arrow

देउवा एक सफल राजनीतिज्ञः कत्तिको छ कर्ण, सागर लगायतबाट चुनौती ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
deuba-karna-sagar-bikram.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख उम्मेदवारका रुपमा रहेका छन् । देउवा जीवित नेताहरुमा सर्वाधिक सफल नेता हुन् । उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । 

गृहजिल्ला डडेल्धुराले अहिलेसम्म देउवालाई धोका दिएको छैन । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै निरन्तर सिंहदरबारको नेतृत्व गर्नु चानचुने हैन । राजनीतिमा उनको पकड बलियो नै छ । 

राजनीतिमा अधिकांश समय सफलता हासिल गरेका देउवाका लागि यो निर्वाचनको प्रतिस्पर्धा पनि औपचारिकता जस्तै भएको अनुमान गर्न सकिएला । यद्यपि गोप्य मतदान हो यसै भन्न सकिन्न । 

गत २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा देउवाले तत्कालीन वाम गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टलाई करिब ७ हजार मतान्तरले पराजित गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत रहेका खगराज भट्ट डडेल्धुरा प्रदेश सभा (क) मा गठबन्धनका उम्मेदवार रहेका छन् ।

देउवाका प्रमुख प्रतिस्पर्धी भट्ट गठबन्धनमै मिसिएपछि देउवालाई चुनावी प्रतिस्पर्धामा झनै सहजता मिलेको छ । अहिले डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदमा देउवा बाहेक एमालेबाट विद्रोह गरी उठेका विक्रम शाही, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, वीपी कांग्रेसबाट कर्णबहादुर मल्ल, राप्रपाबाट गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायतको उम्मेदवारी रहेको छ ।

वीपी कांग्रेसका मल्ल प्रधानमन्त्री देउवाका सहयोगी भएर लामो समय काम गरेका व्यक्ति हुन् । यसपालि उनी नै प्रतिस्पर्धामा उत्रिदा केही असहज पक्कै देखिन्छ ।

यस्तै एमालेको सूर्य चिह्नमा मतदान गर्न नमिले पनि एमाले जिल्ला कमिटी डडेल्धुराले बागी उम्मेदवार शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

देशव्यापी चर्चामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि निकै मेहनतका साथ चुनावी मैदानमा होमिएका छन् । 

यद्यपि गठबन्धनका कारण प्रधानमन्त्री देउवालाई चुनाव जित्न सहज भए पनि वीपी कांग्रेसका मल्ल, एमालेका बागी उम्मेदवार शाही र स्वतन्त्र उम्मेदवार ढकालको चुनौती भने रहने देखिएको छ ।

के छ चुनावी अंकगणित

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले २८ हजार ४ सय ४६ मत प्राप्त गरेका थिए । 

यस्तै उनका प्रतिद्धन्द्धी अहिले गठबन्धनका तर्फबाट डडेल्धुरा प्रदेश सभा (क) का उम्मेदवार रहेका खगराज भट्टले २१ हजार ४ सय ९८ मत प्राप्त गरेका थिए ।

०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले १९ हजार ६ सय ८९ मत प्राप्त गरेको थियो । नेकपा एमालेले १६ हजार २ सय ४९, माओवादी केन्द्रले ११ हजार ७ सय ३० र राप्रपाले ५६४ मत प्राप्त गरेको थियो ।

यस्तै गत २०७९को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले २१ हजार ७ सय ३५, नेकपा एमालेले १० हजार ४ सय ४९, माओवादी केन्द्रले १२ हजार ८ सय ७८, राप्रपाले ७ सय १४ र नेकपा एकीकृत समाजवादीले ५ हजार ४१ मत प्राप्त गरेको छ ।

देउवालाई कति सहज कति चुनौती?

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत देउवाले सोझौ पाउने हो भने जित निश्चित छ । कांग्रेस आफैले पनि नेकपा एमालेको भन्दा दोब्बर बढी मत गत स्थानीय तहको निर्वाचनमा पाएको छ ।

वीपी कांग्रेसका मल्ल, एमालेका बागी उम्मेदवार शाही र स्वतन्त्र उम्मेदवार ढकालको चुनौती भने देउवालाई उत्तिकै हुने देखिन्छ । वीपी कांग्रेसका मल्लले बलियो मत ल्याएमा, एमालेका शाही र स्वतन्त्रबाट ढकालले पनि बलियो मत ल्याएको खण्डमा देउवालाई पनि चुनौती थपिने देखिन्छ ।

तथापि गठबन्धनतर्फका साझा उम्मेदवार हुँदा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेस आफ्नै बलियो मत पाउँदा देउवाको जित सुनिश्चित छ ।

डडेल्धुरा प्रदेश (ख) मा कांग्रेसका गोविन्दराज बोहरा उम्मेदवार रहेका छन् । 

प्रदेश (क) मा राप्रपाबाट पदमराज जोशी र स्वतन्त्र उम्मेदवार महेश धामी र धनबहादुर बोहराले उम्मेदवारी दिएका छन् । 

प्रदेश क्षेत्र (ख) मा टिकट नपाएपछि एकीकृत समाजवादीका नेता डा तारा जोशीले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेश क्षेत्र (ख) मै राप्रपाबाट खेमराज पनेरू, राप्रपा नेपालबाट जयराज अवस्थी, जसपाबाट नरभान पार्की र स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तको उम्मेदवारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ