arrow

पुलिसको चाड र चुनाव लक्षित सुरक्षा योजना सँगसँगै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति तोकेपछि नेपाल प्रहरीले चाडपर्व र चुनाव लक्षित सुरक्षा योजना सँगसँगै लैजाने भएको छ । चाडपर्व सकिए लगत्तै निर्वाचनको माहोल शुरु हुने र दशैँमा घर जानेहरुले पनि चुनावको विषयमा बहस, छलफल गर्ने भएकाले दुवै विषयलाई ध्यानमा राखेर सुरक्षा योजना लागु गर्ने भएको हो । 

दशैँ सकिएकै भोलिपल्ट अर्थात् सरकारी बिदा सकिएको असोज २३ मै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।  ‘यसपल्ट चुनावी माहोल छ, अहिले शहर र गाउँमा फरक फरक अवधारणा छ, दशैँमा शहर खाली जस्तै हुन्छ, गाउँ भरिन सक्छ त्यसकारण सुरक्षा योजना पनि फरक फरक हुनसक्छ । त्यही अनुसार सुरक्षाकर्मीहरु परिचालन हुनेछन्’, प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले भने । 

यसका लागि प्रहरीले देशभर अपराधजन्य गतिविधि रोक्न छुट्टै सकुर्लर गरेको छ । देशभरका प्रहरी युनिटमा आपराधिक गतिविधि नियन्त्रण तथा निगरानीका लागि १९ बुँदे निर्देशनसहित परिपत्र गरेको प्रवक्ता राईले बताए । 

‘दशैँ, तिहार र छठपर्वको समयमा हुने उच्छृंखल क्रियाकलाप, राजमार्ग र सहायक मार्गहरुमा हुन सक्ने अवाञ्छित कार्यहरु लगायत विभिन्न आपराधिक गतिविधि नियन्त्रण, गर्ने चुनावी बहस र छलफलका क्रममा हुने झडपहरु रोक्न र त्यसबाट उत्पन्न परिस्थितिबारे सजग रहन निर्देशन दिइएको छ’, डीआईजी राईले भने । 

उनका अनुसार सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठानहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै प्रहरी युनिटहरुलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । त्यस्तै अत्यावश्यक उपभोग्य वस्तुहरुको सहज आपूर्ति व्यवस्थाका लागि पनि निगरानी बढाउन पनि निर्देशन दिइएको छ ।

 ‘उद्योगपति, व्यापारीहरु, राजमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा जबरजस्ती चन्दा संकलन चिट्ठा उपहार कार्यक्रम जस्ता गतिविधि हुन–गर्न नदिई त्रुटिरहित ढंगबाट सुरक्षा व्यवस्था मिलाउने तथा त्यस्ता किसिमका गतिविधिहरु गर्ने उपर कानून बमोजिम कारबाही गर्ने’, सो निर्देशनमा भनिएको छ– ‘सर्वसाधारणहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट रकम झिक्ने, सरसामान किनमेल गर्ने स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट, ठगी र डकैती जस्ता घटनाहरु हुन सक्ने स्थानहरुमा निगरानी बढाई सुरक्षा व्यवस्था मिलाउने ।’

त्यसैगरी बैंक तथा वित्तिय संस्थाहरुका सुरक्षागार्डहरुलाई सुरक्षाविधि र अपनाउनु पर्ने सावधानिका बारेमा अनुशिक्षण दिने, काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना बनाई मुख्य मुख्य स्थान, बैंक, व्यापारिक केन्द्र, बसपार्क, मल तथा सुपरमार्केट, मनोरन्जनस्थल लगायत चक्रपथ बाहिर हुनसक्ने चोरी, लुटपाट, ठगी र अन्य आपराधिक गतिविधिलाई प्रभावकारी नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 

यसैगरी बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि जस्ता कार्यहरु हुन नदिने, लामो तथा छोटो दूरीका सवारीले यात्रुसँग बढी भाडा लिनसक्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता गतिविधिमा रोक लगाउन सबै युनिटलाई निर्देशन दिएको पनि डीआईजी राईले जानकारी दिए । मदिरा बिक्री वितरण, पटका र आतीसबाजी, जुवातासलाई पनि निस्तेज गर्न, सीमा क्षेत्रमा हुने तस्करी, लुटपाट, ठगी र डकैती जस्ता घटनामा सतर्कता बढाउन पनि निर्देशन दिइएको छ ।

 तीन वटै चाडबाडको समयममा सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछाड्न र सरकारी कार्यालयहरुमा भरपर्दो पालो पहरा मिलाउन निर्देशन छ । दशैँमा अधिकांश मान्छे घर छाडेर टिका थाप्न जाने र चोरी हुन सक्ने भएकाले सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी तथा प्रहरी गस्ती बढाउन भनिएको छ । 

यस्तै, हिरासतमा रहेका कैदी, बन्दी, थुनुवाहरुले प्रहरी हिरासत कक्षमा आत्महत्या गर्ने सम्भावनालाई मध्यनजर गरी कानुनी रुपमा म्याद थप भएका वा हुने बाहेकलाई हिरासतमा नराख्न पनि हेडक्वार्टरको निर्देशन छ । त्यसैगरी एक महिनाअघि बाटै प्रहरीले सबै जिल्लामा सुरक्षा योजना बनाएर कार्यान्वयन गर्ने नेपाल प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ