arrow

भानुभक्त र रेखालाई पन्छाएर संसदमा आउन डा शर्मा आतुर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
dr-sunil-sharma-bhanubhakta-rekha.jpg

विराटनगर । यसपालि मोरङ क्षेत्र नम्बर ३ को चुनावी माहोल विगत भन्दा अलिक भिन्न छ । खासगरी प्रतिस्पर्धीहरुको पृष्ठभूमिका कारण यहाँको चुनावी चर्चा फरक किसिमले भइरहेको छ ।

चिकित्सा पेशा हुँदै समाजसेवामा कहलिएका कांग्रेसका डा. सुनील शर्मा, माले हुँदै एमालेको सक्रिय राजनीतिमा रहेका भानुभक्त ढकाल र कलाकारिताबाट राजनीतिमा हाम फालेकी नायिका रेखा थापाबीचको मुख्य प्रतिस्पर्धाले यहाँको चुनावी माहोल गर्माएको हो ।

उम्मेदवार अनुसार मतदाताको विश्लेषण पनि फरक फरक तरिकाले भइरहेको छ । तेह्रथुममा जन्मिएर काठमाडौं केन्द्रीत राजनीति गर्दै मोरङ चुनाव लड्न पुगेका ढकाल, विराटनगरमा सुविधा सम्पन्न अस्पताल खोलेर मोरङ केन्द्रीत सेवा गरिरहेका डा. शर्मा र बैंश र युवा उमेर कलाकारितामा बिताएर राजनीतिमा आएकी थापाबीचको प्रतिस्पर्धालाई निकै रोचक मानिएको छ ।

पटक पटक स्वास्थ्य सेवा प्रदान गरेर आफ्ना क्षेत्रका सबैजसो मतदातासँग प्रत्यक्ष जोडिएका डा. शर्मा, ‘टुरिष्ट’ उम्मेदवारको आरोप खेपिरहेका थापा र ढकालले चुनावी गतिविधिलाई पनि चर्काउँदै लगेका छन् । 

थापा र ढकाल आफ्नै दल राप्रपा र एमालेबाट साथै डा. शर्मा पाँचदलीय सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेर भोट मागिरहेका छन् । 

सबै उम्मेदवारले मतदाताको सबैखाले आरोप प्रत्यारोप खेपिरहेका छन् । एउटा ब्यापारीले राजनीतिमा आउँदा जनताको भावना सम्बोधन गर्न नसक्ने भन्दै एकथरी मतदाता डा. शर्मामाथि आरोप लगाइरहेका छन् भने कलाकारिता छाडेर रहरमा राजनीतिमा आएकाले राज्यको उपल्लो तहमा पहुँच विस्तार गर्न नसक्ने भएकाले गाउँको विकास नहुने भन्दै थापामाथि आरोप लगाइएको छ । 

साथै गाउँमा फर्केर नआउने ‘टुरिष्ट’ नेता ढकालले मतदाताको माग सम्बोधन गर्न नसक्ने आरोप खेपिरहेका छन् । यद्यपि सबै उम्मेदवारले आफ्नो प्रभाव मतदातासमक्ष विस्तार गरिरहेका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा आफ्नै क्षेत्रको बेतना सिमसार पर्यटकीय गन्तब्य स्थलमा भेटिएका डा. शर्माले हाम्राकुरासँग भने, ‘म २०७४ सालमा न्यून मतले चुनाव हारेँ । तर बितेको पाँच वर्ष मैले क्षेत्र छाडेको छैन । जनताको मन जितेको छु । क्षेत्रको विकासका लागि दिनरात खटिएको छु । मतदातासँग प्रत्यक्ष संवाद र सहयोगमा छु,’ उनले अगाडि भने, ‘सात सय बढी बच्चाहरुलाई त मेडिकल पारामेडिकल पढाइसकेँ । एक लाख २० हजार नागरिकलाई यहाँबाट लगेर कम्तिमा ५० प्रतिशत र बढीमा पूरै फ्री गरेर उपचार गरिसकेँ । सेवामा निरन्तर खटिएको छु । यसपटक पक्कै मतदाताले न्याय गर्नुहुनेछ ।’

ढकाल र थापाको पनि दाबी कमजोर छैन । थापा भन्छिन्, ‘कलाकारिता गरेर कमाएको इज्जत लिलामी गर्न आएको होइन । यस क्षेत्रको समस्या मेरो आफ्नै समस्या भएकाले आवाज उठाउन आएको हुँ । आवाज उठाउन सकिन भने जनतालाई नै लिएर सिंहदरबार जान्छु ।’ 

ढकालले पनि बितेका वर्षमा आफूले क्षेत्रको विकासका लागि दर्जनौं योजनाहरु भित्र्याएकाले कतिपय अधुरा योजनाहरु पूर्णता दिन जनतामाझ गएको प्रतिक्रिया दिएका छन् ।

मुख्य प्रतिस्पर्धा डा. शर्मा र ढकालबीच भए पनि थापाको प्रवेशले यस क्षेत्रको चुनावी सरगर्मी भने बढेको छ । केही स्वीङ र न्युट्रल भोट थापाले लिए पनि आफ्ना पुराना साथै प्रतिबद्ध भोट आफूहरुले लिने ढकाल र डा. शर्माको दाबी छ ।

तर बीचको पाँच वर्षको अवधीमा उक्त क्षेत्रका अधिकांश स्थानमा स्वास्थ्य शिविर, आफ्नो नोबेल अस्पतालमा निशुल्क सेवा, बिरामीको उद्धार गरेर लोकप्रिय भएका शर्मा र केही प्रतिबद्धता जनाएर पनि पुरा गर्न नसकिरहेका ढकालको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

थापाप्रति स्थानीयको क्रेज भनेको कलाकारिताप्रतिको क्रेज भएको डा. शर्माको बुझाइ छ । उनी भन्छन्, ‘यस पटक पनि मेरो प्रतिस्पर्धा एमाले उम्मेदवारसँगै हो । थापा सेलिब्रेटी कलाकार भएकाले स्थानीयबासी उनलाई हेर्न र फोटो खिचाउन पुग्नुलाई मतदाता क्रेज भन्न सकिदैन ।’ 

पुराना दल र नेताबाट गाउँको विकास हुन नसक्ने भन्दै मतदातालाई कन्भिन्स गराउँदै आएकी थापाप्रति इंगित गर्दै स्थानीय एक नेताले भने, ‘मतदाताले थापासँग तस्विर मात्र खिचाएका हुन् । भोट पुरानै दललाई खसाल्छन् ।’

बदलाको भाव
अघिल्लो चुनावमा विजयी नजिक पुगेर पनि पराजित भएको परिणाम भोगेका डा. शर्मा यस पटक नजिता उल्ट्याउने अन्तिम कसरतमा छन् । आफ्नो शिक्षण अस्पतालमा सुलभ स्वास्थ्योपचार, चिकित्सा शिक्षा अध्ययनमा समेत क्षेत्रवासीलाई अवसर दिनुका साथै प्रत्यक्ष र परोक्ष रुपमा विकास निर्माणलगायतका समस्या समाधानमा जोडिएका डा. शर्मा यस पटक ढकालाई विश्राम दिने सोचमा छन् ।

यसपालि उनको लोकप्रियता पनि बढेको छ । चुनावी भेटघाटका क्रममा मतदाताको उत्साह र सहभागीताले उनलाई हौसला दिएको बताए । उनले भने, ‘यसपालि मेरो मुद्दा भनेको स्वास्थ्य, शिक्षा र रोजगारी नै हो । सुकुम्बासी र भूमिहीनको समस्या समाधान साथै तटबन्ध निर्माण पहिलो प्राथमिकतामा छ ।’

‘लोहन्द्राको बाँधको समस्या छ । जनता एकदमै पीडित भएका छन् । अन्य खोलाहरुको समस्या पनि उस्तै छ । यी समस्या राष्ट्रिय आयोजनामा नपारी सुख छैन । किसानहरुलाई कुलोको राम्रो व्यवस्था गरेर आत्मनिर्भर कृषी क्षेत्र बनाउनु छ । म त्यो सक्छु र गर्छु । बाटो पिच गर्नुपर्ने, ग्राभेल गर्नुपर्ने, फराकिलो बनाउनुपर्नेलगायत समस्या छ । ति सबै पुरा गर्छु’ डा.शर्माले आश्वस्त पार्दै भने । 

ढकालले पनि मन्त्री हुँदा भित्र्याएका अधुरा योजनाहरुलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै मत मागिरहेका छन् । तर उनले सुकुम्बासी समस्या समाधान गर्न नसकेको, जग्गा प्राप्तिको व्यवस्था गर्छु भनेर बाचा पूरा नगरेको आरोप खेपिरहेका छन् । सत्तामा रहँदा पनि क्षेत्रको विकासमा पर्याप्त भूमिका नखेलको उनले आरोप झेलिरहेका छन् । 

बलिया प्रतिस्पर्धी
सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवार बनेका डा. शर्मा र एमालेको एकल उम्मेदवारका रुपमा रहेका ढकालबीच यसपाली पनि मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । देशका विभिन्न क्षेत्रमा राप्रपाले एमालेलाई समर्थन गरे पनि यस क्षेत्रमा थापाको उम्मेदवारी रहेकाले त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ ।

पहाडे र केही मधेसी रैथाने समूदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा २०४८ सालयतादेखि बामपन्थीले वर्चश्व जमाए पनि विस्तारै उनीहरुको मत विभाजित भइरहेको छ । क्षेत्रीय पार्टी, जातिय संगठनहरुका कारण मत तितरवितरको अवस्थामा छ  ।
 
१ लाख ४९ हजार ८३३ मतदाता रहेको यो क्षेत्रमा दोस्रो संविधान सभाको निर्वाचनसम्म आइपुग्दा भरतमोहन अधिकारी, लालबाबु पण्डित, गोपी अछामी, लालबहादुर मगरले प्रतिनिधित्व गरिसकेका छन् । 

पथरीशनिश्चरे, बेलबारी, सुन्दरहरैँचा नगरपालिका साथै कानेपोखरी गाउँपालिकाका केही वडा गरी २६ वटा वडा रहेको यस क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले एक उपप्रमुखसहित ११, एमालेले चारवटै पालिकाका प्रमुख तथा अध्यक्ष र दुई उपप्रमुख र उपाध्यक्षसहित १४ वटा र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् । 

तर मतान्तर भने झिनो मात्र छ ।  चारवटै पालिकामा वडाध्यक्षहरूले प्राप्त गरेको मतमा एमाले ४३१ मतले मात्रै अगाडि देखिन्छ ।

गत स्थानीय निर्वाचनमा एमालेलाई ३७ हजार ४१०, कांग्रेसलाई ३६ हजार ९७९, माओवादीलाई ७ हजार ३७३, नेकपा (एकीकृत समाजवादी) लाई १ हजार ८५५, जनता समाजवादी पार्टीलाई ३८३ र राप्रपालाई २ हजार २२२ मत प्राप्त भएकोमा सत्तारुढ गठबन्धन एमालेभन्दा लगभग आठ हजार मतले अगाडि देखिन्छ । 

केही मत थापाले काटे पनि गठबन्धनका साझा उम्मेदवार डा. शर्माले बाजी मार्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ