arrow

रुपन्देहीमा यस्तो हुँदैछ भेट्रान भिडन्त

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर १ बिहिबार
rupendehi-candiates-2079.jpg

रुपन्देही । आसन्न निर्वाचन नजिकिएसँगै रुपन्देहीको प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्न भिडेका दलका उम्मेदवारहरुको विभिन्न आँकलन गर्न थालिएको छ । पछिल्लो राजनीतिक फेरबदलका कारण एमाले पार्टीका नेताहरुले नयाँ दल खोलेको, माओवादी केन्द्रका केही नेताहरु विभाजन भएर एमालेमा प्रवेश गरेपछि गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनदेखि चोटिलो बन्दै गएको निर्वाचनमा राजनीतिक दलहरुले आ–आफ्नै गठबन्धन गरेर चुनावमा होमिएपछि प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन थप महत्वाकांक्षी बन्दै गएको छ । 

जसले गर्दा रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रहरुमा यहाँका केही प्रभावशाली नेताहरु र केही नयाँ उम्मेदवारबीच हुने चुनावी भिडन्तले सबैको ध्यान केन्द्रित गरेको छ ।

गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र रुपन्देहीको क्षेत्र नं २ र ३ हो । यही कारण पनि यहाँको चुनाव सबैको नजरमा परेको छ । त्यतिमात्र हैन एमालेले टिकट नदिएपछि पार्टी त्यागेर स्वतन्त्रमा चुनाव लडेका घनश्याम भुषालको चुनावी नतिजा पनि निकै प्रतिक्षित बनेको छ । 

निर्वाचन आयोगले जारी गरेको निवार्चन आचारसंहिता अनुसार मंसिर ४ गते तोकिएको चुनावका लागि मंसिर १ गते राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्नका लागि समय तोकेको छ । मंसिर १ गते मध्यरातिदेखि मतदान नसकिउन्जेलसम्म मौन अवधि लागू हुनेछ । 

रुपन्देहीको निर्वाचनलाई विभिन्न कोण एवं स्थालगत अध्ययनले जिल्लाको क्षेत्र नं १ मा एमालेका नेता छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार गठबन्धनको सहयोगमा चुनावमा होमिएका घनश्याम भुषालको चुनावी प्रतिष्पर्धामा भुषालले केही मतान्तरले जित्ने आँकलन गरिएको छ । 

एमाले उपाध्यक्ष पौडेलको क्षेत्र नं–२ चुनावी पकेट क्षेत्र मानिन्छ । पौडेलको प्रतिष्पर्धीमा राष्ट्रिय जनमुक्तिका अध्यक्ष केशवबहादुर थापा छन् । थापालाई सत्तागठबन्धनको साथ छ । एमाले नेता पौडेललाई राप्रपा र जसपा (उपेन्द्र यादव) पार्टीको साथ छ ।

पौडेलले विगतका निर्वाचनमा जस्तै आफ्ना प्रतिष्पर्धीलाई धेरै मतान्तरले हराएर विजयी भएजस्तो भने हालको निर्वाचनमा सत्ता गठबन्धनको साथ पाएका नेता थापालाई कम मतान्तरले पराजित गर्ने आँकलन भइरहेको छ । तर सो क्षेत्रमा नेपाल स्वतन्त्र पार्टीको पनि उम्मेदवार भएकाले चुनावी माहोल एमाले नेता पौडेललाई त्यति सहज मानिएको छैन ।

क्षेत्र नं ३ मा गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण र राप्रपाका नेता दिपक बोहराबीच प्रतिनिधि सधा सदस्यका लागि कडा प्रतिष्पर्धा हुने देखिएको छ । यहाँ हारजितको अंकगणित झिनो मतले हुने उल्लेख छ ।

रुपन्देही क्षेत्र नं ४ मा सत्ता गठबन्धनबाट प्रमोद यादव र लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लाबीच पनि कडा प्रतिष्पर्धात्मक चुनाव हुने बताइएको छ । शुक्लालाई एमाले र राप्रपाको साथ छ ।

क्षेत्र नं ५ मा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नेता भरतकुमार शाह र एमालेबाट वासुदेव घिमिरेबीच प्रतिष्पर्धा हुने भए पनि नेता शाहको जित हुने दाबी भइरहेको छ ।

जिल्लामा २ सय १३ मतदान स्थल, ७ सय ६ बुथ केन्द्र तोकिएको छ । ०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता रहेका थिए ।

तर गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने जिल्लामा ६ हजार ५ सय ९२ मतदाता बढेका थिए । केही समयअघि निर्वाचन आयोगले अस्थायी मतदाताहरुको नामावली संकलन गरेकाले स्थानीय तहको निर्वाचन भन्दा बढी मतदाता संख्या रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ