- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । रङ्गेली झपरतलका सुरज ताजपुरिया भोट माग्दै गाउँ पुग्ने नेताहरुप्रति धेरै आशावादी छैनन् । ‘नेताहरुले काम नै गर्दैनन् । भोट जितेर गएपछि फर्किएर हेर्दैनन् । भोट दिने त हामी गरिबले हो नि तर हाम्रो समस्या कहिले बुझ्दैनन्,’ उनी भन्छन्, ‘गाउँको अवस्था तपाईले देख्नुभयो नि । बाटो हेर्नेहोस् न के हालत छ । यस्तो धुलाम्मे बाटोको धुलो कहिलेसम्म खाएर बस्ने ?’
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गाउँ–टोल पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले एउटै गुनासो पोख्ने गरेका छन्, ‘जितेर गएपछि नेताले कहिले गाउँलाई फर्किएर हेरेनन् ।’ सुनवर्षी नगरपालिकाका मण्डालाल राजबंशी गिरिजाप्रसाद कोइरालाजस्तो नेता आफूले अहिलेसम्म नदेखेको बताउँछन् ।
‘गिरिजाबाबु जस्तो नेता अहिलेका उम्मेदवार छैनन् । उहाँ त जितेर गए पनि बेलामौका गाउँ आइरहनु हुन्थ्यो । किसानका समस्या बुझ्नुहुन्थ्यो । दुःख सुख सोध्नुहुन्थ्यो’, उनले भने, ‘हो जितेर गएपछि व्यस्त हुन्छ तर समय मिलाएर जनताको मर्का बुझ्न आउनु पर्दैन ?’
ताजपुरिया र राजबंशीको जस्तो गुनासो अन्य मतदाताहरुको पनि छ । मतदाताहरु आफ्नो समस्या उम्मेदवारहरुलाई सुनाइरहेका छन् । विशेषगरी सडक, खानेपानी, स्वास्थ्य उपचार, सर्वसुलभ शिक्षा प्रमुख आवश्यकता रहेको बताउँछन् ।
आउँदो निर्वाचनमा पहिलो पटक भोट हाल्ने तयारीमा रहेका मोरङ क्षेत्र नम्बर ३ बेलबारी ११ का साभार श्रेष्ठ उम्मेदवारहरुको आश्वासन मात्र ढुक्क हुन नसकिने बताउँछन् ।
उनी भन्छन्, ‘असल, भ्रष्टचार विरोधी अनि आम जनभावना बुझ्ने उम्मेदवार हामीले खोजेका हौं,’ उनी भन्छन्, पटक पटक जितेर गएका नेताहरु चुनाव सकिएपछि पर्किएर हेर्दैनन् । चुनावका बेला मात्र गाउँ आउने नेतालाई के आधारमा भोट दिनु ?’
मोरङ क्षेत्र नम्बर २ बाट सत्ताधारी गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइराला यस क्षेत्रका मतदाताको नेताहरुप्रति भौतिक पूर्वाधारको क्षेत्रमा काम नभएको धेरै गुनासो रहेको स्वीकार्छिन् ।
उनी भन्छिन्’, मोरङको अलिक विकट मानिने मेरो क्षेत्रका मतदाताहरुको गुनासो बाटोघाटो, सिंचाइ, तटबन्ध निर्माणहरु रहेका छन् । गिरिजाबाबुपछिका सांसदहरुले यहाँ काम गर्नै सक्नुभएन छ । अहिले म उम्मेदवार भएर आउँदा धेरै समस्याहरु देखेको छु । जितेर गएपछि यहाँका समस्याहरु क्रमशः समाधान गर्दै लैजाने संकल्प गर्दछु ।’
मोरङका ६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रअनुसार फरक फरक समस्याहरु रहेको मतदाताहरुको भनाइ छ । उम्मेदवारहरुले पनि स्थानीय स्तरको समस्या अनुसार नै प्रतिबद्धता पत्र तयार गरेको दाबी गर्छन् । सुकुम्बासी बस्तीका मतदातालाई लालपूर्जा साथै नागरिकता आवश्यक रहेको नेतृ कोइरालाको बुझाइ छ । नागरिकताविहीन हुनुपर्दा राज्यका न्यूनतम अवसरबाट बञ्चित हुनु परेकाले नागरिकता र लालपुर्जा, महिलाहरुलाई सीपमुलक तालिम, युवाहरुलाई रोजगारमुलक शिक्षा चाहिएको उनको भनाइ छ ।
मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका सुनील शर्मा आफ्नो क्षेत्रका जनताहरुको माग ठाउँ र परिवेश अनुसार फरक फरक रहेको बताउँछन् । तटबन्धन, पैनी, बाटोको स्तरोन्नति, बिजुली पोलको व्यवस्था, खानेपानी जस्ता सामान्य तर दैनिक आवश्यकता पूर्तिमा सहज हुने किसिमका मागहरु रहेको सुनाउँछन् ।
उनी भन्छन्, ‘मतदाता विकास बजेटमा भइरहेको भ्रष्टाचारबाट वाक्क छन् । जनताले भ्रष्टाचार नगर्ने नेता खोजेका छन् । राजनीतिमा वितृष्णा बढाउने र भ्रष्ट नेताले गाउँ नटेकुन् भन्ने चाहेका छन् ।’
शहरी क्षेत्र भन्दा पनि ग्रामीण क्षेत्रका मतदाता गाउँ पुगिरहेका उम्मेदवारहरुसँग बढी आक्रोशित छन् । मिठो आश्वासन, लोभलाग्दो एजेन्डा र महत्वाकांक्षी योजना लिएर गएका उम्मेदवारहरुप्रति मतदाता विश्वस्त छैनन् ।
मोरङ क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार लालबाबु पण्डित मतदाताको भावना र चाहना अनुसारका एजेन्डाहरु आजको आवश्यक्ता भएको बताउँछन् । ‘आश्वासनले देश विकास हुदैन । गर्छु भनेको काम गर्न सक्नुपर्छ । सक्दिन भने सक्दिन नै भन्नुपर्छ । म त सधै मतदाताहरुसँगै रहने नेता हुँ, मेरो क्षेत्रको समस्याप्रति जानकार छु ।’
विशेषगरी नीति, नियम, ऐन र कानून निर्माण गर्ने राज्यको महत्वपूर्ण थलको रुपमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विकासे मुद्दा बग्रेल्ती उठिरहेको देख्दा उम्मेदवारहरु पनि अलमलमा परेका छन् ।
मोरङमा प्रतिनिधि सभा सदस्य छ र प्रदेश सभा सदस्य १२ गरी जम्मा १८ पदको लागि निर्वाचन हुँदैछ। प्रतिनिधि सभातर्फ १ सय ८ जना उम्मेदवार कायम भएका छन् भने प्रदेश सभातर्फ १ सय १९ जना उम्मेदवारहरु कायम भएका छन् ।