गरेको छ । प्रतिनिधि सभाका लागि पुनसहित टेकबहादुर बस्नेत र शंकरबहादुर छन्त्यालको नाम पनि सिफारिसमा पर्दा प्रदेश सभा (ख) मा भने पुनको नाम एकल रुपमा सिफारिस भएको छ । नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभाका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसहित पूर्वसभामुख कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, जयपुरी घर्ती र झक्कुप्रसाद सुवेदीको नाम सिफारिसमा छ ।

सो पार्टीले प्रदेश सभा सदस्यका लागिसमेत लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको नाम सिफारिस गरेको छ । माओवादीले मुख्यमन्त्री केसीसहित लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राजबहादुर बुढामगर, परिवर्तन गाउँपालिकाका निवर्तमान अध्यक्ष निमकान्त डाँगी र गंगादेव गाउँपालिकाका निवर्तमान अध्यक्ष वीरबहादुर खत्रीको नाम पनि सिफारिस गरेको पाइएको छ । 

यता, कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भने रोल्पा–रुकुमबाट यसपटक मिले भन्ने सन्देश दिने गरी अगाडि बढिरहेको विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोल्दै आएका छन् । आफू प्रतिनिधि सभा सदस्यको उम्मेदवार भए पनि रोल्पामा कांग्रेसको भन्दा माओवादी केन्द्रको बहुमत केही संख्या धेरै भएकाले सहमतिका आधारमा प्रदेश सभा सदस्यको उम्मेदवार टुङ्गो लगाइने जनाएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीकी श्रीमती तारा घर्तीमगरलाई माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभाको समानुपातिकतर्फ एकल नाम सिफारिस गरेकाले मुख्यमन्त्री केसीलाई यसपटक रोल्पाबाट प्रतिनिधि सभा र प्रदेश सभाको कुनैपनि क्षेत्रबाट टिकट नदिने सम्भावना रहेको जनाइएको छ ।

मुख्यमन्त्रीको दाबेदार दुवै जनालाई प्रदेश सभा सदस्यको टिकट पाउन भने सहज देखिँदैन । माओवादी केन्द्र र नेपाली काँंग्रेसका आ–आफ्नै अडानले त्यहाँको चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ । तर गठबन्धनले गरेको निर्णय आफूहरुले मान्नुपर्ने भए पनि कार्यकर्ता तहहरुमा कांंग्रेसलाई क्षेत्र छोड्नु हुँदैन भन्ने बलियो मत भएको बताइएको छ । 

२०७४ सालको निर्वाचनमा जसले जुन क्षेत्र जितेको हो सो क्षेत्र उसैले पाउने गरी छलफल भएकाले पनि रोल्पाको प्रतिनिधि सभा र प्रदेश सभा माओवादी केन्द्रले नै पाउने सम्भावना बढी देखिएको उल्लेख छ ।

यता कांग्रेस रोल्पाले देशभर गठबन्धन हुँदा रोल्पामा पनि गठबन्धन हुने बताएका छन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा दाबी गरे कांग्रेसले प्रदेश सभाका दुवै क्षेत्रमा दाबी गर्ने जनाएको छ ।

२०७४ सालको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट निर्वाचित पार्टीका पोलिटव्यूरो सदस्य दीपेन्द्र पुनले सो क्षेत्र नछाड्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ