arrow

नारा समावेशी र समानुपातिक

उपेन्द्रको मधेस सरकारमा दलित र थारु शून्य

मधेस आन्दोलनमा ११ जना दलितको निधन तर सरकारमा छैनन् दलित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
upendra-yadav-jasapa.jpg

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समावेशी र समानुपातिक प्रतिनिधित्वको नारा देखाउनका लागि मात्रै हो भन्ने उदाहारण उनले बनाएको मधेस सरकारलाई हेरे पुग्छ । 

मधेस प्रदेश सरकारको नेतृत्व विगत ५ वर्षदेखि जसपाले गर्दै आएको छ । जसपाका अध्यक्ष यादवको निर्देशनमा मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार गठन गरेका छन् । 

यादवकै निर्देशनमा राउतले बेला बेलामा मधेस सरकारलाई पुनर्गठन गर्ने गरेका छन् । तर मधेस सरकार गठन भएदेखि अहिलेसम्म जति पटक मन्त्रिमण्डल पुनर्गठन गरे पनि यादवले मधेस सरकारमा एक जना पनि दलित र थारुको प्रतिनिधित्व गराएका छैनन् ।

जबकि केन्द्रीय तथ्यांकको विवरणअनुसार मधेसमा दलित समुदाय १६ दशमलब २५ प्रतिशत बस्ने गर्छन् । यति मात्र होइन विगतमा भएका दुई वटा ठूला मधेस आन्दोलनमा दलित सुमदायका ११ जनाको निधन भएको छ । धेरै जना अंगभंग भएका छन् । तर मधेस सरकारमा दलितले बगाएको रगत खेर गए सरह भएको छ ।   

यसैगरी मधेस सरकारमा यादवले थारु समुदायबाट पनि एक जनाको प्रतिनिधित्व गराएका छैनन् । मधेस प्रदेश सभामा ३२ जना महिला सांसद छन् तर मन्त्रिपरिषद्को बैठकमा सहभागी हुने गरी एक जना महिलालाई पनि सरकारमा ल्याएका छैनन् । 

उपेन्द्र गैर समुदायप्रति यति नकारात्मक छन् भन्ने पुष्टि यी तथ्य हेरे पुग्छ । मधेसमा २८ प्रतिशत पहाडी समुदायको उपस्थिति छ तर यादवले मधेस सरकारमा एक जना पनि पहाडी समुदायको प्रतिनिधित्व गराएका छैनन् । 

यादवले पार्टीभित्र ‘यादववाद’ यसरी लागु गरेका छन् कि उनले यादव बाहेक अन्य समुदायलाई सकेसम्म अवसर दिन्नन् । 

केन्द्रीय सरकारमा पनि यादवले यादव बाहेक अरुलाई अवसर दिने गर्दैनन् । केन्द्रमा सरकारमा जसपाले शुरुमा सहभागी गराएको ४ जना मन्त्रीमध्ये ३ जना यादव समुदायकै थिए । रामसहाय यादव, महेन्द्र यादव र रेणु यादवलाई सरकारमा पठाए । दोश्रो पटक मृगेन्द्रसिंह यादव र प्रदीप यादवलाई सरकारमा पठाए ।  

यसपटक जसपाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारी दिएका अधिकांश नेता यादव समुदायकै छन् । जसपाको प्रभाव भएको ठाउँमा छानेरै यादवलाई उम्मेदवार दिन लगाइएको छ भने जसपाको प्रभाव कम भएको अथवा जसपाले जित्न नसक्ने ठाउँमा भने गैर यादवलाई उम्मेदवार बनाइएको छ । 

अध्यक्ष यादवले आफैं सप्तरी २ मा उम्मेदवारी दिएका छन् । सप्तरी ४ मा बालकिशोर यादव तथा सिराहा २ मा राजकिशोर यादवले उम्मेदवारी दिएका छन् । 

यसैगरी धनुषा २ मा गंगाराम यादव तथा महाजन यादवले उम्मेदवारी दिएका छन् । यसैगरी महोत्तरी ३मा हरिनारायण यादव, महोत्तरी ४ मा डा. सुरेन्द्र यादव, बारा २ मा रामसहाय यादव, बारा ३ मा रामबाबु यादव, तथा पर्सा १ मा प्रदीप यादवले उम्मेदवारी दिएका छन् । 

मधेस प्रदेशमा जसपाले १७ सिटमा उम्मेदवारी दिएको छ । त्यसमध्ये १० जना नेता यादव समुदायकै छन् ।

यसैगरी मधेस प्रदेश सभामा पनि अधिकांश उम्मेदवार यादव समुदायकै छन् । मधेस प्रदेशमा मात्र जसपाका यादव समुदायबाट सुगम्बर यादव, लक्ष्मण यादव, विन्देश्वर यादव, अभिषेक यादव, विजय यादव, रेणु यादव, सुकेश्वर यादव, शैलेन्द्र यादव, जितेन्द्र यादव, ज्ञानेन्द्र यादव, अशोक यादव, संजय यादब, रामकिशोर यादव, सरोज यादव, रामनरेश यादवले उम्मेदवारी दिएका छन् । 

२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभामा पनि उपेन्द्रले यादव समुदायकै व्यक्तिलाई अवसर दिएका थिए ।  

मधेस सरकारमा अहिले पनि यादव समुदायकै मन्त्रीको बाहुल्यता छ ।  

२०७४ को प्रतिनिधि सभाका तत्कालीन संघीय समाजवादी पार्टीका  १६ सांसदमध्ये ८ सांसद यादव समुदायकै थिए । 

यसैगरी मधेस प्रदेशमा जसपाका २९ सांसद मध्ये १५ सांसद यादव समुदायकै थिए ।  

राष्ट्रिय सभामा पनि यादव समुदायबाटै प्रतिनिधित्व गराइएको छ । उपेन्द्रले राष्ट्रिय सभामा मृगेन्द्र सिंह यादवलाई पठाएका छन् ।  

२०७४ को प्रतिनिधि सभामा जसपाबाट यादव समुदायका उपेन्द्र यादव, रेणु यादव, रामसाह यादव, सुरेन्द्र यादव, सुर्यनारायण यादव, रामबाबु यादव  र प्रदीप यादव संसदमा उपस्थित थिए ।  

यसैगरी मधेस प्रदेश सभामा यादव समुदायबाट अभिषेक यादव, विजय यादव, सैलेन्द्रकुमार यादव, रामआशिष यादव, ज्ञानेन्द्र यादव, कौशल यादव, अशोक यादव संसदमा उपस्थित थिए ।  

यसैगरी संजय यादव, योगेन्द्र यादव, रामकिशोर यादव, उषा यादव, उपमा कुमारी यादव, भिमा यादव र किरणकुमारी राय यादवले पनि यादव समुदायको प्रतिनिधित्व गर्दै प्रदेश सभामा गएका थिए । 
  
राज्यको सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वको माग जसपाले राख्दै आएको छ । यसको लागि उपेन्द्र यादवले पटक पटक आन्दोलन गरेका छन् । 

उपेन्द्र यादवले समानुपातिक र समावेशी सिद्धान्तलाई पटक पटक उठाउने गरेका छन् । तर आफ्नै पार्टीभित्र समानुपातिक समावेशीको सिद्धान्तलाई भने पूरै लत्याएका छन् । 

मधेस प्रदेश सरकारमा उनले एक जना पनि दलित र थारु समुदायको प्रतिनिधित्व गराएनन् । यादवलाई मात्रै प्राथमिकतामा राखे ।  

पार्टीका महत्वपूर्ण पदमा उपेन्द्रले यादव समुदायकै प्रतिनिधित्व गराउने गरेका छन् । यसैगरी जसपाका विभिन्न भ्रातृ संगठनको पदाधिकारीहरुमासमेत छानेर यादव समुदायकै नियुक्त गर्ने गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ