arrow

रामेछापमा कांग्रेसको पक्षमा माहोल, कान्छारामलाई जित्न सजिलो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
kancharam-ramechhap.jpg

काठमाडौ । एक मात्र प्रतिनिधिसभा र एक लाख ८४ हजार मतदाता रहेको रामेछाप जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) एमालेका उम्मेदवार भन्दा धेरै अगाडि छन् । गत स्थानीय तहमा दलहरूले ल्याएको भोटलाई आधार मान्ने हो भने तामाङ एमालेका उम्मेदवार भन्दा ३० हजार भोटले अगाडि छन् । 

तामाङसँग एमालेका उम्मेदवार कैलाश ढुङ्गेल प्रतिस्पर्धा गर्दै छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर घिसिङ तथा नेपाल मजदुर किसान पार्टीबाट हरिकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् । तर प्रमुख प्रतिस्पर्धा तामाङ र ढुंगेलवीचमै हुनेछ । गत स्थानीय तहमा वडा अध्यक्षमा पार्टीहरूले ल्याएको भोट हेर्दा रामेछापमा नेपाली कांग्रेसको भोट ४१ हजार ५१ छ । नेकपा (एमाले) को ३९ हजार ३३ छ । यसै गरी माओवादी २७ हजार ३९, तथा नेकपा (एस) १ हजार ५सय ७० तथा राप्रपाको ९ सय ३५ भोट छ । ‘हामी ३० हजार भन्दा धेरै भोटको फरकले चुनाव जित्दै छौ’, तामाङले भने,‘अहिले रामेछापमा नेपाली कांग्रेसको पक्षमा माहोल ह्वात्तै बढेको छ ।’

प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारवीचमा प्रतिस्पर्धा छ, तर प्रदेश सभाको एक क्षेत्रमा भने माओवादी र नेकपा (एस)का उम्मेदवारहरू आपसमा भिड्दै छन् । 

रामेछापमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस र प्रदेश सभाका दुबै क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । तर केन्द्र र प्रदेश दुबैमा एउटा पनि सिट नपाए पछि नेकपा (एस)ले केन्द्र र प्रदेश गरी तीन वटै सिटमा छुट्टै उम्मेदवारी दिएको छ । केन्द्रमा दिएको उम्मेदवारीलाई नेकपा (एस) ले निष्क्रिय पारेको छ भने प्रदेश सभाको हकमा भने रामेछाप (क)मा दिएको उम्मेदवारीलाई भने एसका नेताहरूले अझै सक्रिय बनाएका छन् । रामेछाप (क)मा जसरी पनि जित्ने गरी एसका नेताहरूले प्रचार सुरु गरेका छन् । यस क्षेत्रमा अहिले माओवादी र एसका उम्मेदवारवीचमै प्रतिस्पर्धा छ । 

प्रदेश सभामा रामेछाप (क) मा नेकपा (एस) बाट उम्मेदवारी दिएका रमेश बस्नेत पार्टीको आधिकारिक उम्मेदवार भएको एसका पोलिटव्युरो सदस्य तथा रामेछाप इन्चार्ज देबशंकर पौडेलले बताए । बस्नेत विजय हुने सत प्रतिशत सुनिश्चित भएको उनको भनाइ छ । 

‘हामीले सुरुमै केन्द्र र प्रदेश गरी रामेछापका तीन वटै सिटमा उम्मेदवारी दियौ तर पछि प्रतिनिधि सभा र प्रदेश सभाको रामेछाप (ख)को उम्मेदवारी निष्क्रिय बनायौ’ पौडेलले भने, ‘(क) मा माओवादीले अहङ्कार देखायो । त्यसैले त्यस क्षेत्रमा हामीले उम्मेदवारी फिर्ता लिएनौ ।’ पौडेल आफैले पनि प्रतिनिधि सभामा नेकपा (एस)को तर्फबाट उम्मेदवारी दिएका छन् तर पार्टीको निर्देशन बमोजिम उनले आफ्नो उम्मेदवार निष्क्रिय बनाएका छन् । 

यसै गरी रामेछाप (ख)मा दिइएको उम्मेदवारीलाई पनि निष्क्रिय बनाउन लगाएका छन् । तर (क) मा भने केन्द्रको निर्देशनलाई एसका स्थानीय नेताहरूले मानेनन् । बरु प्रचार प्रसारलाई अझै तीव्र बनाएका छन् ।

प्रदेश सभा तर्फ रामेछाप (क)मा माओवादीबाट तारानारायण श्रेष्ठ, एमालेबाट शान्तिप्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिक्मत सुनुवारले उम्मेदवारी दिएका छन् । यसै गरी रामेछाप (ख)बाट एमालेका मिलनकुमार घिसिङ, माओवादीका युवराज चौलागाई तथा एसका झम्कबहादुर कँडेलले उम्मेदवारी दिएका छन् । कँडेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । प्रदेश सभा (क)मा मुख्य प्रतिस्पर्धा एमाले, माओवादी र एसवीच हुने भएको छ भने (ख )मा माओवादी र एमालेवीच प्रतिस्पर्धा हुने भएको छ । रामेछापमा प्रतिनिधि सभामा ५ जना स्वतन्त्र छन् । तर मतदाताहरूमा चर्चा र चासो भने प्रमुख दलका उम्मेदवारहरूकै छ । यसै गरी प्रदेश सभामा पनि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूको चर्चा र नाम छैन । 

प्रमुख दलका उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । केही उम्मेदवारहरू साना साना कार्यक्रम गरी जनतालाई आकर्षित गर्ने गरेका छन् तर रामेछापमा स्वतन्त्र उम्मेदवारहरू भने काहीँ भेटिन्नन् । रामेछापमा प्रतिनिधि सभा तर्फ विक्रम लामा, चन्द्रबहादुर राउत, आङछेम्वो शेर्पा, कृष्णबहादुर भुजेल, रामकुमार लामाले उम्मेदवारी दिएका छन् । यी उम्मेदवारको चर्चा हुने गरेको छैन । 

रामेछाप जिल्ला भरी शान्ति सुरक्षाको पुरै व्यवस्था मिलाइएको रामेछापका प्रमुख जिल्ला अधिकार शोभाखर रेग्मी बताउँछन् । उनका अनुसार चुनाव बहिस्कार गर्ने समूह र पार्टीका कार्यकर्ताहरूको गतिविधिमाथि निगरानी गर्ने काम भइरहेको छ । ‘सुरक्षा निकायका प्रतिनिधिहरूसँग नियमित बैठक गरिरहेको छु । शान्ति सुरक्षामा कुनै समस्या आउन दिन्नौ’रेग्मीले भने । रेग्मीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मागे कर्मचारीको विवरण पठाउने काम पनि पूरा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ