arrow

कञ्चनपुरमा गठबन्धन बलियाे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
kanchanpur-gathabandhan-lekhak-saud-magar.jpg

काठमाडौं । तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरका तीन वटै क्षेत्रमा सत्ताधारी गठबन्धन र नेकपा एमालेबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । 

खासगरी कञ्चनपुर १ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर, कञ्चनपुर २ मा नेपाली कांग्रेसका नारायण प्रकाश (एनपी) साउद र कञ्चनपुर ३ मा पनि नेपाली कांग्रेसका रमेश लेखकको चुनावी स्थितिलाई एमालेका प्रतिस्पर्धीसँग महत्वपूर्ण रुपमा हेरिएको छ ।

कञ्चनपुर १
कञ्चनपुर १ मा यसपटक पनि नेकपा माओवादी केन्द्रबाट बिना मगर गठबन्धनको साझा उम्मेदवार रहेकी छिन् । यसअघि वाम गठबन्धन रहेको २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मगरले कञ्चनपुर १ बाट ३८ हजार ४ सय ६७ (करिब दोब्बर) मत ल्याउँदै जित हात पारेकी थिइन् । नेपाली कांग्रेसका प्रतिद्धन्द्धी दिवान सिंह बिष्टले १९ हजार २ सय १९ मत ल्याएका थिए ।

यसपटक पनि मगरलाई गठबन्धनको फाइदा हुने देखिएको छ । कञ्चनपुर १ मा नेकपा एमालेबाट तारा लामा तामाङ उम्मेदवार रहेकी छिन् २०७९ को स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने यहाँ नेपाली कांग्रेसले १८ हजार ७ सय ३७, नेकपा एमालेले १८ हजार ७ सय ७३, माओवादी केन्द्रले १५ हजार २ सय ८९, नेकपा एकीकृत समाजवादीले ३ हजार ५ सय २१ र राप्रपाले २ हजार ६ सय ९२ मत ल्याएको छ ।

यसरी हेर्ने हो भने माओवादी आफ्नो पनि बलियो मत रहेको कञ्चनपुर १ मा गठबन्धनको फाइदा स्वरुप मगरले बलियो मतान्तरले जित हात पार्ने देखिन्छ । यी दुई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरिएका बाहेक तीन स्वतन्त्रसहित थप ८ जना चुनावी मैदानमा छन् ।

कञ्चनपुर २
कञ्चनपुर २ मा पनि गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका नारायण प्रकाश (एनपी) साउदले जित हात पार्ने देखिएको छ यसअघि ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एनपी साउदले वाम गठबन्धन हुँदा नेकपा एमालेका नरबहादुर धामीसँग ८ हजार ३ सय २७ मतको हार व्यहोरेका थिए ।

यस पटक पनि कञ्चनपुर २ मा नेकपा एमालेबाट नरबहादुर धामी नै उम्मेदवार रहेका छन् । तर कांग्रेसका साउदले ०७४ को बदला लिने देखिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले यो क्षेत्रमा २२ हजार  ३ सय ८९ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले १२ हजार ५ सय ७२ र नेकपा एकीकृत समाजवादीले ४ हजार १ सय ६१ मत प्राप्त गरेको छ । नेकपा एमालेले १८ हजार ८ सय २८ र राप्रपाले ३ हजार ९ सय ५३ मत ल्याएको छ ।

गठबन्धनका दलको मत हेर्ने हो भने कांग्रेसका साउदले झण्डै दोब्बर मत ल्याउने सम्भावनासमेत देखिन्छ । यद्यपि यी दुई प्रमुख प्रतिस्पर्धी बाहेक कञ्चनपुर २ मा थप ८ उम्मेदवार रहेका छन् । कांग्रेस आफ्नैसमेत बलियो पकड रहेका कारण साउदले कञ्चनपुर २ मा सजिलै जित हात पार्ने देखिएको छ ।

 कञ्चनपुर ३
 कञ्चनपुर ३ मा ०७४ मा वाम गठबन्धन हुँदा समेत २५८ मतले मात्रै हार व्यहोरेका नेपाली कांग्रेसका रमेश लेखकले यसपटक बलियो मतान्तरका साथ जित्ने सम्भावना देखिन्छ । ०७४ मा उनी एमालेका दीपकप्रकाश भट्टसँग पराजित भएका थिए ।

यसपटक एमालेबाट कञ्चनपुर ३ मा निरुदेवी पाल चुनावी मैदानमा छिन् । स्थानीय तह २०७९ को मत परिणाम हेर्ने हो भने कञ्चनपुर ३ मा कांग्रेसले २१ हजार ७ सय ७२ मत प्राप्त गरेको छ । 

यस्तै माओवादी केन्द्रले ५ हजार ९ सय ८१ र नेकपा एकिकृत समाजवादीले ३ हजार १२ मत प्राप्त गरेको छ । एमालेले १६ हजार १ सय १७ र राप्रपाले ६ हजार ५ सय ३ मत प्राप्त गरेको छ ।

कांग्रेसको एकल बलियो मत रहेको कञ्चनपुर ३ मा लेखकको व्यक्तिगत प्रभाव र गठबन्धनको फाइदाले उनको जितलाई झनै सुनिश्चित बनाउने देखिन्छ ।

यी दुई मुख्य प्रतिस्पर्धी बाहेक ४ स्वतन्त्रसहित थप १० जना कञ्चनपुर ३ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ