arrow

तेस्रो पटक शेरधनले के गर्लान् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
sherdhan-rai-1.jpg

भोजपुर । आगामी मङसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुरमा लोकतान्त्रिक–वाम गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

यहाँ प्रतिनिधिसभा सदस्यमा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती चुनावी मैदानमा होमिनुभएको छ । 

यो निर्वाचन शेरधन र सुदन बीचको तेस्रो प्रतिस्पर्धा हो । विसं २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा शेरधनलाई पराजित गर्दै किराँती विजयी बनेका थिए । त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा किराँतीलाई पराजित गर्दै राईले जीत हासिल गरेका थिए । 

विसं २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट किराँती प्रतिनिधिसभामा र राई भोजपुर प्रदेशसभा (२) सदस्यमा विजयी बनेका थिए । यो निर्वाचनमा भने सुदन र शेरधन बीच नै पुनः प्रतिनिधिसभा सदस्यमा भिडन्त भइरहेको छ ।

दुवै उम्मेदवारले जीत आफ्नो हुने दावी गरिरहेका छन् । यसअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई आधार मान्दा एमालेको जिल्लामा सबैभन्दा बढी मत देखिन्छ । तर गठबन्धनका दलहरूको सम्पूर्ण मतलाई जोड्दा भने एमाले दोस्रो स्थानमा रहेको छ । 

स्थानीय तह निर्वाचनमा एमालेले २७ हजार छ सय ५६, नेपाली काङग्रेसले २३ हजार पाँच सय ९९ नेकपा (माओवादी केन्द्र) ले १४ हजार सात सय ६१ र नेकपा (एकीकृत समाजवादी) ले एक हजार नौ सय छ मत पाएको देखिन्छ । 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा लोकतान्त्रिक–वाम गठबन्धनको ४० हजार दुई सय ६६ मत छ । एमालेको २७ हजार छ सय ५६ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेशसभा (१) मा एमालेका तर्फबाट हरिबहादुर राई र गठबन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा (२) मा एमालेबाट प्रेम कार्की र गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार विनोद वान्तावा चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्यमा पनि एमाले र गठबन्धन बीच नै प्रतिस्पर्धा हुने देखिएको छ । 

यहाँका ८१ वटा वडामध्ये प्रदेशसभा (१) मा ४० र प्रदेशसभा (२) मा ४१ वडा परेका छन् । जिल्लामा कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेका छन् । प्रदेश सभा (१) मा ६४ हजार दुई सय ३७ र प्रदेशसभा (२) मा ६९ हजार एक सय ४३ मतदाता छन् । 

निर्वाचनलाई लक्षित गरेर चार सय ५८ नेपाल प्रहरी, नौ सय १० म्यादी प्रहरी र आवश्यकताअनुसार शसस्त्र र नेपाली सेना परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । जिल्लामा सतासी वटा मतदान स्थल कायम गरिएको छ । यहाँ दुई अस्थायीसहित एक सय ५५ वटा मतदान केन्द्र रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ