arrow

स्थलगत रिपोर्ट

निर्वाचन आयोगले मतदाता शिक्षा नदिँदा मतदाता अलमलमा, उम्मेदवारलाई चुनावकै रन्को !

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
matadata1.jpg

रुपन्देही । जनताले आफ्ना जनप्रतिनिधि चुन्ने दिन आउन अब  चार दिनमात्र बाँकी छ । चुनाव नजिकिदै गर्दा यसअघि तामझामका साथ घरदैलो गर्ने प्रचलन थियो । तर अहिले पहिलेको जस्तो चुनावी माहोल देखिएको छैन । निर्वाचन आयोगले तामझाम गरेर प्रचारप्रसारलाई निगरानीमा राख्दै साउण्ड सिस्टम, माइकिङ्ग, डिजिटल बोर्ड, पर्चा, भित्ते लेखन जस्ता कार्य नगर्न आचारसंहिता लागू गरेपछि दलहरुले भेटघाट तथा साना कार्यक्रम गरेर चुनावी कार्यक्रमलाई रफ्तारमा लगेका छन् । 

यो अवस्था हो रुपन्देहीको । हामीले गरेको स्थलगत रिपोर्टमा दलका नेता कार्यकर्ताहरुलाई चुनावी माहोल तातेकाे भए पनि मतदाताहरु भने अन्यौलमा भएको पाइयो । आगामी मंसिर ४ को निर्वाचनमा चार वटा मतपत्रमा भोट दिनुपर्ने भएकाले ४ वटा पतपत्रमा कसरी मतदान गर्ने, कसरी गर्दा सदर हुन्छ या बदर भन्ने शिक्षा नभएको पाइएको हो ।

बुटवल उपमहानगरपालिका वडा–१४ का चन्द्रबहादुर थापा उमेरले ५८ वर्षका भए । उनले आफूले रोजेको उम्मेदवारलाई भोट हाल्ने इच्छा भएको बताउँदै अहिलेसम्मको चुनावमा एक वा धेरै पतपत्रमा भोट नहालेकाले आफूले मन पराएको व्यक्ति एवं पार्टीलाई कसरी मत दिने होला भन्ने चिन्ता व्यक्त गरे । 

उनले भने, 'जिल्लाका छुट्टाछुट्टै क्षेत्रहरुमा गठबन्धनमा रहेका दलका नेताहरुले आ–आफ्नो चुनाव चिन्ह लिएर उठेकाले कुन उम्मेदवारलाई कुन चिन्हमा स्वस्तिक छाप लगाउने जस्ता मतदाता शिक्षाबाट बञ्चित भएकाले अन्योल भएको छ ।'

उनले बुटवलको सुकुम्बासी समस्या, तिनाउ नदीबाट बर्सेनि बस्ती कटान जस्ता समस्या हल गर्न आग्रह गरे । बुटवल उपमहानगर वडा–१७ का हिमलाल न्यौपाने भारतमा १२ वर्ष बसे । उनी नेपाल बस्न थालेको २ वर्ष भएको बताए ।

रोजगारका लागि लामोसमय भारतमा काम गर्नुपरेको भन्दै न्यौपानेले देशमा रोजगारका लागि भोट दिएर पठाएका नेताहरुले उद्योग कलकारखानाको स्थापना गरी स्वदेशमै रोजगारी दिनुपर्नेमा जोड दिए । मतदान सम्बन्धी उनले पुरानै तरिकामा दिने बताए । तर उनलाई मंसिर ४ को चुनावमा चार वटा मतपत्रमा भोट दिनुपर्ने थाहा छैन । निर्वाचित भएर जाने नेताहरुले संविधानमा लेखिएको शिक्षा र स्वास्थ्यलाई निः शुल्क दिने अक्षरसलाई लागू गर्न आग्रह गरे ।

बुटवल–१८ का जनक धितालले पनि साक्षर युवायुवती लगायत अन्य उमेरका नागरिक विदेश तिर गएको, गाउँघरमा धेरैजसो निरक्षर भएको बताउँदै त्यसमा दलका नेताहरुले मतदाता शिक्षा भन्दा पनि भोट माग्न आतुर हुँदै हिँडेको बताए । नेताहरुलाई साक्षर बर्गको भोट भन्दा निरक्षर विपन्न बर्गको भोट निर्णायक बन्ने भएकाले ती बस्तीहरुमा मतदाता शिक्षा शून्य भएकाले मत बदर हुनसक्ने स्पष्ट पारे ।

उम्मेदवारहरुलाई उनले बुटवल –१८ मा खेतीयोग्य जमीन रहेकाे र खेती गर्नका लागि किसानहरुले बुटवल–३ गोलपार्क नजिक तिनाउ नदीबाट अस्थायी बाँध बाँधेर पानी ल्याउनुपर्ने बाध्यता रहेकाे सुनाए ।

हरेक वर्ष बाँध बाँध्नुपर्ने र ठूलो वर्षा भएपछि बाढीले बगाइदिन्छ। कहिले खेती गर्न, कहिले बालीहरुमा सिँचाई गर्नबाट किसानहरु मर्कामा पर्ने भएकाले पक्की नहरको आवश्यक रहेको आवश्यकता सुनाए । उनले उत्पादनमा जोड दिनका लागि किसानहरुलाई सिँचाई गर्न डिप बोरिङको व्यवस्था गर्न सके स्थानीय उत्पादनमा कमि नआउने अपेक्षा गरे ।

भूमिराज पन्त सियारी गाउँपालिका वडा–७ का स्थायीबासी हुन् । उनी उमेरले ७० वर्ष पुगे । निर्वाचन बारेको कुराकानीमा उनले उम्मेदवारहरु गाउँठाउँका चोकमा भेला गराएर निर्वाचन सम्बन्धी कार्यक्रम गर्दै हिँडेको जनाउँदै मतदान कसरी गर्नेबारे सिकाउन ध्यान नदिएको बताए ।

मतदातालाई मतदान सम्बन्धी ज्ञान जरुरी रहेको भन्दै निर्वाचन आयोग पनि जिम्मेवार बन्नुपर्ने सुझाए । रोजगारी, सिँचाई, किसानलाई वर्षायाममा मललगायत कुरामा निर्वाचित भएर जाने नेताले कुनै पहल नगर्ने, चुनावका बेला भोट माग्न सबैभन्दा धेरै त्यही किसानका घरमा  पुग्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने औंल्याए । 

सिद्धार्थनगर नगरपालिका वडा–६ गल्लामन्डीका विनय गुप्ताले जनताले चुनेर पठाएका नेताले जनतामुखी योजना ल्याएर विकास गर्नुपर्ने र विशेषगरी देशको अर्थतन्त्रलाई चलायमान गराएर उद्योगी व्यवसायीहरुलाई सहज बनाइदिन अपील गरे । पछिल्लो समय देशको अर्थतन्त्रमा तरलता छाएकाले धेरै उद्योगी व्यवसायीहरु धरासायी एवं केही व्यवसायीहरुले आत्महत्या गरेको घटना सुनाउँदै नागरिकका सबालमा ध्यानाकर्षण गराए । 

सोही वडाकै महोम्मद अलीले पनि देश र जनताको वृद्धि विकास गर्नुपर्ने उल्लेख गर्दै मतदान सम्बन्धी ज्ञान कुनै दल तथा निर्वाचन आयोग कसैले पनि नदिएको गुनासो गरे ।

निर्वाचनमा यसपालि प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ, प्रतिनिधि सभाको समानुपातिक, प्रदेश सभा सदस्य पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीमा र प्रदेश सभा सदस्यको समानुपातिक प्रणालीमा भोट दिनुपर्ने र गठबन्धन गरिएका दलका नेताहरु क्षेत्र अनुसार पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएकाले नागरिकहरु अलमलमा परेको बुझिएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा नागरिकलाई सहजरुपमा मतदान गर्नका लागि रुपन्देहीमा २ सय १३ मतदान स्थल, ७ सय ६ बुथ केन्द्र तोकिएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्ण कोइरालाले बताए ।

चुनावलाई भयरहित गराउन जिल्लामा १ हजार ७ सय जनपथ प्रहरी, सशस्त्र प्रहरी ८ सय ८८, म्यादी प्रहरी १ हजार ३ सय ९५, ८ हजारभन्दा बढी कर्मचारी र सेनालाई आवश्यकता अनुसार परिचालन गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ