arrow

चुनौती झेल्दै प्रदीप ज्ञवाली, सहज मान्दै चन्द्र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
chandra-bhandari-pradip-gyawali.jpg

गुल्मी । आगामी निर्वाचन एमालेका लागि फलामे च्यूरा जस्तै भएको छ । पदाधिकारीहरुका लागि झन् चुनौती देखिएको हो । गुल्मीको क्षेत्र नं १ मा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी पाँचौं पटक चुनावी मैदानमा छन् । यसपटक दुवै जना आफ्नो पार्टीको राष्ट्रिय पहुँच र आफ्नो पहुँचलाई जनस्तरमा परीक्षण गर्न चाहन्छन् । राष्ट्रियस्तरमा दुवै नेता प्रभावशाली छन् । उनीहरु दुवै जित्ने अपेक्षासहित गुल्मीका गाउँ गाउँमा चुनावी कार्यक्रममा क्रियाशील छन् । 

ज्ञवाली एमालेको मुख्य निर्णयमा सहभागी हुने मध्येका नेता हुन् भने भण्डारीले नेपाली कांग्रेसको प्रभावशाली नेताको रुपमा परिचय बनाएका छन् । २०५६ सालदेखि भण्डारी र ज्ञवाली निरन्तर प्रतिस्पर्धामा छन् । 

यो बीचमा तीन पटकका निर्वाचन ज्ञवालीले जितेका छन् भने एक निर्वाचन भण्डारीले जितेका छन् । ०५६, २०६४ र ०७४ को निर्वाचनमा ज्ञवालीले जितेको दुई जनाको प्रतिस्पर्धामा २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने भण्डारीले बाजी मारेका थिए । 

२३ वर्षदेखि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुँदै आए पनि ज्ञवालीलाई यसपटक भने सहज छैन । भण्डारी यस पटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।

२०७४ को निर्वाचनमा ज्ञवाली ७ हजारभन्दा बढी मतले विजयी भएका थिए । ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत पाएका थिए । 

तर त्यतिबेला ज्ञवालीलाई माओवादीको मत थपिएको थियो । अहिले त्यो मत भण्डारीलाई थपिँदैछ । अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेत सामेल छन् । ती दलको मत भण्डारीलाई जाँदा चुनावी गणित भण्डारीको पक्षमा आउने देखिएको छ । 

‘यसपटक भण्डारी हाम्रो रोजाइमा छन्, भण्डारीको उपस्थिति संसदमा आवश्यक देखिँदैछ’, गुल्मीका गठबन्धनका एक नेताले भने । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा गुल्मी–१ मा एमाले बलियो देखिन्छ । तर गठबन्धनको मत एकै ठाउँमा जोड्दा ज्ञवालीलाई विरासत कायम राख्न चुनौती देखिएपछि उनी पहिला भन्दा कमजोर अवस्थामा छन् । 

एमालेले ३५ हजार ७०१ मत प्राप्त गर्दा कांग्रेसले ३१ हजार २९४ मत पाएको थियो । माओवादीले ४ हजार ९७० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले १ हजार ६०० र नेकपा एसले ४९७ मत प्राप्त गरेका थिए । 

सत्ता गठबन्धनको मत यो क्षेत्रमा ३८ हजार ३६१ छ, जुन एमालेको भन्दा २ हजार ६६० बढी हो । कांग्रेस नेताहरु यो तथ्यांकलाई केलाउँदै ज्ञवालीलाई पुनः सदन छिर्न नदिने रणनीतिमा लागेका छन् । 

स्थानीय तह निर्वाचनमा ज्ञवालीको आधार क्षेत्र नै भत्किएको थियो । रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको, चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय केही कमजोर बनेको, १२ स्थानीय तहमध्ये ३ वटामा खुम्चिएको कारण ज्ञवालीलाई कठिनाई उत्पन्न भएको छ । 

कांग्रेस नेता भण्डारी कांग्रेसभित्रै विकृतिमा समेत आलोचना गर्ने र प्रष्ट विचार राख्ने नेताको रुपमा परिचित छन् । 

गत वर्ष पार्टीको १४ औं महाधिवेशनमा भण्डारी पार्टी सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी समूहबाट उपसभापतिको उम्मेदवार बनेका थिए । 

डा. शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार बनेका उनी पराजित भएका थिए । 

गुल्मीको सो क्षेत्रमा क्षेत्रको प्रदेशसभा ‘क’ मा कांग्रेस नेता धनेन्द्र कार्की र एमाले नेता चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता फर्शुराम पाण्डेय प्रतिस्पर्धामा छन् । 

यो क्षेत्रको प्रदेश १ (क) मा ५७, ५७९ र १ (ख) ६१ मा ७०९ मतदाता रहेका छन् । उनीहरु दुवै एक अर्कालाई सम्मान गर्दै चुनावी प्रतिस्पर्धामा रहेका कारण अन्य क्षेत्र भन्दा उनीहरुको क्षेत्र अलि बढी नै शान्त रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ