arrow

पर्शुराम आन्तरिक झमेलामा फस्दा केदारलाई राहत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
kedar-karki-morang-6.jpg

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ यतिबेला चर्चामा छ । दुई हेभिवेट नेताको उम्मेदवारीका कारण यहाँको चुनावी माहोल गर्माएको छ । प्रतिनिधि सभामा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा.शेखर कोइराला र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री समेत रहेका लालबाबु पण्डित मैदानमा छन् । 

डा. कोइराला र पण्डितले आ–आफ्नो घरदैलो अभियानलाई चर्काएका छन् । २०७४ को निर्वाचनमा आमने सामने भएका दुई नेता फेरि मैदानमा आएका हुन् । डा.शेखर पाँच वर्षअघिको हारको बदला लिएर सदन प्रवेशको कसरतमा छन् भने लालबाबु पुरानो सफलता कायम राख्दै रेकर्ड बनाउने अभियानमा दौडिरहेका छन् । 

उक्त क्षेत्रका दुई प्रदेश सभामा पनि उसैगरी माहोल तातेको छ । प्रदेश सभा (ख) मा प्रदेश १ का मन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली नेता केदार कार्की र एमालेका कृष्णबहादुर बस्नेत (पर्शुराम) बीच कडा टक्कर हुने देखिएको छ । 

कुनै समय नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बन्न देशब्यापी अभियानमा दौडिएका कार्की पछिल्लो समय प्रदेश १ मा प्रभाव जमाउँदै गएका थिए ।

सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिसकेका बस्नेत भने एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष र एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य छन् । 

तर ‘अपराधिक छवि’ भनेर उनको प्रचार भएपछि त्यसलाई न्यूनीकरण गर्न बस्नेतले लोकप्रिय एजेन्डाहरु अघि बढाइरहेका छन् । यद्यपि कार्की र बस्नेतबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

‘मेरो क्षेत्रका जनताका फरक फरक माग छन् । भौगोलिक अवस्थिति, महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुको फरक फरक माग छन् । गाउँमा मत माग्नेक्रममा मतदाताहरुले विकास र अधिकारका कुराहरुलाई प्राथमिकताका आधारमा उठाइरहेका छन् । ती मागहरुलाई संयोजन गरेर माग पूरा गर्नुपर्ने मेरो बाध्यता हो,’ कांग्रेस उम्मेदवार कार्की भन्छन् ।

उनले अगाडि भने, ‘मैले यसअघि पनि जनमत पाएर काम गर्ने मौका पाइसकेको छु । मतदाताको मन मनमा बस्ने काम गरेको छु । हरेक मतदातासँग परिचित छु । जनतासँग प्रत्यक्ष जोडिएका कारण मैंले मतदाताको हरेक समस्याको साक्षी बसेको छु । त्यसैले यस पटक कतिपय अधुरा र नयाँ योजनाहरु पूरा गर्न जनताले फेरि मलाई चयन गर्नुहुन्छ भन्ने विश्वासमा छु ।’

कार्कीको जस्तै विश्वास पर्शुरामले पनि बोकेका छन् । उनले पनि महत्वाकांक्षी योजनाहरु मतदातसमक्ष पुर्याएर मत तान्ने प्रयास गरिरहेका छन् । वडा वडामा शिशु स्याहार केन्द्र, ढल, बाटो निर्माण, विशेष आवास योजना, डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने मुद्दा अघि बढाएका छन् । 

तर कार्कीले यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइ मतदाता धेरै मागहरु पूरा गरिसकेकाले अब अधुरा र नयाँ योजनासहित काम गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।

‘अघिल्लो पटक विजयी भइसक्दा म हरेक मतदाताको घरमा पुगेको छु । अधिकारका आवाज उठाएको छु । मतदाताको मन मनमा बसेको छु । मतदाताका दैनिकीसँग जोडिएको छु । यी विविध पक्ष मेरो जितको आधार हो,’ उनले कुराकानीका क्रममा आफ्नो जितको आधार प्रष्ट पारे ।

चुनौती आफ्नैसँग
मोरङ क्षेत्र नम्बर ६ (ख) मा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका कार्की र बस्नेतमाथि आफ्नै दलबाट पनि चुनौतीहरु देखिएका छन् । कार्कीका लागि बागी उम्मेदवारका कारण केही समस्या देखिएको छ भने बस्नेतका लागि टिकट खोसेको र ‘अपराधिक छवी’ भएको व्यक्ति भनेर गरिएको प्रचार समस्या गराएको छ । 

एमालेसँग चुनावी तालमेल गरिरहेको जनता समाजवादी पार्टी (जसपा) लाई सोही क्षेत्रमा उम्मेदवार बनाउने सहमति भए पनि अन्तिम समयमा जसपाका राजेन्द्र गुप्ताको टिकट खोसेर बस्नेतलाई दिएपछि विवाद चर्किएको छ । 

त्यस्तै एमालेको बौद्धिक र वैचारिक समूह बस्नेतलाई टिकट दिइएकोमा सन्तुष्ट छैन । त्यसैले उक्त क्षेत्र एमालेलाई चुनाव जित्न ठूलो चुनौती भइरहेको छ । एमाले कार्यकर्ताहरु स्वतःस्फूर्त रुपमा घरदैलोमा पुग्न सकिरहेका छैनन् ।

त्यस्तै कार्कीका लागि पनि आफूसँगै विचारधारा मिल्ने दुई युवा उम्मेदवार बनेपछि मत विभाजित हुने हो कि भन्ने चिन्ता छ । यद्यपि डा.शेखर कोइरालाकै क्षेत्र भएको र कार्कीको आफ्नै प्रभाव रहेकाले चुनावी परिणाम कार्कीको पक्षमा आउने हो कि भन्ने अनुमान पनि एकथरी मतदाताले गरिरहेका छन् ।

‘हो, हामीभित्र केही समस्या आएको छ । तर मतदान हुनुअघि सबै व्यवस्थित भइसक्छ । लोकतान्त्रिक पार्टी भएकाले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुलाई अन्यथा लिनु हुँदैन तर पार्टीको आधिकारीक निर्णय सबैले मान्नैपर्छ । यस विषयमा हामी लागिरहेका छौं । केही दिनमा व्यवस्थापन भइसक्छ,’ कार्कीले प्रष्ट पारे । 

कार्कीले बाढी नियन्त्रण, करिडोर निर्माण, सुकुम्बासी समस्या समाधान, बाटो निर्माण र विस्तार, पर्यटन पूर्वाधार, औद्योगिक करिडोर निर्माण, कृषि उत्थान साथै जनजीविकासँग जोडिएका मुद्दाहरु अघि सारेको बताए ।  

कडा प्रतिस्पर्धा
मोरङ क्षेत्र नं ६ अन्तर्गत बुढीगंगा गाउँपालिकाका सबै वडा समेटिएका छन् । त्यस्तै, विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९, ११ र १२ तथा सुन्दरहरैंचा नगरपालिकाका वडाहरु २, ३, ४, ५, ६ र ७ पर्छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङ ६ अन्तर्गत पर्ने विभिन्न पालिकाका २० वटा वडामध्ये कांग्रेसले १२ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै, एमालेले ५, माओवादी केन्द्रले १, जसपाले १ र स्वतन्त्रले एक वडामा अध्यक्ष जितेका छन् ।

सो चुनावमा नेपाली कांग्रेसका वडाध्यक्षले पाएको मत २८ हजार ४२८ हो । त्यस्तै, एमालेले २५ हजार २३६, माओवादी केन्द्रले ५ हजार ३५६, जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ६८९, एकीकृत समाजवादीले २ हजार ३६९ मत पाएका छन् । अन्य साना पार्टी र स्वतन्त्र उम्मेदवारको एकीकृत मत ५ हजार ७४१ छ । यस हिसाबले सत्तारुढ गठबन्धनमा रहेका दलहरुको मत अग्रस्थानमा देखिन्छ ।

प्रदेश सभा ख कै अवस्था हेर्दा पनि ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका केदार कार्कीले ११ हजार २९८ मत पाउँदा उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार एमालेका रमेशप्रसाद पोखरेलले ८ हजार १२० मत पाएका थिए ।

यस पटक कांग्रेससँग माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीको समीकरण रहेकाले गठबन्धनका उम्मेदवार बलियो देखिन्छन् । यद्यपि बागी र स्वतन्त्र उम्मेदवारले मत काटे पनि गठबन्धनका उम्मेदवारलाई जित्न कठिन देखिँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ