arrow

सेफ जोनमा भिष्मराज आङ्देम्बे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
vishma-raj-angdembe.jpg

पाँचथर । नेपाली कांग्रेसमा भिष्मराज आङ्देम्बे आफैंमा शालीन नाम हो । पाँचथरमा उनको आफ्नै पहिचान छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा एक मात्र क्षेत्र रहेको पाँचथरमा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका भिष्मराज आङदेम्बे र एमालेका बसन्तकुमार नेम्वाङ पाँचथरको जनप्रतिनिधि हुने दौडमा छन् । २०७४ सालमा पनि यी दुईबीच प्रतिस्पर्धा हुँदा नेम्वाङले बाजी मारेका थिए । शालीन स्वाभावका आङदेम्बे उनै नेम्वाङसँग पराजित भए पनि पाँच वर्ष जनताकै सेवामा रहेर फेरि चुनावी मैदानमा परीक्षणका लागि आएका हुन् । 

२०७४ सालका एमाले र माओवादी केन्द्रको वाम गठबन्धन थियो । अहिले माओवादी र नेपाली कांग्रेसको गठबन्धन रहेको छ । त्यसकारण पनि यसपालि आङदम्बेको चुनावी माहोल बनेको छ । 

नेम्वाङले पाँचथरमा तीन पटक चुनावी प्रतिस्पर्धा गरिसकेकाले उनको विकल्पको खोजी भैरहेको छ । नेम्वाङ २०४८ सालमा ३० वर्ष उमेर नपुग्दै पाँचथर– १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएर सांसद भएका थिए । 

२०५१ को मध्यावधि निर्वाचनमा उनी पराजित भए । तर २०५६ मा पुनः विजय हासिल गरे । गणतन्त्रपछि भएको निर्वाचनमा उनी उम्मेदवार हुन पाएनन् । 

एमालेबाट संविधान सभाका दुवै निर्वाचनमा पाँचथर– १ बाट गणेशकुमार काम्बाङलाई उम्मेदवार बनाइयो । पहिलो संविधान सभा निर्वाचनमा पराजित काम्बाङले दोस्रो संविधान सभामा जित हात पारे ।  

संविधान जारी भई मुलुक संघीय व्यवस्थामा प्रवेश गरेसँगै नेम्वाङ पुनः पाँचथर जिल्लाबाट २०७४ सालमा संघीय संसद् पुगे । लगत्तै उनी मन्त्रीसमेत भए । 

आङदेम्बे नेपाली कांग्रेसका सहमहामन्त्री हुन । पार्टीभित्र प्रमुख पदाधिकारीको रुपमा रहेकाले पनि उनी यस पटक आफ्नो परिचित प्रतिद्वन्द्वीलाई पराजित गर्ने मानसिकतामा छन् ।  

आङदेम्बेलाई यस पटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि साथ दिएका कारण उनी उत्साहसहित निर्वाचनको प्रचारप्रसारमा रहेका कारण पनि यसपल्ट उनले आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् । 

कांग्रेस नेता आङदेम्बे २०७० मा एमालेका डम्बरसिंह सम्बाहाम्फेलाई पराजित गर्न सफल भएका थिए । आङदेम्बे २०५६ पछि भएका प्रतिनिधि सभा र संविधान सभा निर्वाचनमा निरन्तर उम्मेदवार छन्  । 

हालसम्म ५ पटक कांग्रेसबाट टिकट पाएका आङदेम्बेसँग २०७० को संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए । 

आङदेम्बे २०७४ अघिका सबै निर्वाचनमा साविक पाँचथर– २ बाट चुनाव लड्दै आएका थिए ।

मुलुक संघीय संरचनामा गएर प्रतिनिधि सभाका लागि एक सिट कायम भएपछि नेम्वाङ र आङदेम्बेकाबीच २०७४ मा पहिलो पटक चुनावी मैदानमा भेट भएको थियो । 

अघिल्लो पटक माओवादी केन्द्रसँगको वाम गठबन्धनबाट जितेका नेम्वाङ यस पटक एमालेबाट कुनै दलसँग तालमेल नगरी चुनावी मैदानमा निस्केकाले आङदेम्बे सेफ जोनमा रहेको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् । 

आङदेम्बे माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको साथ भएकाले आन्तरिक रुपमा आउन सक्ने समस्या मिलाउनमा केन्द्रित रहेका छन् । 

आङदेम्बेले विगतमा एमाले सरकारको समयमा जिल्लाले प्राथमिकता नपाएको र समग्र विकासका लागि एमाले बाधक बनेकै कारण आफू उम्मेदवार भएको आएको बताउँदै आएका छन् । 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेम्वाङले ३८ हजार ६ सय ४१ मत पाउँदा कांग्रेसका आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका थिए । १० हजार मतले आङदेम्बे पछि परेका थिए । 

तर यस पटक स्थानीय निर्वाचनको नतिजा हेर्दा कांग्रेस आफैं बलियो देखिन्छ । कांग्रेसले उक्त जिल्लामा ८ स्थानीय तहमध्ये पाँचमा प्रमुख जितेको छ । एमालेले एउटा मात्र जितेको छ । 

पाँचथरमा कुम्याक, तुम्वेवा, फालेलुङ, फाल्गुनन्द, फिदिम नगरपालिका, मिक्लाजुङ, याङवरक, हिलिहाङ गाउँपालिका रहेका छन् । 

स्थानीय चुनावमा जिल्लाभर कांग्रेसले ४१ हजार २ सय ५० पाएको थियो भने नेकपा एमाले ३४ हजार १ सय ६४ मत पाएको थियो । 

माओवादी केन्द्र २८ हजार मत पाउँदा एकीकृत समाजवादी ५ हजार मत पाएको थियो । 

त्यसकारण पनि उनी सेफ जोनमा रहेको कांग्रेसका कार्यकर्ताहरुले बताएका छन् । त्यसमाथि सत्ता गठबन्धन निकै अगाडि देखिएकाले आङदेम्बेलाई सहज भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ