arrow

सुशील कोइरालाले जितेको बाँके २ मा सुदीपनरसिंहको मोहम्मद र धवलशम्सेरसँग टक्कर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
banke-2.jpg

काठमाडौं । बाँके २ यसकारण पनि महत्त्वपूर्ण क्षेत्र हो जहाँबाट निर्वाचित भएर प्रधानमन्त्री बने कांग्रेस सभापति सुशील कोइराला। यसैले पनि यस क्षेत्रलाई महत्त्वका साथ हेरिएको छ। यस पटक यस क्षेत्रबाट गठबन्धनले कांग्रेसका सुदीपनरसिंह राणालाई उम्मेदवार बनाएको छ। उनका प्रतिस्पर्धी छन् जसपाबाट पूर्व मन्त्री मोहम्मद इस्तियाक राई। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले डा. धवलशम्सेर राणालाई मैदानमा उतारेको छ।

राजनीतिमा राणा पुरानै अनुहार हुन्। विगत ३८ वर्षदेखि उनी कांग्रेसमा सक्रिय छन्। गत स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने पनि राणा बलिया देखिन्छन्। यद्यपि नेपालगन्जका पूर्व मेयर धवलशम्शेर र पूर्व मन्त्री इस्तियाकको उम्मेदवारीले यहाँको भिडन्त रोचक हुने देखिन्छ।

इस्तियाक र धवलसँग टक्कर
यसअघि दुई पटक निर्वाचित भइसकेका जसपाका इस्तियाक राई राणाको प्रतिस्पर्धामा छन्। त्यसैले यस पटक कडा टक्कर पर्ने बताइन्छ। यद्यपि राईलाई आफ्नै परिवारको साथ छैन। राई विरुद्ध उनका काकाका छोरा समशुल राईले स्वतन्त्र र जसपाकै नेता बाबु खाँ पठानले विद्रोह गरी जनमत पार्टीबाट उम्मेदवारी दिएका छन्। यसैगरी एमालेले यहाँ राप्रपासँग तालमेल गरेको छ। नेपालगञ्जका पूर्व मेयर धवलशम्शेर चर्चित नेता हुन्। यद्यपि त्रिपक्षीय भिडन्तले कांग्रेसका राणालाई सहज हुने बताइएको छ। 

यस क्षेत्रमा रहेका अधुरा कामहरू पुरा गर्न आफूलाई जिताउनुपर्ने कांग्रेसका राणा बताउँछन्। ’कांग्रेसका लागि सङ्घर्ष गरेका व्यक्ति भएकोले नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्दछु,’ राणाले भनेका छन् ‘विपीले देखेका सपना अझै पुरा भएका छैनन्, ती अधुरा सपना पुरा गर्न हामी आएका छौं।’ आफू निर्वाचित भएमा सबैलाई न्याय हुने गरी काम गर्नेसमेत उनले बताए।

कस्तो छ इतिहास?
२०७४ को निर्वाचनमा राईले वाम गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए। त्यति बेला कांग्रेस र राप्रपा गठबन्धनबाट ओमप्रकाश आजाद र एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार रहेका थिए। यस पटक कांग्रेसका उम्मेदवार राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ। यस्तै एमालेले राप्रपाका महामन्त्री डा. राणालाई साथ दिने भएको छ। 

यहाँ गठबन्धनबाट प्रदेश क मा राजकुमार वर्मा र प्रदेश सभा–२ ’ख’ मा लुम्बिनी प्रदेशका वन मन्त्रीसमेत रहेका कांग्रेस नेता सुरेन्द्र हमाल उम्मेदवार भएका छन्।

स्थानीय निर्वाचनको समीकरण
स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा काँग्रेसले सबैभन्दा बढी मत ल्याएर पाएको थियो। नेपालगन्जको वडा नम्बर १६ र १७ बाहेक बाँकी २१ वटा वडा क्षेत्र नम्बर–२ मा पर्छन्, भने डुडुवाका सबै ६ वटा वडा क्षेत्र नम्बर –२ मा पर्छन्। 

वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको १८ हजार ३७ मत रहेको छ। यसैगरी एमालेको १५ हजार ४ सय ७८, जनता समाजवादी पार्टी (जसपा) को १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ। यस्तै नेकपा (माओवादी केन्द्र) को ६ हजार ८ सय ५९, नेकपा (एकीकृत समाजवादी) को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ। 

सङ्कल्प शैक्षिक हब बनाउने
सोमवार मात्र गठबन्धनका उम्मेदवारले संकल्पपत्र सार्वजनिक गरेको छ। सङ्कल्पमा राणासहित प्रदेश क र ख का उम्मेदवारले यस क्षेत्रलाई शैक्षिक हब बनाउने प्रतिबद्धता जनाएका छन्। नेपालगन्ज उपमहानगरपालिका र डुडवा गाउँपालिका क्षेत्रलाई शैक्षिक हब बनाउने सङ्कल्प गठबन्धनले गरेको छ।

नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नति गर्न विशेष जोड दिइएको छ सङ्कल्प पत्रमा। क्याम्पसलाई नेपालगन्ज विश्व विद्यालयका रूपमा स्तरोन्नति गर्दै डिजिटल प्रणालीमा लैजाने उल्लेख गरिएको छ। 

त्यस्तै मङ्गल प्रसाद कन्या क्याम्पसका छात्राहरूलाई उपयोगी नवीन विषयमा अध्ययनका लागि प्रोत्साहित गर्ने संकल्पपत्रमा उल्लेख छ। प्राविधिक उच्च शिक्षालाई प्राथमिकता दिँदै भेरी प्राविधिक शिक्षालयलाई प्रतिष्ठानको रूपमा विकास गर्ने, डुडुवा गाउँपालिकामा उच्च शिक्षाका लागि क्याम्पस स्थापनादेखि प्राविधिक धारका विषय अध्यापन गर्ने, छात्राहरूका लागि पुस्तक तथा छात्रवृत्तिको व्यवस्था, नैतिक शिक्षाका लागि संस्कृत, उर्दु र अवधि भाषालाई प्रोत्साहन गर्ने सङ्कल्प गरिएको छ। 

भेरी अस्पताललाई मेडिकल कलेजका रूपमा रूपान्तर गर्ने, स्वास्थ्य बिमालाई सरल र सुलभ बनाउने, प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँच, डुडुवा क्षेत्रमा निःशुल्क प्रयोगशाला, एम्बुलेन्स, ज्येष्ठ नागरिक उपचार, पशु पालक किसानलाई निःशुल्क पशु उपचार, बिमा तथा सम्पूर्ण नागरिकलाई सबै किसिमका औषधी निःशुल्क उपलब्ध गराउने कार्यक्रम ल्याउने कांग्रेसले सङ्कल्प गरेको छ। 

कृषि, खानेपानी, पर्यटनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ। स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, टोल बस्तीमा सडक विस्तारका विषय पनि सङ्कल्पमा समेटिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ