- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उछिट्टिदै चितवनबाट गोरखातिर उकालो लागेका छन् । कुनै बेलाको उक्ति थियो–न्याय नपाए गोरखा जानू । अहिले प्रचण्ड अन्त कतैबाट न्याय पाउन नसक्ने देखेपछि गोरखा पुगेका छन् । प्रचण्डलाई गोरखाले न्याय दिनुपर्ने भने कुनै आधार छैन । गोरखाले प्रचण्डलाई न्याय दिन नसक्ने कारणका बारेमा माओवादी जनयुद्धकालका एक शक्तिशाली कमान्डर, प्रचण्डका पूर्व सहकर्मी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै उनका व्यक्तित्व र नैतिकताका बारेमा बारम्बार लगाएका आरोप र प्रमाणहरू नै काफी छन् ।
शान्ति सम्झौता भएको १६ वर्ष बितिसक्दा गोरखालीका घाउ नदेख्ने र नसुन्ने प्रचण्डलाई ती शहीद र बेपत्ता भएका परिवारका आँसुले तानेकै हो भनेर विश्वास गर्ने ठाँउ नै छैन । बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले प्रचण्डलाई बोकेर ल्याए भन्दैमा गोरखालीले बोक्नै पर्छ भन्ने छैन । प्रचण्ड कसैले नपत्याएर गोरखालीले पत्याउँछन् कि भनेर गोरखातिर हान्नेका हुन् भन्नको लागि हिच्किचाउनै पर्दैन । प्रचण्ड नेपाली राजनीतिलाई अत्यन्तै तरल अवस्थामा राखेर कहिले कुन पार्टीको टाउको र कहिले कुन पार्टीको पुच्छर बनिरहेका छन् ।
प्रचण्ड देशमा राजनीतिक अस्थिरता सिर्जना गरी सत्ताको साँचो आफ्नो हातमा राख्न खप्पिस छन् । आफूलाई नेपालको गणतन्त्रको नायक भन्न रुचाउने प्रचण्डले सत्ता प्राप्तिको लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन् । उनका पार्टीमा सिद्धान्त, विचार, वाद र नैतिकता भन्ने केही छैन । कुनै बेला आफ्नो टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवा र पहिलो दुस्मन पार्टी भन्ने नेपाली कांग्रेसलाई काखी च्यापेर हिडेका छन् । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्ड एक अर्काका पर्यायवाची जस्ता बनेका छन् ।
आजको नेपाली राजनीतिक परिदृश्य हेर्दा नेपाली कांग्रेसको साँचो प्रचण्डको हातमा पुगेको छ । प्रचण्ड अत्यन्तै अवसरवादी हुन् भन्ने कुरा उनका विभिन्न क्रियाकलापबाट थाहा पाउन सकिन्छ । आफ्नो पार्टी त परै जाओस् अर्को पार्टीमा पनि हस्तक्षेप गरी आफूले भनेजस्तो भएन भने क्षणभरमा तालमेल वा गठबन्धनलाई लात हान्दिन्छन् । प्रचण्डमा जनयुद्धको धङधङी यथावत नै छ । पछिल्लो केही वर्षदेखि सत्ताको साँचो आफ्नो हातमा राख्न सफल प्रचण्ड जब चुनाव आउँछ अनि आफ्नो क्षेत्रलाई लात मारेर हुत्तिदै र उछिट्टिदै अर्को क्षेत्र रोज्न पुग्छन् । रोल्पा, सिराहा, काठमाडौं, चितवन यिनका पुराना क्षेत्र हुन् । त्यहाँका जनताले पत्याउँदैनन् कि भनेर अहिले यिनी हुत्तिएर गोरखा पुगेका छन् । जनतालाई धोका दिँदै हिँड्ने यस्ता धोकेबाजलाई माओवादी जनयुद्धका बेला बेकारण थचारिएका र पछारिएका ती गोरखाली जनताले आफ्नो अमूल्य मत दिएर पुनः प्रचण्डलाई सत्तासीन गराउनुको कुनै औचित्य नै छैन ।
गोरखा एउटा ऐतिहासिक जिल्ला र किल्ला पनि हो । नेपालका बाईसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै विशाल नेपाल बनाउने काम गोरखाका राजा पृथ्वीनारायण शाहले गरेका थिए । नेपाल एकीकरणका नायक तिनै पृथ्वीनारायण शाहको शालिक फोर्ने पार्टीका कमान्डर प्रचण्ड हुन् । आज उनले आफूले होइन भनेर चोखिँदै छन् । आज तिनै प्रचण्ड आफ्नो त्यो नाङ्गो रुप लिएर त्यही म त जनयुद्धको कमान्डर हुँ भन्दै तिनै नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको प्रशंसा गर्दै आफ्ना कार्यकर्ताले ढालेको त्यही शालिकलाई पुज्दै ऐतिहासिक किल्ला गोरखामा पुगी भोट मागिरहेका छन् ।
जनयुद्धको उद्गम र पीडित जिल्ला गोरखा हो।आजसम्म पनि जनयुद्धबाट थचारिएका ती गोरखालीहरू उठ्न सकेका छैनन् । युद्धका घाउहरू अझै पाकिरहेकै छन् । कतिपय कांग्रेसप्रति आस्था राखेकै कारण अङ्गभङ्ग भएका र आफन्त गुमाएकाका आँसुहरू अझै सुकेका छैनन् । शान्ति सम्झौता भएको दुई दशक बितिसक्न लाग्दा पनि पटक पटक कांग्रेस र माओवादी सरकारमा जाँदा ती माओवादी र राज्यपीडितले न्याय पाउन सकेका छैनन् । आज तिनै द्वन्द्व पीडितका अगाडि कांग्रेस र माओवादी एकाकार भएर भोट माग्न गएका छन् । यस्ता विचारविहीन, धोकेबाज र राजनीतिलाई व्यवसाय बनाएर सत्ताको रजाइँ गर्न पल्केका तथाकथित पार्टीका प्रतिनिधिलाई भोट दिने आधार नै छैन ।
चुनाव नजिक आउँदा प्रचण्डले गोरखाको सिरानचोकलाई चीनको चिनकाङसँग र आफूलाई माओसँग तुलना गर्दै हिँडेको देख्दा हाँसो नै लाग्छ । प्रचण्ड कसरी माओ हुन सक्छन् ? आज प्रचण्डमा माओका ती विचारधारा कहाँ छन् ? ती त सत्ताको स्वादमा निलिदिए । प्रचण्डले पार्टीको नाम माओवादी राखेर मात्र उनी माओ बन्न सक्दैनन् । शान्ति सम्झौता भएको यति धेरै वर्ष बित्दा र पटकपटक प्रधानमन्त्री हुँदा ती गोरखाली जनताका चहराइरहेका घाउ नदेख्ने प्रचण्डले आज निर्वाचनमा देशका अरु ठाउँ सुरक्षित नदेखेपछि बल्ल सिरानचोकलाई चिनकाङका रुपमा देखेका छन् ।
प्रचण्डले आफू दुई दुई पटक प्रधानमन्त्री हुँदा र त्यसपछि पनि कहिँ नै कतै सत्ताको साँचो आफ्नो हातमा रहँदासमेत हिजो जनयुद्धताका बोलिएका र भनिएका कुनै पनि वाचा पूरा गर्न सकेका छैनन् । जनयुद्धमा बाँडिएका सपना कहाँ गए ? माओवादी आन्दोलनमा सत्र हजार नेपाली मारिए भने हजारौं अङ्गभङ्ग र बेपत्ता भए । देशको आर्थिक अवस्था चौपट भयो । के त्यही एक थान संविधान बनाउनको लागि मात्र मान्छे मरेका र मारिएका हुन् र ?
आज नेपाली जनताको सामाजिक र आर्थिक अवस्था दयनीय छ । गोरखा सशस्त्र जनयुद्धको शुरुआती गरेको प्रयोगथलो हो । प्रचण्ड लाज पचाएर आज आफ्नो स्वार्थको लागि पुनः गोरखाली जनताको शरणमा पुगेका छन् र पुनः केही भ्रम र सपनाहरू बाँड्दै छन् । उनले बडो भावुक मुद्रामा गोरखाली जनतालाई बिर्सिन नसकेको जस्तै गरी नाटक प्रदर्शन गरेका छन् । उनले फेरि बुढी गण्डकीको सपना बाँड्दै छन्,जुन योजना प्रचण्डलगायत केपी शर्मा ओली र देउवाले नौ अर्बको कमिशन खाएको उनका पूर्व मित्रले बेलिबिस्तार लगाई आफूसँग प्रमाण भएको बताएकै थिए । तर आज बाबुराम भट्टराईले छोरीसित त्यो विवाद साटेर मिल्यो भन्दै छन् ।
छेपारोले जस्तै रङ्ग बदल्ने यस्ता भस्मासुरलाई पत्याउने आधार नै छैन । प्रचण्डले बेनीघाट–आरुघाट– लार्के सडक, बारपाक र माछाखोला जोड्ने सडक र पालुङटारमा एयरपोर्ट लगायतका विकास योजना पुरा गर्ने सपनाको भ्रम देखाउँदै छन् । कुनै बेला कांग्रेसको ’क’ मात्र उच्चारण गर्दा नेपाली कांग्रेसमा आस्था राखेकै आधारमा झुन्ड्याउने माओवादीहरू आज सत्ताको रसास्वादनको लागि कांग्रेसले भन्दै गरेको जय नेपालको अभिवादनमा गर्व गर्दैछन् । कांग्रेसहरू प्रचण्डलाई बैशाखी बनाउन पाउँदा मुठी कस्दै लालसलाममा मख्ख छन् ।
मंसिर ४ को निर्वाचनको लागि प्रचण्डलाई चितवनलगायत गोरखाबाट मात्र त्यहाँको पार्टी कमिटीले सिफारिस गरेको थियोे । प्रचण्डले चितवनमा आफू र आफ्नी छोरीलाई सुरक्षित बनाउन अनेक प्रयत्न गरे । छोरीलाई स्थानीय निर्वाचनमा भरतपुर महानगर पालिकामा जिताए पनि । उनले आफू चितवनको ३ नम्बर क्षेत्रबाट प्रतिस्पर्धा गर्ने हो भनेर धेरै औपचारिक कार्यक्रममा समेत भने ।
आफ्नो क्षेत्रमा आफ्नो निजी आवास पनि बनाए र धूमधामसित बाजागाजासहित घरभित्र पनि पसे । तर पनि उनलाई यो क्षेत्र सुरक्षित लागेन र हुत्तिएर गोरखा पुगे । उनी गोरखाका लागि पर्यटक उम्मेदवार हुन् । पर्यटक जनप्रतिनिधि बन्न सक्दैनन् । जनप्रतिनिधि भनेको त जनताको अभिभावक बन्न सक्नुपर्छ । जनताको सुख दुःखमा साथ दिनुपर्छ र ऊ त्यहीको स्थायी बासिन्दा पनि हुनुपर्छ । पर्यटकले सम्बन्धित क्षेत्रका जनताका भावना र समस्या बुझ्न सक्दैनन् । यस्ता पर्यटक बनी आएका प्रचण्डलाई गोरखाली भोट दिनुको कुनै औचित्य छैन ।
नेपालको कानूनअनुसार प्रतिनिधि बन्नका लागि नेपालको जुनसुकै जिल्लाको नागरिक भए पनि हुने बताइएको छ । व्यवहारिक रुपमा जनताको मर्म र संवेदना बुझ्न स्थानीय नागरिक नै हुनुपर्छ । प्रचण्ड माओवादीका लागि अध्यक्ष होलान् तर अहिले गोरखाली जनताको लागि पर्यटक उम्मेदवार नै हुन् जहाँ उनले आफैंलाई मतदान गर्न पाउँदैनन् ।
कुनै पनि उम्मेदवार निर्वाचनमा जाँदा कुनै पार्टीको भए पनि निर्वाचन पछि अन्ततः सम्पूर्ण जनताको प्रतिनिधि बन्न सक्नुपर्छ र मात्र जनताको माया र साथ पाइन्छ । जनताले यो हाम्रो जनप्रतिनिधि हो भनेर गर्व गर्न लायक हुनुपर्छ । एउटा चुनावमा एक ठाउँमा उठेको छ,अर्को चुनावमा अर्कै ठाउँ उठ्न पुग्नेलाई जनताले विश्वास गर्नुपर्ने आधार नै छैन । प्रचण्डले गोरखामा कुनै बेला आफू शिक्षक भएको र जनयुद्धको उद्गम थलो भनेर नातो जोड्न खोजे पनि उनको अस्थिर स्वभावले गर्दा उनको जित हुँदा पनि गोरखाली जनताले न्याय पाउँदैनन् । प्रचण्डलाई रोल्पा, सिराहा, काठमाडौंबाट जिताउँदा त्यहाँका जनताले नयाँ, नौलो र भिन्न केही चमत्कार पाएका छैनन् ।
प्रचण्डलाई गोरखाले जिताउँदैमा फू मन्तर कि वाचा हुँदैन । प्रचण्डप्रति जनताको विश्वास छैन वा प्रचण्डले जनताको विश्वास गर्न सकेका छैनन् भन्ने कुरा उनको उम्मेदवारीको स्थायित्व नभएको कुराले देखाउँछ । उनी कहिले रोल्पा, कहिले सिराहा, कहिले चितवन, कहिले काठमाडौं हुँदै अहिले आफू सिफारिस नै नपरेको क्षेत्र गोरखा २ मा पुगेका छन् । माओवादी पार्टी, अध्यक्ष प्रचण्ड र उनका कार्यकर्ताले जतिसुकै प्रचण्डको भजन गाए तापनि प्रचण्ड एकपटक प्रतिनिधि बनेका जिल्लाहरू दोस्रोपटक उनका लागि सुरक्षित हुन सकेका छैनन् । यसबाट स्पष्ट हुन्छ कि प्रचण्डले जनताको विश्वास जित्न सकेका छैनन् नै । वास्तवमा उनी राज्य सञ्चालनका लागि परीक्षणबाट असफल पात्र हुन् भन्ने कुरा छर्लङ्गै रहेको छ ।
गोरखा क्षेत्र नम्बर २ भनेको पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पटक पटक भारी मतान्तरले विजयी भएको क्षेत्र हो । अहिले बाबुराम भट्टराईले यस निर्वाचन क्षेत्रलाई बाउको बिर्ता जस्तै सम्झी प्रचण्डलाई सुम्पेका छन् । बाबुराम भट्टराई २०६४ मा माओवादीको तर्फबाट र २०७४ मा नेपाली कांग्रेसको सहकार्यमा नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा भने उनी माओवादीकै तर्फबाट गोरखाकै क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
उनको जन्मघर पनि गोरखाको क्षेत्र २ अन्तर्गत खोप्लाङ बेलबास नै हो । प्रचण्डका जनयुद्धका मित्र बाबुराम भट्टराईले १० वर्षे सशस्त्र जनयुद्धमा पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी निभाएका थिए । जनयुद्धको बेला पनि बाबुराम भट्टराई पटकपटक पार्टीको कारबाहीमा नपरेका होइनन् । माओवादी पार्टीभित्र प्रचण्ड र बाबुरामले एकअर्कोलाई राजापरस्त र भारतपरस्त भनेर आरोप प्रत्यारोप लगाउने गर्थे ।
तत्कालीन जनयुद्धको बेला पनि माओवादी पार्टीभित्र गुट र उपगुटको राम्रै विकास भएको थियो । भट्टराईले २०७२ सालमा नै परम्परागत कम्युनिष्ट पार्टीको सान्दर्भिकता सकिएको निष्कर्षसहित माओवादीबाट अलग भई अब नेपालमा वैकल्पिक पार्टीको आवश्यकता छ भन्दै नयाँ शक्ति पार्टी बनाए । तर उनको घोषणा अनुसार नयाँ पार्टीको संगठन बलियो हुन सकेन ।
अन्ततः २०७६ मा उपेन्द्र यादवको सङ्घीय समाजवादी पार्टीमा विलय भए र पार्टीको नयाँ नाम समाजवादी पार्टी नेपाल जुराए।अहिले बाबुराम भट्टराई त्यो पार्टी पनि छोडेर नेपाल समाजवादी पार्टी गठन पुनः प्रचण्डकै शरणमा पुगेर उनलाईलाई जिताउन लागिपरेका छन् । पटक पटक पार्टी परिवर्तन गरी हिड्ने अस्थिर बाबुराम भट्टराईले यसपालि पनि गोरखा २ मा आफूले आफ्नै पार्टीबाट जित्ने उपाय नदेखेपछि प्रचण्डलाई अगाडि सारेर भोट माग्न जनता सामु पुगेका छन् ।
गोरखाको निर्वाचनमा बाबुरामले प्रचण्डलाई अगाडि सारेपछि उनका बारेमा थुप्रै प्रश्नहरू उठेका छन् । बाबुरामले आफू माओवादीबाट अलग भएपछि प्रचण्डलाई लगाएका थुप्रै किसिमका भ्रष्टाचारका आरोपहरूको हिसाब किताब कसरी मिल्यो ? पूर्व प्रधानमन्त्री भैसकेको मान्छेले जे मन लाग्यो त्यही बोल्न पाइन्छ र ? शान्ति सम्झौतापछि माओवादी सेनाको नाममा आएको र प्रचण्डले खाएको भनिएको करोडौं रुपैयाँ कसरी मिल्यो र प्रचण्ड कसरी चोखा भए ?
नौ अर्बको बुढी गण्डकीको कमिशन कहाँ गयो ? बाबुरामले यी प्रश्नहरूको चित्तबुझ्दो उत्तर जनतालाई दिनुपर्छ र मात्र प्रचण्डलाई भोट माग्नुपर्छ । अहिले आएर बाबुरामले विवाद सकियो भनेकै आधारमा गोरखालीले प्रचण्डलाई भोट दिनुपर्छ भन्ने कहीँको कानूनमा लेखिएको छैन । पहिले बाबुरामले आफ्नो अनुहार राम्रोसँग हेर्नुपर्छ र प्रचण्डको बुइ चढ्नुपर्छ ।
यदि बाबुरामले प्रचण्डलाई लगाएका आरोपहरू निराधार थिए भने उनी कानून अनुसार कठघरामा जाकिनु पर्छ । उनलाई भोट माग्दै हिँड्ने अधिकार छैन । बाबुराम भट्टराई भनेको एउटा सामान्य नागरिक होइन, देशको पूर्व प्रधानमन्त्री हो ।
मतदाता भनेका कुनै खास एउटा नेताका खल्तीका सम्पत्ति होइनन् । नेताले आफ्नो स्वार्थ पूरा गर्न बारम्बार पार्टी परिवर्तन गर्छ भने जनता त्यसैसित पछिपछि लाग्नुपर्छ भन्ने बाध्यता केही छैन । जनताको भावना र मर्म बुझ्ने नेतालाई नै जनताले रोज्नुपर्छ र जिताउनु पर्छ नकि कहिले काफल पाक्यो र कहिले बीउ कुह्यो भनेर हिँड्ने र हिँडाउने नेतालाई जिताउनुको केही औचित्य छैन ।
अहिलेको संसदीय निर्वाचनको फोहरी खेलमा बाबुराम भट्टराई जानीजानी डुबुल्की मारेको कुरा कतै लुकाएर लुक्दैन । बाबुरामले कसैको सहारा बिना गोरखा जित्न नसक्ने, माओवादीले बाबुरामलाई गोरखा दिन पनि नसक्ने भएकै कारण बाबुरामले छोरी मानुषीलाई काठमाडौं ७ बाट गठबन्धनको उम्मेदवार बनाएर प्रचण्डलाई चोख्याइ रहेका छन् ।
मानुषीलाई काठमाडौंबाट जिताउनकै लागि बाबुरामले प्रचण्डलाई चोख्याएका हुन् भन्दा अनौठो मान्नु पर्दैन । यसबाट नेपाली राजनीतिमा मानुषीको योगदान छँदै छैन भन्न खोजिएको चाहिँ होइन । तर जनतालाई झुक्याएर र छक्याएर गर्न खोजिएको यस्तो साटासाट र किनबेचको राजनीतिले भने मानुषीको उचाई घटेको देखिन्छ ।
निर्वाचनमा एक मतको ठूलो भूमिका हुने हुनाले कसैले बोकेर ल्याएको छ भन्दैमा वा ठूलो पार्टीको अध्यक्ष हो भनेर गोरखाली त्यसैलाई नै भोट दिनुपर्छ भन्ने छैन । नेपालका यी ठूला र पुराना पार्टी र ठूला नेतालाई जनताले उनीहरूको विगतको कामको राम्रोसँग अध्ययन गर्नुपर्छ । नेपालका धेरै नेताहरू परीक्षणबाट नै असफल भएका हुनाले यिनीहरूलाई आगामी निर्वाचनमा पत्तासाफ नै गर्नुपर्छ । अबको नेपाली राजनीतिलाई शुद्ध र स्वस्थ बनाउनु पर्ने हुनाले एकपटक त हो भनेर पुनः गल्ती गरिनु हुन्न । सोचेर र विचार पुर्याएर मतदान गरौँ । (लेखक अमेरिकाको भर्जिनियामा कर्मरत छन्)