arrow

बाँकेमा कडा प्रतिस्पर्धा, गठबन्धनबीच टक्कर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
banke-3-election-2079.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि तीन निर्वाचन क्षेत्र रहेको बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा बलियो चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। बाँके १ र बाँके ३ मा गठबन्धनका उम्मेदवारले बलियो संकेत गरे पनि बाँके २ मा भने प्रतिस्पर्धा निकै बलियो हुने देखिन्छ।

बाँके १
बाँके १ मा प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित एघार उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यद्यपि बलियो प्रतिस्पर्धा भने गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका महेश्‍वरजंग गहतराज (अथक) र नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकालबीच हुने देखिएको छ ।

बाँके १ मा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बलियो पकड रहेको छ । स्थानीय तह निर्वाचन २०७९ को नतिजा हेर्ने हो भने यहाँ नेपाली कांग्रेसले २८ हजार ६ सय १९ मत ल्याएको छ । यस्तै माओवादी केन्द्रले १७ हजार १ सय १० र नेकपा एकीकृत समाजवादीले ६ सय २३ मत ल्याएको छ ।

नेकपा एमालेले २५ हजार ३ सय १० र राप्रपाले ४ हजार ७ सय ८९ मत ल्याएको छ । यसरी मत परिणाम हेरे आंकलन गर्ने हो भने माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार महेश्वरजंग गहतराजको विजयी हुने सम्भावना बलियो रहने देखिन्छ । यसको ठीक विपरीत एमालेका उम्मेदवार सूर्यप्रसाद ढकाललाई जितका लागि चुनौती हुनेछ ।

यद्यपि थप ९ जना उम्मेदवार मैदानमा रहँदा प्रतिस्पर्धा भने बलियो हुनेछ ।

बाँके २
बाँके २ मा प्रतिनिधिसभा सदस्यको एक सिटका लागि १६ उम्मेदवार मैदानमा रहेका छन् । पाँच जना त स्वतन्त्र उम्मेदवार मात्रै छन् । बाँके २ मा बलियो र रोमाञ्चक चुनावी प्रतिस्र्धा रहने देखिएको छ । यो क्षेत्र पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. सुशील कोइरालाको चुनावी क्षेत्र हो ।

यहाँ गठबन्धनका लागि नेपाली कांग्रेसका सुदिपनरसिंह राणा चुनावी मैदानमा रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्वमन्त्री मोहम्मद इश्तियाक राई चुनावी मैदानमा छन् । 

राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वनगरप्रमुख डा धवलशम्शेर जंगबहादुर राणा चुनावी मैदानमा छन् । एमालेलाई यहाँ राप्रपाका उम्मेदवार राणालाई जिताउन चुनावी तालमेल गरेको छ । यसरी हेर्दा बाँके २ मा खासगरी त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने बाँके २ मा नेपाली कांग्रेसले १९ हजार ९ सय ६३ मत प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रसँग ८ हजार २ सय ४३ र नेकपा एकिकृत समाजवादीसँग ८ सय २१ मत रहेको छ । नेकपा एमालेसँग १५ हजार ५ सय ३६ मत रहँदा राप्रपासँग ८ हजार ५ सय ९४ मत रहेको छ । यस्तै जसपासँग १४ हजार ९ सय ९५ मत छ ।

मत हेर्दा कांग्रेस, माओवादी र एकिकृत समाजवादीका उम्मेदवार राणालाई प्रतिस्पर्धा केही सहज रहने देखिन्छ । यद्यपि, निकै प्रभावशाली रहेका राप्रपाका उम्मेदवार धवलशम्शेर राणालाई एमालेको साथ रहँदा उनीप्रति जितको दाबेदार छन् । 

जसपाको आफ्नै पनि बलियो पकड रहँदा जसपाका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इश्तियाक राई पनि विजयीका लागि मैदानमा छन् । यी तीनै वटै उम्मेदवारबीच बाँके २ मा बलियो भिडन्त देखिएको छ भने अहिले नै कसैको हार जितको निक्र्यौल गर्न गाह्रो स्थिती छ ।

बाँके ३ मा

बाँके ३ नौ जना उम्मेदावर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका किस्मतकुमार कक्षपति, गठबन्धनका लागि नेपाली काँग्रेसका किशोर सिंह राठोर र जनता समाजवादी पार्टी (जसपा) नेपालका नोयन्द्र धिताल रहेका छन् ।

स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने बाँके ३ मा कांग्रेसका राठोरलाई जित सहज हुने देखिन्छ । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले यस क्षेत्रबाट २३ हजार ७ सय ६३ मत ल्याएको छ । माओवादी केन्द्रसँग १३ हजार ४ सय ३४ र नेकपा एकीकृत समाजवादीसँग २ हजार ३ सय ४८ मत रहेको छ ।

यस्तै नेकपा एमालेले २२ हजार १ सय १, राप्रपाले ४ हजार ५ सय ४१ र जसपाले ३ हजार १३ मत प्राप्त गरेको छ ।

यसरी हेर्दा माओवादी र नेपाली कांग्रेसको बलियो मताधारले किशोर सिंह राठोरलाई जितका लागि सहज हुने देखिएको छ । एमालेका किस्मत कुमार कक्षपति पनि दलगत बलियो मतभारसहित बलियो प्रतिस्पर्धामा रहने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ