arrow

पन्त–रानाबीच कैलाली ५ मा टक्कर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
delhiraj-pant-naradmuni-rana-kailali5.jpeg

कैलाली । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ लाई पनि धेरैले चासोका साथ हेरेका छन् । २०७४ को निर्वाचनमा नेपाली नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी कांग्रेस केन्द्रीय सदस्य  आरजू राणा देउवालाई पराजित गरेका नारदमुनि राना यस पटक पनि यसै क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका छन् । 

रानाविरुद्ध आरजू नै उम्मेदवार बन्ने चर्चा भए पनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका डिल्लीराज पन्तले रानासँग प्रतिस्पर्धा गर्दैछन् ।

पन्त २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पन्त र रानाबीचको प्रतिस्पर्धाले मात्रै होइन यहाँ प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवारहरु पनि प्रभावशाली रहेका कारण यो क्षेत्रप्रति धेरैको चासो बढेको छ । 

कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका पुष्करनाथ ओझाका साथै नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएको जगदीश चौधरी पनि चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारका रुपमा उत्रिएका छन् । 

यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिकाको ६ र ९ गरी २ वडा समेटिएको छ । यो क्षेत्रमा एक लाख पाँच हजार ७९३ जना मतदाता छन् । 

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार अनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मिलाएर यहाँ सत्तारुढ गठबन्धनसँग ३२ हजार ६१९ मत देखिन्छ । नेकपा एमाले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ । 

यता ०७४ को निर्वाचनअघि कैलाली निर्वाचन क्षेत्र नं. ५ कांग्रेसको बलियो आधार इलाका मानिन्थ्यो । २०४८ सालमा कांग्रेसका नेता टेकबहादुर चोख्याल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

तर २०५२ को मध्यावधि निर्वाचनमा भने एमालेका महेश्वर पाठकले चुनाव जिते । २०५६ को आमनिर्वाचनमा कांग्रेसले फेरि इतिहास दोहोर्यायो ।

२०६४ को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार लिला भण्डारीले जिते पनि २०७० को संविधानसभा सदस्य निर्वाचनमा वर्तमान प्रधानमन्त्री देउवा झण्डै दोब्बर मतान्तरले यसै क्षेत्रबाट निर्वाचित भए ।

२०७४ को स्थानीय निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसकै पोल्टामा गयो । तर ०७४ मा एमालेका नारदमुनि रानाले चुनाव जिते । २७ हजार २०२ मत ल्याएका रानाले कांग्रेस आरजू राणा देउवालाई चार हजार ८८० कोे मतान्तरले पराजित गरेका थिए ।

को हुन् पन्त ?
पन्तको २०१२ फागुन १२ गते कैलालीमा जन्म भएको हो । उनका बुवाले २००६ सालमा मातृकाप्रसाद कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिएका थिए । 

२००७ सालको क्रान्तिमा उनका बुबाले कैलाली, बेलौरी र ब्रह्मदेवको क्रान्ति सँगसँगै डोटीको पनि नेतृत्व लिएका थिए । आन्दोलन सफल भएपछि धनगढीमा ठूलो आमसभा भयो । त्यसको सभापतित्व उनका बुवाले गरेका थिए । 

डिल्लीराजको राजनीतिक जीवन भने २०२९ देखि शुरु भएको हो । उनमा सानैदेखि पञ्चायती व्यवस्थाप्रति वितृष्णा थियो । धनगढीको पञ्चोदय विद्यालयमा कक्षा १० मा अध्ययनरत रहँदै पञ्चायती शासनविरुद्ध काम गरेको भन्दै आफूले ६ महिना जेल जीवन भोग्नु परेको उनी सुनाउँछन् ।

जेलबाट छुटेपछि धनगढीमा क्याम्पस नभएकाले उनी अध्ययनको क्रममा भारतको देहरादुन गए । त्यहाँबाटै बीएसम्म अध्ययन गरे । अध्ययनताका नै उनी कांग्रेसका विभिन्न गतिविधिमा संलग्न थिए । 

पञ्चायती व्यवस्थाको विरुद्धमा अभियान चलाउँथे । देहरादुनमै उनले शेरबहादुर देउवासँग भेट गर्ने मौका पाएका थिए । त्यसपछि उनी नेविसंघको राजनीतिमा सक्रियतापूर्वक लागे ।

पन्त कांग्रेसको राजनीतिक जीवनमा क्रियाशील भए पनि मुख्य जिम्मेवारीबाट वञ्चित हुँदै आएको सुनाउँछन् । २०७४ को निर्वाचनमा प्रदेशसभामा कांग्रेसले उम्मेदवारीको अवसर दिएको र जनताले पनि आफूलाई जिताएको उनको भनाइ छ ।

पन्त आफ्नो संघर्ष, पृष्ठभूमि र आफू खान्दानी कांग्रेस हुनुलाई चुनाव जित्ने प्रमुख आधार रहेको जिकिर गर्छन् । साथै यस क्षेत्रको सामाजिक क्षेत्रमा गरेको कामले पनि जनतामा राम्रो छाप परेको उनको भनाइ छ ।

उनले भने ‘यहाँ सबैसँग परिचित छु । मेरो आफ्नै सामाजिक जीवन छ । ६ वर्ष त्रिनगर माविको अध्यक्ष भएँ । प्लस टुसम्म सञ्चालन गराइयो । आफ्नो जग्गा धितो राखेर विद्यालयको आयस्रोत बढाउन सपिङ कम्प्लेक्स बनाएँ । ८ वर्ष रेडक्रस कैलालीको कोषाध्यक्ष भएँ ।’

आफ्नो व्यक्तित्वको प्रभावका अतिरिक्त कांग्रेस देशकै सशक्त पार्टी भएको र त्यसको उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ ।

उनले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने, रासायनिक मलको करखाना स्थापना गर्ने एजेण्डा अघि सारेका छन् । 

को हुन् नारदमुनि ?
२०२९ साल बैशाख १९ गते बुबा रतिराम रानाथारु र आमा सुदामा देवी रानाथारुको कोखबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको मध्यमवर्गीय परिवारमा जन्मेका राना बाल्यकालदेखि नै लगनशील, क्रान्तिकारी स्वभावका हुन् । 

स्कुले शिक्षा धनगढी माध्यमिक विद्यालयबाट लिएका रानाले कैलाली बहमुखी क्याम्पस धनगढीबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

युवा अवस्थादेखि विभिन्न रचनात्मक गतिविधि तथा वैचारिक कार्यक्रममा बस्न रुचाउने राना क्याम्पस अध्ययनकै क्रममा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय थिए । फलतः २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति शुरु गरे ।

२०४८ सालदेखि नेकपा एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा आएका उनी नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज छन् ।

उनी २०४६ सालको जनआन्दोलनमा थुनामा समेत परेका थिए । क्याम्पस अध्ययनताका मुलधारको राजनीतिमा होमिइसकेका उनले २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिए । उक्त निर्वाचनमा उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मनिराम देवललाई भारी मतान्तरले पराजित गरे ।

एमालेबाट २०६४ सालमा समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । सेती अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्षसमेत रहिसकेका राना शिवनगर खानेपानी आयोजनाको संस्थापक अध्यक्षका साथै निरन्तर १० वर्षसम्म अध्यक्ष भएका थिए । 

उनी आफूले विगतमा गरेको कामलाई आफ्नो जितमो आधार ठान्छन् । तर रानालाई स्वतन्त्र उम्मेदवार जगदीश चौधरी भारी पर्ने सम्भावना बलियो छ । थारु समुदायबाट दुई जना उम्मेदवार भएपछि पन्तलाई चुनाव जित्न सजिलो हुने विश्लेषण भइरहेको छ । 

जगदीश चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेपछि पन्तलाई सहज देखिएको धनगढीका स्थानीयबासीको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ