arrow

चुनावमा लालपुर्जा बटमलाइन

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
AAAA.jpg

रुपन्देही । दशैंतिहार सकिए लगत्तै देशमा अर्काे महान् पर्वको अवसर तातिन थालेको छ । शहर र गाउँका चोक चौतारमा हुन थालेका भेला, सभाले यतिबेला धार्मिक पर्वको भन्दा फरक जमघट एवं माहोल तातिँदै गएको हो । 

जनताले आफ्ना जनप्रतिनिधि चुन्ने दिन आगामी मंसिर ४ गते आउन अब १७ दिन बाँकी छ । जसले गर्दा उम्मेदवारहरुले मौन रुपमा गर्ने घरदैलो समय बुधबार सकिएको छ भने बिहीबारदेखि औपचारिक रुपमा कार्यक्रम गर्न पाएका छन् । यसले थप चुनावी माहोल गुञ्जयमान हुने भएको छ ।

चुनावमा होमिएका विभिन्न दलहरुले आ–आफ्ना चुनावी घोषणापत्र प्रकाशित गरिसकेका छन् । घोषणापत्रमा केही दलले नयाँ बुँदा राखेको पाइएको छ भने शीर्ष केही दलहरुले भने यसभन्दा अगाडिको निर्वाचनको घोषणापत्रमा उल्लेख गरेका योजनाहरुलाई पुनः दोहोर्याएको पाइएको छ । 

उक्त दाहोर्याएका बुँदाहरुको पछिल्लो समय नागरिकद्धारा सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ । सञ्जालमा टिप्पणी गर्ने सामाजिक प्रयोगकर्ताहरुले ०६४ सालदेखि बुटवलबासीलाई सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिएर निर्वाचित हुँदै आएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लालपुर्जा वितरण गर्नेछौं, भन्ने पुरानै चुनावी नारालाई पुनः बटम लाइन बनाएका छन् । 

बिहीबार बुटवल उपमहानगरपालिका वडा नं ६ को शाखा कमिटी भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का हेभिवेट उम्मेदवार मानिने पौडेलले निर्वाचन पश्चात् सुकुम्बासी समस्या समाधानको काममा अन्तिम रुप दिएर लालपुर्जा दिने बताएका हुन् ।

उनले आफूहरुको सरकार हुँदा उक्त समस्यालाई समाधान गर्न अन्तिम चरणमा पुर्याएको बेला अदालतले रोकेर काम गर्न नपाएको भन्दै आगामी निर्वाचनपछि बन्ने एमाले सरकारले सुकुम्बासी समस्यालाई समाधान गर्न लालपूर्जा वितरण गर्ने दाबी गरे ।
 
सम्बोधनका क्रममा एमाले उपाध्यक्ष पौडेलले भने ‘लगत संकलनदेखि धेरै काम पहिले नै भ्याईसकेका छौं, सुकुम्बासी आयोगले काम तीव्र रुपमा गरेको बेला अदालतले रोकिदिएपछि काम पूरा हुन पाएन । त्यसैले निर्वाचनपछि एमाले सरकार बनेलगत्तै हामीले सुकुम्बासी समस्याको कामलाई नै थाल्छौं । एमाले नेतृत्वको सरकारले मात्रै सुकुम्बासीहरुलाई जग्गाधनी लालपुर्जा दिन्छ ।'

यता बुटवलका सूर्य पौड्यालले पटक–पटक चुनावका बेला यही सुकुम्बासीको समस्या हल गर्नेछु भनेर मत तान्ने तर निर्वाचित भएर सांसद भएपछि सुकुम्बासीको काम थन्काउने, जब फेरि चुनाव आउँछ, घरदैलोमा गएर सोही सुकुम्बासीको नाम लिने ?' भनेर आक्रोश पोखे । 

त्यस्तै जीवन खेवाले भने, '०४८ सालदेखि यही सुकुम्बासीको नाम लिएर सांसद बन्दै आएका छौ, हालसम्म कति प्रतिशत लालपूर्जा दियौ ? अब कति बाँकी छ समस्या हल गर्न । जित्नको लागि जे पनि बोल्ने नेताले पहिले पूर्वपश्चिम राजमार्ग अन्र्तगत चौराह–चिडियाखोला सडक ६ वर्षसम्म पनि ६ लेनमा विस्तार हुन नसक्नुको कारण देऊ ?'

उनले जीर्ण सडकले पैदलयात्री, व्यवसायीहरु कहिले हिलो र कहिले धुलोले आजित बन्दै आएकोमा ध्यान दिन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ