arrow

हार्न नजानेका नेता बालकृष्ण खाँण

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
balkrishna-khand-all-in-one.jpg

रुपन्देही । नेपाली राजनीतिमा फरक स्वभाव भएका नेता मध्येका उदाहरण हुन् गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रुपन्देहीका पुराना एवं पाका नेता बालकृष्ण खाँण । यिनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायीबासी हुन् । उच्च शिक्षा अध्ययन गर्दा २०३७ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सभापति बन्न पुगेका नेता खाँणको राजनीतिक करिअर तीव्र रुपमा अगाडि बढेको पाइन्छ ।

बाल्यकालदेखि नै सरल र निडर स्वभावका उनी इमान्दार छविका रुपमा चिनिन्छन् । ०३९ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका केन्द्रीय सदस्य भएका खाँणले विद्यार्थी जीवनलाई राजनीतिक यात्रासँगै डोहाेर्याएर अघि बढाए । राजनीतिलाई क्रमिक रुपमा कसिलो बनाउँदै गएका उनी ०४१ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको उपसभापतिसमेत बन्न पुगे । सोही वर्ष नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको सभापति बने ।

राजनीतिमा आफ्ना कदमलाई अगाडि बढाउने क्रममा ०४८ सालको प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएसँगै उनको संसद यात्राकाे थालनी भयो । विद्यार्थी राजनीतिलाई सम्हाल्दै अध्ययन पनि गर्दै गएका उनी देश, जनताको रक्षा, भूगोलको विकास लगायतका विषयलाई संरक्षण गर्ने संविधान बनाउने ठाउँमा पुगे र संसदीय अभ्यासको अनुभव संगाले ।

नेपाली कांग्रेस पार्टीको रक्षाका लागि भ्रातृ संगठनको निकै महत्वपूर्ण भूमिका हुने भएकाले ०५४ सालमा नेपाल तरुण दलको सभापति बने नेता खाँण । जसले तरुण दललाई मजबुत बनाएर पार्टीको संगठनलाई एकढिक्का भएर सञ्चालन गर्नेमा सफल मानिन्छन् ।

पहिलो कार्यकाल सकाएर थप राजनीतिक बिरुवालाई बढाउँदै गएका उनलाई पुनः दोस्रो कार्यकाल ०५८ मा प्राप्त भयो । जिम्मेवारीलाई नैतिक निष्ठा पूर्वक निर्बाह गरेर एक सच्चा राजनीतिज्ञको छवि बनाए । 

०५६ सालमा नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्य, पार्टीको संगठन विभाग संयोजक हुँदै राजनीतिक यात्रा उच्च स्थानमा पुग्यो । ०६१ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री भए । ०६४ को संविधान सभामा रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित भए । छोटो समयमै नेता खाँणको राजनीतिक गोरेटो निकै माथिल्लो स्तरसम्म पुग्यो । ०६६ सालमा उनी सिँचाई मन्त्री बने ।

दोस्रो संविधानसभा ०७० मा रुपन्देहीको क्षेत्र नं ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भए । ०७२ मा रक्षा मन्त्री, ०७४ सालमा संघीय सांसद, ०७४ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चुनिए । हाल उनी पार्टीका जिम्मेवार नेताको रुपमा परिचित छन् । गृहमन्त्री छन् ।

जिल्ला र केन्द्रमा आफ्नो राजनीतिक यात्रालाई विश्वासिलो लयमा लगेका कारण निर्वाचन क्षेत्रका मतदाताको मनमा जनप्रेमी बन्दै गए । तरुण दललाई जोगाएर राख्नेमा उनलाई खम्बाको “उपमा“ दिने गरिन्छ ।

कठिन संघर्ष

यहाँसम्म आईपुग्दा गृहमन्त्री खाँणको राजनीतिक यात्रा भने सजिलो रहेन । राजनीतिमा “होलटाइमर“ बनेका उनी पटकपटक जेलमा परे । ०३६–०३७ देखि ०४६ सालसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि विद्यार्थी राजनीतिको अगुवाइ गर्दै रुपन्देही, पाल्पा, स्याङ्जा, कास्की, चितवन, काठमाडाैं, ललितपुर, नुवाकोटका प्रहरी कष्टडीमा पटकपटक जेलमा परेर कठोर जीवन बिताए ।

०४२ सालमा नेपाली कांग्रेसको आह्वानमा सत्याग्रह आन्दोलनका क्रममा भद्रगोल जेलमा ९ महिना भन्दा बढी पुनः जेल जीवन बिताउनु परेको तितो अनुभव उनीसँग छ । राजनीतिको उत्कर्षमा पुगिसकेका नेता खाँण प्रहरीको धरपकड मात्रै नभई जेलमा पर्दासमेत राजनीति गर्नबाट पछि हटेनन् ।

फलस्वरुपः उनको राजनीतिक यात्रा आगामी दिनमा देशको कार्यकारी बन्ने हैसियतमा पुर्याए । ०४५ सालमा नेविसंघको अगुवाइमा त्रिभुवन विश्वविद्यालयको भीसी कार्यालयमा धर्ना दिने क्रममा पक्राउ परेका उनले भद्रपुर जेलमा ३ महिमा बिताए । ०६१ सालमा राजा ज्ञानेन्द्र शाहले सत्ता कब्जा गर्दा राज्यद्वारा ३ महिना भन्दा बढी जेल, ०६२–६३ सालको जनआन्दोलनको क्रममा प्रहरी कष्टडीमा रहने क्रममा केही दिन जेलका अन्धकार दिनसँग संघर्ष गरेका नेता खाँण जिल्लाको विकासका लागि प्रभावशाली मानिन्छन् ।

जिल्लामा  विकासे नेताकाे पहिचान

जिल्लामा ठूला विकास आयोजना ल्याउनेमा उनको ठूलो योगदान छ । बेलहिया–बुटवल ब्यापारीक मार्ग, गौतमबुद्ध  अन्तर्राष्ट्रिय विमानस्थल, मणिग्राम–देवदह बुद्धसर्किट निर्माण गरी बीचका बस्तीहरुलाई सडक र सवारी सञ्चालनसँग जोडेको त्यहाँका स्थानीयहरु बताउँछन् ।

देवदह–मणिग्राम–लुम्बिनी–तिलौराकोट–गोरुसिंहे, बेलवास–बेथरी, तामनगर–फर्साटिकर हुँदै बेथरी–मर्चवार सडक, भैरहवादेखि पश्चिम नवलपरासीको भुमही, केदली– सिसुवा, मुर्गिया–सुर्यपुरा, देवदह –मणिग्राम–फर्साटिकर–सुर्यपुरा–लुम्बिनी, छपिया–बेथरी सडक निर्माण एवं स्तरोन्नति गर्ने काममा पनि खाँणकै पहलकदमी भएको स्थानीयबासीले बताए । 

दृढ स्वभाव 

कठोर चुनौतीको समाना गर्दै आफ्नो जिम्मेवारी कुशलपूर्वक निर्वाह गर्ने उनमा विशिष्ट खालको क्षमता रहेको छ । त्यही क्षमताका कारण उनको केन्द्रीय राजनीतिमा दरिलो उपस्थिति देखिन्छ । दृढ स्वभावका उनले आफ्नो विशिष्ट क्षमता देश विकासमासमेत देखाउँदै आएका छन् ।

राज्यसत्ताको जिम्मेवारी पाउँदा पनि विवादरहित रुपमा काम गरेको सर्वविदितै छ । विकासलाई प्राथमिकतामा राखेका नेता खाँणले आफ्नो गृहजिल्ला रुपन्देहीमा धेरै विकासका योजनाहरुसमेत ल्याएको देखाएका छन् । 

जिल्लाको समग्र विकासको क्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सिँचाई जस्ता क्षेत्रमा उल्लेख्य योजना पारेर उनले विकासप्रेमी नेताको छवि बनाएका छन् ।

तिनाउ–दानवमा जनताको तटबन्धन, पुल निर्माण, बुटवलको पुरानो सिँचाई कुलो सोह्र छत्तीस सिचाई प्रणाली निर्माणमा  उनैको नाम आउँछ । सघंसस्था, मठमन्दिर, मस्जिद निर्माणमा पनि सहयोग गरेको महोम्मद अलीले बताए ।

सामुदायिक भवनदेखि विद्यालय भवन निर्माणमा पनि उत्तिकै सहयोग गरेकाले राजनीतिक क्षेत्रको संसदीय अभ्यासमा पटकपटक निर्वाचनमा भिडेका नेता खाँणले हालम्म निर्वाचनामा पराजय भोग्नु परेको छैन । 

त्यसैले छन् चुनाव जित्नेमा ढुक्क
सबैभन्दा ठूलो सफलता नै विश्वास हो । उनले अहिलेसम्म कुनै पनि चुनाव हारेका छैनन् । त्यसैले पनि खाँण ढुक्क छन् । गृहमन्त्री भएकै कारण बालकृष्ण खाँणको चुनावी क्षेत्र चर्चामा रहेको छ । नेकपा एमालेले घनश्याम भुषालको टिकट खोसेर राप्रपाका दीपक बोहोरालाई समर्थन गरेका कारण रुपन्देही– ३ चर्चामा छ । 

एमालेले टिकट नदिएपछि अहिले स्वतन्त्रबाट रुपन्देही– १ मा उम्मेदवार बनेका भुषालले आफूलाई टिकटबाट वञ्चित गर्नकै लागि बोहोरालाई समर्थन गरिएको आरोप लगाउँदै आएका छन् ।
 
एमालेले राप्रपाका लागि छाडेका– ३ सीट मध्ये रुपन्देही ३ पनि एक हो जहाँ गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता खाँण उम्मेदवार छन् । देशको शान्ति सुरक्षाको जिम्मा पाएको कमाण्डरसँग पूर्वपञ्चको पार्टीका नेताको चुनावी प्रतिस्पर्धाका कारण रुपन्देही– ३ चर्चामा आएको हो ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा दीपक बोहोराका लागि बालकृष्णले सिट छाडेका थिए । अहिले तिनै बोहोरा एमालेको समर्थनमा मैदानमा छन् । 

त्यतिबेला कांग्रेसको समर्थन प्राप्त गरेका बोहोरालाई पराजित गरेर तत्कालीन एमालेका उम्मेदवार घनश्याम भुषाल विजयी भएका थिए । 

भुषाल ३२ हजार ८ सय ६६ मत पाएर विजयी हुँदा राप्रपाका बोहराले २७ हजार ४ सय २२ मत पाएका थिए । 

२०७० सालको संविधान सभा निर्वाचनमा बोहोरा राप्रपाबाट विजयी भएका थिए । गत स्थानीय तहको वडागत मतका आधारमा कांग्रेस अग्रस्थानमा छ भने दोस्रोमा एमाले र तेस्रोमा राप्रपा छ । 

एमालेको पूरै मत राप्रपालाई गयो भने रुपन्देही– ३ मा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तह निर्वाचनको वडा तहमा नेपाली कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८ र राप्रपाले १३ हजार ३९७ मत प्राप्त गरेका थिए । 

यस्तै जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत प्राप्त गरेका थिए । 

गृहमन्त्रीले विरलै हार्ने नेपाली इतिहास छ । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला पराजित भएबाहेक गृहमन्त्रीले चुनाव हारेका छैनन् । 

खाँणको प्रभाव बढी भएका कारण पनि उनले सहज जित हासिल गर्ने देखिन्छ । त्यस्तै पाँच दलीय गठबन्धन भएका कारण पनि खाँण ढुक्क छन् । 

अर्कातिर उनको राजनीतिक कर्म पनि कहिल्यै हार्ने खालको नभएका कारण खाँण ढुक्क छन् । उनी अपराजित मिसाल हुन् भन्दा फरक पर्दैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ