arrow

मकवानपुरमा रोचक त्रिपक्षीय भिडन्तः जित्नेमा सबैको आ-आफ्नै दाबी

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
mk.jpg

हेटौंडा । निर्वाचन नजिकिएसँगै विभिन्न दलका नेतालाई  टोल-टोलमा जाने र हात जोड्दै भोट माग्ने चटारो सबैतिर छ । यही क्रम मकवानपुरमा पनि उत्तिकै बढेको छ । मकवानपुरमा दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

बागमती प्रदेशको राजधानीसँगै ठूला दलका शिर्ष तहका नेताहरू भएको जिल्ला पनि हो यो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ मा गरी २६ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । तर यहाँ एमाले-गठबन्धन र राप्रपा बीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ । ठूला दलका ठूला नेतासबैले आआफ्नै पक्षमा पल्ला भारी हुने दाबी गरिरहेका छन् । 

मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्ह लिएर उठेका छन् । उनि उठ्ने बित्तिकै एमाले मकवानपुरको ठूलो समुह रुष्ट पनि बनेको छ । अर्को तर्फ सोही क्षेत्रमा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना चुनावी मैदानमा छिन् । २०४८ सालदेखि चुनावमा उठ्ने तर जितेको अनुभव नभएकी उनमा यसपालि भने आफूले सजिलै जित्ने दाबी गर्छिन् ।

अर्कोतर्फ केही समय अघिसम्म कमल थापासँग एउटै परिवारका दाजुभाइ जसरी हिँडेका राप्रपाका नेता तथा स्थानीय तहको निर्वाचनमा अप्रत्याशित मत ल्याएका दिपकबहादुर सिंह पनि एमाले र गठबन्धनलाई यसपालि पछार्ने दाउमा लागेका छन् । उनी मकवानपुर क्षेत्र नम्बर १ कै प्रतिनिधि सभा तर्फका उम्मेदवार हुन् ।

अर्को तर्फ मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका युवा नेता महेश बर्तौलाले अब बा पुस्ताले युवाहरुलाई सहयोग गर्नुपर्ने भन्दै चुनावी अभियानमा छन् । यो क्षेत्रमा गठबन्धनको तर्फबाट पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेकपा समाजवादीका विरोध खतिवडा उम्मेदवार बनेका छन् ।

विगतका निर्वाचनमा खतिवडाले कुनै चुनाव हारेको अनुभव छैन । तर यसपालि यो क्षेत्रमा आफ्ना चेला बर्तौलासँग चुनावी भिडन्त हुने भएको छ ।

मकवानपुर जिल्ला नेकपा एमालेको गढका रुपमा परिचित छ । तर यसपालि भने एमालेलाई त्यति सहज देखिँदैन । किनकि जिल्लाका वरिष्ठ नेताको टिकट खोसेर कमल थापालाई एमालेबाट उठाएपछि  एमाले रुष्ट भनेको छ भने अर्को एकपटक पनि जितको अनुभव नभएकी डिनालाई आफ्नै गठबन्धनले के गर्ने हो भन्ने चिन्ता उत्तिकै छ ।

किनकि यसपालि पनि माओवादी केन्द्र प्रदेशमा खुम्चिनु परेको छ । उसले प्रतिनिधि सभामा भाग पाएन । अर्कोतर्फ राप्रपाका दिपक सिंह पनि कमजोर रहेनछन् भन्ने उदाहरण उनले स्थानीय निर्वाचनमा देखाइसकेका छन् ।

उनले आफैंले जित्छु भने पनि उनलाई एमाले र गठबन्धनलाई पछार्न सजिलो छैन तर उनको उम्मेदवारीले मकवानपुरमा एमाले र गठबन्धन दुवै डराएको पक्कै देखिन्छ ।

यसर्थ पनि मकवानपुरमा आगामी निर्वाचनमा त्रिपक्षिय रोचक भिडन्त हुने पक्का छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ