- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ सबैभन्दा धेरै चासोमा छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा उक्त क्षेत्रका ‘हट केक’ उम्मेदवारका रुपमा चुनावी दौडमा छन् । प्रतिनिधि सभा सदस्यका रुपमा थापासँग मुख्य प्रतिस्पर्धामा एमालेका पुरानै उम्मेदवार डा. राजन भट्टराई घरदैलो गरिरहेका छन् ।
यसर्थ काठमाडौं ४ देशभरका मतदाताका लागि मात्र मात्र होइन विश्वभर छरिएर रहेका ८० लाख नेपालीका लागि चासो, चिन्ता र चुनौतीको क्षेत्र बनिरहेको छ ।
‘हेभिवेट’ गगन र एमाले अध्यक्ष केपी शर्मा ओलीका सल्लाहकार भइसकेका एमाले विदेश विभाग प्रमुख डा. भट्टराई दोस्रो पटक आमने सामने हुँदैछन् । चुनाव नजिकिँदै जाँदा दुवै उम्मेदवारमाथि विभिन्न आरोप प्रत्यारोप पनि बढ्दो छ । साथै आशा र भरोसा चुलिँदो छ ।
डा. भट्टराईबाट क्षेत्रको विकास असम्भव हुने, दुई पटक संविधान विघटन गर्ने केपी शर्मा ओलीको साक्षी बस्नेबाट संविधान जोगाउन नसकिने र लोकतन्त्र समाप्त हुने भन्दै प्रतिस्पर्धीहरुले चुनावी मसला बनाइरहेका छन् ।
‘सम्मुन्नत नेपाल र सम्मानित नेपाली’ को नारामार्फत गगनले भावी कामका बारेमा दिनहुँ मतदाताहरुलाई बुझाइरहेका छन् । सामाजिक संजालमा गगनप्रति सद्भाव र सुभेच्छा बढिरहेको छ । डा. भट्टराई पनि सामाजिक संजालमा छाएका छन् । थापाको विरासतलाई उल्टाउने र विगतको हारको जवाफ दिने भन्दै उनी आक्रामक प्रचारमा देखिन्छन् । २०७० मा दोस्रो संविधानसभाको निर्वाचनदेखि लगातार निर्वाचित गगन फेरि आफ्नो विरासत जोगाउने मात्र होइन मुलुकको भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।
भावी प्रधानमन्त्रीको रुपमा उभिएका गगनसँग परराष्ट्र मामिला विज्ञ साथै एमाले केन्द्रीय सदस्य डा. भट्टराईबीचको प्रतिस्पर्धालाई मतदाताले भावी प्रधानमन्त्रीबाट क्षेत्रको विकासमा धेरै अपेक्षा गरेका छन् ।
कतिपय विश्लेषक तथा मतदाताहरुले प्रधानमन्त्री भर्सेस पीए (स्वकीय सचिव) बीचको प्रतिस्पर्धालाई प्रतिस्पर्धा नै ठानेका छैनन् । ‘काठमाडौं ४ ले प्रधानमन्त्री पाउँछ भने सँधै केपी ओलीको वरीपरी घुमिरहने सल्लाहकार वा पीएलाई सदन छिराउँदा कसलाई फाइदा हुन्छ ? क्षेत्रले के पाउँछ ? हामीलाई ठूला योजनाहरु चाहिएको छ । क्षेत्रको विकास चाहिएको छ । त्यसैले प्रधानमन्त्री रोज्ने कि पीए रोज्ने हामीले विवेक पुर्याउनुपर्छ,’ नाम नखुलाउने सर्तमा मैतीदेवीका एक युवाले भने ।
कम छैनन् उम्मेदवार
काठमाडौं ४ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरुको लामै सूची छ । स्वतन्त्रबाट मात्र एक दर्जन र विभिन्न दलबाट दुई दर्जन उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य रुपमा गगन र राजन प्रमुख प्रतिस्पर्धी हुन् ।
केही स्वतन्त्र उम्मेदवारले गगनलाई समर्थन जनाइरहेका छन् । सन्तोष प्रधान, सुमित खरेल, मनोज सापकोटा, सूर्य चन्द जस्ता युवाहरुमाझ लोकप्रिय रहेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर गगनलाई समर्थन जनाइसकेका छन् ।
गगनले यसअघि नै हेभीवेट उम्मेदवारलाई हराइसकेकाले भट्टराईसँगको दोस्रो भिडन्तलाई त्यति धेरै असहज मानेका छैनन् ।
२०७४ सालको निर्वाचनमा गगनले २१ हजार ५५१ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत ल्याएका थिए उनी तीन हजार मतान्तरले गगनसँग पराजित भएका थिए । त्यस्तै गगनले एमालेका निर्मल कुइँकेल, नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पराजित गरिसकेकाले यस पटक पनि विजयीको माला पहिरिने निश्चितजस्तै छ ।
‘क्षेत्रको विकासमा थुप्रै काम गरेको छु । क्षेत्रबासीको आधारभूत आवश्यकता पूर्ति गर्न दर्जनौं पटक घरदैलो गरेको छु । जानेर केही गल्ती गरेको छैन । सकेसम्म सबैलाई सहयोग गरेको छु । आपत विपत र महामारीमा हरेक मतदातालाई सहयोग गर्ने सौभाग्य पाएको छु । त्यसैले यस पटक पुनः मतदाताहरुको माया अवश्य पाउने छु,’ गगनले भने ।
हुनत गगन र डा.भट्टराईको योग्यता र क्षमतालाई कमजोर ठानिँदैन । स्वास्थ्यमन्त्री भइसकेका गगन कांग्रेसका महामन्त्री हुन् । उनी युवामाझ बढी लोकप्रिय छन् ।
भट्टराई परराष्ट्र मामिला विज्ञ मानिन्छन् । उनी प्रबुद्ध व्यक्ति समूह (नेपाल भारत) का सदस्य पनि हुन् । यद्यपि उनलाई ईपीजी प्रतिवेदनकाे रिपोर्ट चीनलाई चुहाएको आरोप छ । सोही कारण भारतले प्रतिवेदन नै बुझेको छैन ।
तर गगन लोकतान्त्रिक जनआन्दोलन साथै विभिन्न सामाजिक आन्दोलन र गणतन्त्र स्थापनाका प्रमुख हिस्सेदार रहेकाले युवाहरुको रोजाइमा छन् ।
कुशल भाषणकला, अध्ययनशील र तर्कशील क्षमता साथै प्रभावशाली योजनाकारका रुपमा गगनले आफूलाई स्थापित गरिसकेका छन् । त्यस्तै पार्टी र देश भित्रको गलत प्रवृत्तिका विरुद्ध उनी निरन्तर खबरदारी गर्दै आइरहेका छन् ।
प्रधानमन्त्री कि पीए ?
काठमाडौं ४ का सामाजिक अभियन्ता र केही जागरुक युवाहरुले गगन र राजनलाई विभिन्न कोणबाट समीक्षा साथै तुलना गरिरहेका छन् ।
कतिपयले देशको भावी प्रधानमन्त्री र केपी ओलीको ‘यसम्यान’ बीच तुलना नहुने भन्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि बढाउँदै ‘मिसन पीएम’ अभियान छेँडेका छन् । राजनलाई पनि बौद्धिक नेताका रुपमा अघि सार्दै चुनावी प्रचार गरिरहेका छन् ।
तर सामाजिक संजालमा गगनप्रति क्रेज बढ्दो देखिन्छ । फेसबुक, ट्वीटर तथा युट्युबमा गगनको समर्थनमा दर्जनौं प्लेटफर्महरु सिर्जना गरेर प्रचार गरिएको छ ।
युवा सामाजिक अभियन्ता बद्री भट्टराईले गगनमाथि लागेका आरोपहरुको ठाडो खन्डन गर्दै प्रधानमन्त्रीका रुपमा सदन प्रवेश गराउनुपर्ने भन्दै भिडियो सन्देश प्रवाह गरिरहेका छन् । भट्टराई यस्ता दर्जनाैं अभियन्तामध्ये एक हुन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, रामहरी खतिवडा, अभिषेकप्रताप साह, डम्बर खड्का, नागेन्द्र कुमारलगायतले गगनलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने बताइसकेकाले ‘हुन्छ भन्दा हुन्छ’ भन्ने सांसदहरु मात्र होइन हुँदैन भनेर कारण खोज्ने गगन जस्ता भुइँमान्छेको आवाज बोल्ने सांसद आवश्यक रहेको उनले बताएका छन् ।
भट्टराईले भनेका छन्, ‘अहिलेसम्म एकमात्र सांसद गगन हुन् जसले सदनमा भुइँमान्छेका आवाज बोल्छन् । परिवर्तनको आवाज बोल्छन् । युवाहरुको मुद्दा उठाउँछन् । खाली कागजमा हस्ताक्षर गरेर राष्ट्रपतिलाई बुझाउनेहरुलाई सांसद बनाउनु दुर्भाग्य हुनेछ । त्यसैले संसदको फ्रन्ट रोमा राख्न गगनलाई सदन प्रवेश गराउनै पर्छ ।’
त्यस्तै सांसद दिव्यमणी राजभण्डारीले पनि गगनका पक्षमा खुलेर मत मागेका छन् ।
डा.स्वर्णिम वाग्ले, डा. विशाल ढकालले गगनलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेको प्रतिक्रिया दिएका छन् ।
उक्त क्षेत्रका पुराना नेता न्हूँच्छेमान श्रेष्ठ भन्छन्, ‘गगनले विगतमा गरेका कामहरुलाई हेर्दा मतदाता कोही पनि बेखुश छैनन् । उनको विकासे रणनीति, सदनको प्रस्तुती र समस्याको चाँडो निकास दिनसक्ने क्षमतालाई सबै मतदाताले मजाले बुझेका छन् ।’
श्रेष्ठका अनुसार मुख्य प्रतिस्पर्धीका रुपमा रहेका दलका कार्यकर्ताले पनि यसपटक खुलेर गगनलाई सहयोग गरिरहेका छन् ।
मतको अंकगणित
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा एमाले अग्रस्थानमा देखिएको छ । वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा एमालेको १६ हजार ५०७ छ । कांग्रेसको १५ हजार ७६३, नेकपा(एस) को २ हजार ४१४, माओवादी केन्द्रको ८४४ मत छ ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २ हजार २९३, छ । गठबन्धनमा आबद्ध दलहरुको एकमुष्ट मत १९ हजार माथि हुन आउँछ । एमालेलाई राप्रपा र जसपाले साथ दियो भने पनि गठबन्धनका साझा उम्मेदवार गगन थापा बलिया देखिन्छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० समेटिएका छन् । साथै बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाहरु पर्छन् ।
मुख्य प्रतिस्पर्धी गठबन्धन र एमालेलाई स्वतन्त्र उम्मेदवारहरुले आफ्नो मत काट्न सक्ने चिन्ता भने यथावत छ । तर डा.भट्टराईको तुलनामा गगन बढी लोकप्रिय रहेकाले लोकप्रियताको मत गगनलाई आउने विश्लेषण गरिएको छ ।
यद्यपि प्रतिबद्ध मत भन्दा पनि ‘लुज र स्वीङ भोट’ स्वतन्त्र उम्मेदवारले ताने भने प्रतिस्पर्धा रोचक हुने निश्चित छ ।
एजेन्डाको प्रतिस्पर्धा
क्षेत्रको उन्नतिका लागि अन्य उम्मेदवारहरुले जे जस्ता मुद्दाहरु अघि सारे पनि मुख्य प्रतिस्पर्धीले ल्याएका मुद्दाहरु मतदाताको नजरमा परेको छ । विशेषगरी गगन र राजनले अघि सारेका मुद्दाहरु चासोका साथ हेरिएको छ । चुनावी प्रतिस्पर्धा भन्दा पनि यस क्षेत्रमा एजेन्डाको प्रतिस्पर्धा चर्किएको छ ।
यसअघि विजयी हुँदा ल्याएका एजेन्डाहरुलाई पूर्ण रुपमा कार्यान्वयन गरेको प्रमाणसहित मतदातामाझ देखिएका गगन र विजयी भएर एजेन्डा कार्यान्वयन गर्ने अभियानमा दौडिएका राजनबीच निकै रोचक प्रतिस्पर्धा हुने निश्चित छ ।
गगनले आफ्नो क्षेत्रमा रहेका पुरातात्विक महत्वका क्षेत्रहरुको जगेर्ना, कमलपोखरीको संरक्षण, धोबीखोला करिडोर निर्माण, कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण परियोजना, सुविधा सम्पन्न सडक, विद्युत र ढलका दर्जनौं योजना साथै स्वास्थ्य, शिक्षाका क्षेत्रमा असंख्य कामहरु भएको फेहरिस्ती अघि सार्दै भावी योजनाहरु प्रस्तुत गरेका छन् ।
गगनले ल्याएका दीर्घकालीन योजनाजस्तै राजनले पनि सम्पदा क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्ने संकल्पसहितका प्रतिबद्धताहरु सार्वजनिक गरिसकेका छन् ।
जनस्वास्थ्य र सरसफाइका योजनाहरु, शिक्षा, विज्ञान प्रविधि र कला साहित्य क्षेत्रका लागि पनि योजनाहरु अघि सार्दै भौतिक पूर्वाधारको विकासका दर्जनौं योजनाहरु अघि बढाएका छन् ।
यद्यपि गगनले एक दशकमा आफूले गरेका गौरवपूर्ण योजनाहरुको कार्यान्वयनलाई प्रस्तुत गर्दै भावी योजनाहरु पनि क्रमीक रुपमा मतदाताहरुसँग सार्वजनिक गरिरहेका छन् ।
वास्तवमा यस क्षेत्रमा एजेन्डाहरुको पनि रोचक प्रतिस्पर्धा भइरहेको छ । तर कार्यान्वयनका सवालमा पटक पटक सांसद भइसकेकाले गगनले लोभलाग्दो फड्को मारेको विश्लेषण गरिएको छ ।