arrow

दलीय प्रभाव र स्वतन्त्र उम्मेदवारको महत्वाकांक्षा 

logo
निलम दाहाल, 
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
nilam-dahal-article1.jpg

मुलुकले संविधान पाएको सात वर्ष भइसक्दा लोकतान्त्रिक मूल्य मान्यताको झल्को आउन थालेको छ । नागरिक स्तरमा राजनीतिप्रति चासो बढेको छ । हिजो राजनीतिलाई फोहरी खेलको संज्ञा दिने जमात आज त्यही फोहरको दह सफा गर्ने भन्दै हाम फाल्दै छन् । लोकतान्त्रिक देशमा लोकतन्त्रको मर्म झैं जनता लोकतन्त्रको मूलधारमा समाहित हुन आउनु आफैँमा सुन्दर पक्ष हो ।

राष्ट्रिय निर्वाचनमा अहिले स्वतन्त्र उम्मेदवार बनेर उम्मेदवारी दर्ता गर्ने होडबाजी राम्रैसँग देखियो । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलताले पनि संघीय र प्रादेशिक निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न हौसिएको भनेर बुझ्न सकिन्छ । भलै यस अघिका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बन्ने ट्रेण्ड थियो नै ।

देशकै राजधानी रहेको काठमाडौं । त्यसैगरी प्रमुख शहरहरु धरान, धनगढीमा दलीय आवद्धता नभएका स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा जित्दा एकापट्टी राजनैतिक दलहरू सशंकित छन् भने अर्कापट्टी जनताले दलको विकल्प खोजेका हुन् त भन्ने बहस पनि विभिन्न वृत्तमा गुन्जिन थालेको छ र विकल्प बनेर आउन खोज्नेहरुको मनोबलमा मलजल भएको महसुस हुन्छ ।

बहुदलीय व्यवस्था भएको मुलुकमा राजनैतिक दल नै सर्वोपरी हुन्छन् । राजनीतिक दलले नै आफूले पाएको जनमतको आधारमा राज्यसत्ता संचालन गर्ने चलन छ । तर प्रमुख राजनीतिक दलले दिएका उम्मेदवार ठीक नलागे स्वतन्त्र उम्मेदवारी दिइन्छ भन्ने बुझाई जगजाहेर नै छ ।
हिजोका दिनमा “टेस्टेड एण्ड फेल्ड“ नेताहरु विरुद्ध कसैले आफूलाई उभ्याउनु स्वभाभिक नै हो ।

तर यहाँ अर्को परिपाटी पनि पाइयो । दलीय चक्रब्यूहकाबीच फक्रिरहेका नेताहरु जो आशाका केन्द्रका रुपमा हेरिएका हुन्छन् उनीहरुलाई अनेक प्रोपोगन्डा रच्दै फगत आफू लाइमलाइटमा आउन पनि उनीहरु विरुद्ध उभ्याएको पनि पाइयो । अझ यस्ता क्षेत्रमा उम्मेदवारको ओइरो नै देखिन्छ । यसलाई बहुदलीय ब्यवस्थामा नकारात्मक रुपमा लिन सकिन्छ ।

के सबै स्वतन्त्र उमेदवार अब्बल हुन्छन् त ?
निर्वाचन आयोगको न्यूनतम मापदण्ड पूरा गरी उम्मेदवारी मनोनयन गरिसकेपछि जो कोही चुनाव लड्न त योग्य हुन्छन् । तर के ती सबै आकांक्षी राज्यको नीति निर्माणका कुरामा हस्ताक्षपकारी भूमिका खेल्न सक्ने खालका हुन्छन् त ?

सबैमा सांसद भएर काम गर्न विद्धता नहुन सक्छ । सबैसँग स्पस्ट खाका र एजेन्डा नहुन सक्छ । बालेन र हर्कको परिणाम देखेर काँधमा राष्ट्रिय झण्डा बोक्दैमा, स्वतन्त्र उम्मेदवार हुँ भन्दैमा मतदाताले पत्याउँछन् भन्ने मनोभावना हुन सक्छ ।

केही मा त ‘जिरो पोलिटिक नलेज’ भएका र राजनीतिप्रति बितृष्णा भएका मतदाताको मन झण्डा ओड्दैमा आफुप्रति आइहाल्छ नि भन्ने हुन सक्छ । एमसीसी, नागरिकता विधयेक जस्ता विषयमा देश दुईमा कित्तामा बाँडिएको अवस्थामा आफूले राष्ट्रियताको कार्ड फ्यालेर जितिन्छ भन्ने सोच्छन् ।

तर सबै स्वतन्त्र आकांक्षी यस्तै हुन्छन् भन्ने हुँदैन । केही प्रतिशत उम्मेदवारमा स्पष्ट खाका, एजेन्डा र रोडम्याप हुन्छ । आफूलाई समाजकै विभिन्न क्षेत्रमा समर्पित गर्दै आएका र अब चाहिँ नीति निर्माणकै तहमा बसेर केही गरौँ है भन्ने हुटहुटी बोकेर उम्मेदवारी दिएका हुन्छन् । दलीय सिन्डिकेट भन्दा आफू अब्बल छु ।

स्वतन्त्र लडेर नै आफूलाई जनताको आवाज उठाउने थलोमा पुर्याउँछु भन्ने मनोभाव बोक्ने उम्मेदवार पनि हुन्छन् । शैक्षिक, प्राज्ञिक, खेलकुद, प्रशासन जस्ता अनेक विधामा आफूलाई अब्बल साबित गरिसकेका ब्यक्ति पनि उम्मेदवार हुन्छन् ।

यसबीचबाट भुस र चामल केलाउने जिम्मा मतदाता कै हुन्छ । सक्षम, सबल र केही गर्ने हुटहुटी बोकेका उम्मेदवारलाई मतदाताले न्याय गर्नुपर्छ ।

सांसदमा निर्वाचित भएर काम गर्न कति सहज ?
‘सांसद’ आफैँमा ब्यवस्थापिका अन्तर्गत पर्ने पद हो । यसको मुख्य भूमिका नीति निर्माण नै हो । यसका अलवा राष्ट्रिय मुद्दामा आफ्ना तर्क अगाडि सार्न, जनजिवीकाका अनेक समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन, आफ्ना क्षेत्रका र जनताका समस्या उठान गर्ने भूमिका पनि सांसद कै हो ।

विशेषतः नयाँ मतदातामा सांसद भएपछि मेयर जसरी नै कार्यपालिका नै हाँक्ने भन्ने बुझाई परेको पनि देखिन्छ । तर यस्तो भने हैन । कुनै चमत्कार नभए दल बाहिरबाट बनेका सांसदले सरकारमा सहभागी हुने कल्पना गरेका हुँदैनन् । अपवादमा गण्डकी प्रदेशमा दीपक मनाङ्गेको जस्तो भाग्य खुल्नै पर्छ नत्र कार्यपालिकामा आफ्नो क्षमता देखाउने अवसर आउँदैन । 

तर यसका बाबजुद, शिक्षा स्वास्थ पूर्वाधार लगायतका विषयमा आफ्नो योगदान नीति निर्माण तहदेखि, सत्तासँग लविङ गरेर प्रत्यक्ष परोक्ष ढङ्गले दिन सकिन्छ । अतः लोकतन्त्रको बिजारोपण भएको वर्षौं बित्दा राजनीतितर्फ चाख बढाउनु, उक्त क्षेत्रमा हाम फालेर देशलाई आफ्नो योगदान दिने प्रण गर्नु निकै सकारात्मक पक्ष हो । 

तथापि बहुदलीय ब्यवस्थामा स्वतन्त्र लडेरै–जितरै प्रलय नै गर्छु, प्रधानमन्त्री नै हुन्छु भन्ने एकदमै न्यून (लगभग शून्यको) सम्भाव्यता बोकी आफूलाई उभ्याउनु चाहिँ दिवा सप्न सरह हुन्छ । तथापि विभिन्न क्षेत्रका विद्धानदेखि समाजका महत्वपूर्ण ब्यक्तिहरु चुनिनु लोकतन्त्रलाई जीवन्त राख्न महत्वपूर्ण हुन्छ । योग्य, सक्षम, दूरदर्शिता बोकेका ब्यक्ति दलमा चाकडी गरेकै भरमा टिकट पाएकासँग पराजित हुनु भने हुँदैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ