arrow

ओलीको भक्तिगान गाएर नथाकेका कमल थापाको के होला भविष्य ?

एमाले र राप्रपाको पूरा मत बटुल्न सकस

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ मंसिर १ बिहिबार
thapa.jpg

हेटाैंडा । सूर्य चिह्न लिएर मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा अचेल एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा केन्द्रित छन् । राजनीतिक सिद्धान्त, विचार र एजेण्डासमेत फरक रहेका थापाले ओलीलाई किन आइडल बनाउने प्रयास गरिरहेका ? यो प्रश्न सबैको मनमा उब्जिएको छ ।

थापा पटक-पटक ट्विट गर्दै ओली नेतृत्वको सरकार नै देशको हितमा रहने जिकिर गर्छन् । नाकाबन्दीविरुद्ध लड्ने र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गर्ने आँट ओलीमा मात्रै भएको भन्दै सत्तारुढ गठबन्धनभन्दा ओली नेतृत्वकै सरकार देशको हितमा हुने भन्दै उनको तारिफ गर्छन्  ।

मकवानपुर क्षेत्र नम्बर–१ को विभिन्न चुनावी सभामा थापाले ओलीको प्रशंसामा लामै समय खर्चिए । राष्ट्रियता बोक्न सक्ने, देशलाई संकटबाट मुक्त गर्ने, सीके राउत र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम गरेकाले ओली महान् नेता भएको थापाको जिकिर छ ।

२०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा रहेका आधा दर्जन उपप्रधानमन्त्री मध्येका एक थापा ओलीप्रति प्रायः नरम नै देखिन्छन् । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्दा पनि थापाले ओलीको खुलेआम प्रशंसा गरेका थिए ।

गत वर्षको मंसिरमा आफैँले गरेको पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा आफैँ पराजित भएपछि सम्हालिन नसकेका थापाले आफैँले गरेको प्रण र खाएको गीताको कसम बिर्सेर राप्रपा पार्टी छोडेर नयाँ पार्टी खोले। उनले आफ्नो हारको दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि थोपर्दै राजतन्त्रको मुद्दा नै त्यागे ।

मुलुक संघीय गणतन्त्रमा गएको डेढ दशकसम्म राजतन्त्रको मुद्दा बोकेर ब्याज खाइरहेका थापा एउटा पराजयबाटै विचलित भएर हार स्वीकार गर्न नसक्ने अवस्थामा पुगे ।

यतिबेला राजतन्त्रको मुद्दाबाट धेरै टाढा पुगिसकेका थापा आफ्नो वर्षौँसम्मको पराजयको शिलशिला तोड्न एमालेकै चुनाव चिह्न लिएर मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भिड्दै छन्। यो क्षेत्र वर्षौँदेखिको वामपन्थीको गढका रुपमा परिचित छ ।

एमाले अध्यक्ष ओलीले आफ्ना नेता कार्यकर्तालाई रुष्ट बनाउँदै चुनाव चिह्नसहित थापालाई नै टिकट दिएपछि ओलीको गुणगान मज्जाले गाइरहेका छन् थापाले ।

मकवानपुरे एमाले पुराना नेताको टिकट खोसिएपछि जिल्लामा देखिएको नेतृत्वप्रतिको चरम असन्तुष्टिको सोझो प्रभाव मतदानमा पनि पर्ने भएपछि ओली र समग्रमा एमालेकै भक्तिगान गाउनुको विकल्पसमेत थापासँग देखिँदैन ।

पटक-पटक पराजित भएका थापाको अहिले पनि एमालेकै भरमा चुनाव जितिहाल्छन् भन्ने बलियो आधार देखिएको छैन । क्षेत्र-१ मा गठबन्धनको तर्फबाट कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना उनको मुख्य प्रतिष्पर्धीको रुपमा छिन् । अर्कोतर्फ थापासँगै राजनीति गरेका दिपकबहादुर सिंह पनि उनको अर्को चुनौती बनेका छन् । 

एकातर्फ एमाले भित्रैको असन्तुष्ट पक्षले थापालाई मत देलान् त् ? भन्ने प्रश्न छ भने अर्कोतर्फ सूर्य चिन्हमा राप्रपा नेपालका सबैले मत हाल्लान् त ?  हेर्दा सामान्य तर प्रश्न गम्भीर छ । 

हारको इतिहास 

२०४८ को आम निर्वाचनमा मकवानपुर-१ मा कमल थापालाई नेकपा एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए । तर मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे । २०५६ मा थापा मकवानपुर-१ मा दाहालसँग पुनः पराजित भए । त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए । मकवानपुर-३ बाट पनि उम्मेदवारी दिएका उनी त्यहाँ पनि एमालेका वीरबहादुर लामासँग २ हजार मतान्तरले पराजित भए ।

त्यसपछि २०६४ को संविधान सभा निर्वाचनमा थापा तेस्रो भए । २०७० को संविधान सभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन् । श्रीमती प्रमिला थापालाई मकवानपुर-१ बाट उम्मेदवार बनाएर आफू समानुपातिकमा बसे । समानुपातिकबाट सांसद बनेपछि उनी ओली, पुष्पकमल दाहाल प्रचण्ड  र शेरबहादुर देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने। 

त्यसपछि २०७४ को प्रतिनिधि सभामा उनी मकवानपुर १ मै पराजित भए । ०७४ को निर्वाचनमा कांग्रेस-राप्रपाको गठबन्धनलाई माओवादी-एमाले गठबन्धनका कृष्ण दाहालले करिब ६ हजार मतान्तरले थापालाई पराजित गरे। दाहालले ४० हजार ६३१ मत पाउँदा थापाले ३४ हजार ६३५ मत ल्याएका थिए।

अहिले भने थापा एमालेका उम्मेदवार छन् । एमालेबाट फुटेर गएको नेकपा एस, माओवादी र कांग्रेस अहिले एक ढिक्का बनेका छन् । त्यो बेलाको माओवादी र अहिलेको नेकपा एसको मत सत्ता गठबन्धनकै उम्मेदवारतिर जान्छ । यसले पनि थापाको मत जितको लागि अपुग हुने अनुमान लगाउन सकिन्छ ।

अर्कातर्फ राप्रपा नेता सिंहले स्थानीय तहको निर्वाचनमा ल्याएको मतलाई आधार मान्ने हो भने उनलाई कमजोर उम्मेदवारको रुपमा सोच्नु गलत हुन्छ । उनको मतले पनि थापालाई थप सकसमा पुर्याउँछ ।

जे होस् थापाले पछिल्लो समय लगातार दिनहुँ जसो एमाले अध्यक्ष ओलीको गुनगानमै आधा भाषणको समय छुट्याउने गरेका छन् । लगातार चुनाव हारेका थापालाई सूर्य चिन्ह कत्तिको फाप्छ त्यो भने मंसिर ४ पछि थाहा होला । ओलीको गुनगानमा कुनै कन्जुस्याई नगरेका थापालाई मकवानपुर १ का जनताले मत दिन कन्जुस्याई गर्लान् कि नगर्लान् ? यसमा थापाको अबको राजनीतिक भविष्य  जोडिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ