arrow

दाङ १ को चुनावी संयोगः तीन चौधरी तीनतिर

logo
नारायण वली,
प्रकाशित २०७९ असोज ३१ सोमबार
3 tharu neta 7.jpg
गंगा चौधरी, मेटमणि चौधरी, शान्ता चौधरी

दाङ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा दाङ क्षेत्र नं– १ मा हिजोका एउटै पार्टीका मित्रहरु अहिले छुट्टाछुट्टै पार्टीबाट तीन जना चौधरी नेताहरु तीन तिरबाट भिड्ने भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता एवं वहालवाला शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र यसअघि एमालेबाट समानुपातिक सांसद बनेकी पूर्व एमाले नेतृ गंगा चौधरी स्वतन्त्र उम्मेदवार चुनाव लड्ने भएकी छिन् ।

एमालेबाट टिकट नपाएपछि पूर्व सांसद गंगाले स्वतन्त्रको बाटो तय गर्दै प्रतिनिधि सभा चुनावमा भिड्ने भएकी हुन् । उनी स्वतन्त्र रुपमा उठेकाले एमालेले जिम्मेवारीबाट हटाइसकेको छ ।

दाङ क्षेत्र नं–१ सत्तागठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीले पाएको छ । मन्त्री चौधरी ०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट एमालेमा रहँदा विजयी भएर पहिलोपटक सांसद बनेका थिए ।  उक्त क्षेत्रमा चुनावी मैदानमा उत्रिएका तीनैजना चौधरी नेताहरु हिजोको दिनमा एमाले पार्टीमा रहँदा पार्टी आन्दोलनमा मात्रै सीमित नभई थारु समुदायका लागि भएका विभिन्न चरणका संघर्षरत कार्यक्रममा सहकार्य गरेर योगदान दिएका नेताहरु मानिन्छन् । उनीहरु पूर्वसहकर्मी समेत मानिन्छन् । 

थारु समुदायका लागि जिल्ला तहबाट केन्द्रसम्म आवाज उठाएका नेताहरु फरक पार्टीबाट चुनाव दाउपेचमा तातिएकाले पनि सो क्षेत्रको चुनावी प्रतिष्पर्धा थारु समुदाय भित्रको मताधिकारलाई हेर्दा निकै रोचक बन्ने आँकलन गरिएको छ । शीर्ष स्थानमा थारु समुदायका नेताहरु प्रतिष्पर्धामा उत्रिएकाले थारु समुदायहरुमा कसलाई आफ्नो मत दिने भन्ने अन्यौलता छाएको लमहीका नरेश चौधरीले बताए ।

उनले भने, 'चुनावी मैदानमा देखिएका थारु नेताहरुको पार्टी अलग भए पनि म तीनैजना नेताहरुसँग आफन्तको रुपमा नाता जोडिएको छ । त्यसैले यो दृश्यले हामी थारु समुदायबीच कतै मताधिकारले गर्दा आफन्तहरुमा मनमुटाव बढ्ने सक्ने आंशका गरिरएका छौं ।'

एमालेको तर्फबाट पहिलो संविधान सभामा समानुपातिक सभासद् बनेकी शान्ता चौधरी दोस्रो निर्वाचनमा भने पराजित हुन पुगेकी थिइन् । कांग्रेसकी उम्मेदवार शुसिला डिसी चौधरीलाई मेटमणिले पहिलो पटकको चुनावमा हराएर सांसद बनेका थिए । 

दाङ १ मा घोराही उपमहानगरपालिका अन्तर्गत ४ वटा वडासहित देउखुरी उपत्यकाका गढवा गाउँपालिका, राजपुर गाउँपालिका र राप्ती गाउँपालिका पर्दछन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत तथ्यांङ्कलाई हेर्दा नेपाली कांग्रेसले २९,७५७, नेकपा एमालेले २७,०२५, माओवादी केन्द्रले १९,२७६, राप्रपाले २,३५०,नेकपा एकीकृत समाजवादीले २,३४१ र जसपाले ८०७ मत पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ