देश र पार्टीको हितका लागि संसदीय दलमा देउवाले छोड्नुपर्छ
आरके त्रिपाठी,
प्रकाशित २०७९ मंसिर ७ बुधबार
3k
Shares
आम निर्वाचनको मत परिणाम धमाधम आउने क्रम जारी रहेको छ । यो परिणामले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने निश्चित देखिएको छ । योसँगै कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने पनि निश्चित जस्तै छ । अब सवाल सदाबहारिता कि देश र पार्टीका लागि परिवर्तन ? भन्ने प्रश्न अहम् देखिएको छ ।
यदि हो भने संसदीय दलमा नेतृत्व नयाँ चयन गर्दा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सकिन्छ भने अब कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त्याग गर्ने बेला आएको छ । यसमा नै नेपाल र नेपाली कांग्रेस पार्टीको हित हुन आउँछ ।
यो चुनावको प्रारम्भिक नतिजाले अब करिब करिब पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली जनताले नेपालको मियो राजनीतिबाट बाहिर राखिदिएका छन् । यो निर्वाचनमार्फत जनताले कुनै दिन मधेसको मुद्दामा खेल्दै आएका पार्टीहरुलगायत उपेन्द्र यादव प्रवृत्तिलाई पनि पछाडि धकेलिदिएका छन् ।
रवि लामिछाने लोकप्रिय भएर हुन् वा उनको पार्टी ? वा नेपालको माउ पार्टी अलोकप्रिय भएर हो ? नेपाली जनताले यो निर्वाचनमार्फत रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब पाँच वर्षको लागि प्रचण्डले विगतमा खेल्ने, गर्ने भूमिकामा पुर्याइदिने संकेत गरेका छन् । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मत हेर्दा नेपाली जनताले एमाले र कांग्रेस पार्टी खास देश विकाश र जन सरोकारको मुद्दामा असफल भएकाले कांग्रेस र एमाले पार्टीलाई सुध्रन संकेत गरेको हुन सक्छ ।
यस अगावै परीक्षण भइसकेका पूर्व र वर्तमान प्रधानमन्त्रीहरुले अब अरु लोभ नगर्नु र नयाँ नेतृत्व खोज भनेको हुन सक्छ ।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनहितमा धेरै काम गरेर यो मत प्राप्त गरेको भने पक्कै होइन जस्तो लाग्दछ । मत जनताले दिए । अब भविष्यमा रवि लामिछानेहरुले जनताले मतदानमा विश्वास गरे अनुसार प्रमाणित गर्दै जान सक्नु पर्दछ ।
यो चुनावको प्रारम्भिक नतिजाले कुनै एक पार्टीको स्पष्ट बहुमत नआउने देखियो । यो अवस्थामा अब के हुन्छ त भविष्यमा ? अब माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले हामीले नेपाली कांग्रेस पार्टीलाई भोट दियौं तर नेपाली कांग्रेस पार्टीले हामीलाई भोट दिएन भन्नेछन् । विस्तारै विस्तारै यो गठबन्धन टुट्नेछ । नेपाली कांग्रेससँग प्रचण्ड, माधव नेपाल टाढा हुन खोज्नेछन् । केपी शर्मा ओलीको एमालेलाई यो अर्को फाइदा हुनेछ ।
नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेतामा पुनः सभापति शेरबहादुर देउवा हुनेछन् । त्यो अवस्थामा प्रचण्ड र माधव नेपालको पार्टीको भोटले सरकार बनाउन सम्भव देखिँदैन । त्यो अवस्थामा कांग्रेसले अन्य राजनैतिक पार्टीको गुहार माग्नु पर्नेछ ।
अन्य राजनैतिक पार्टीले नेपाली कांग्रेसको संसदीय दलको नेता फेर र छलफल गर्न त्यसपछि मात्र आउ भन्नेछ । किनकि रवि लामिछाने, राजेन्द्र लिङ्देन, सीके राउतले यस अगाडि नै टेष्टेड लिडरलाई अब प्रधानमन्त्री बनाउन सकिँदैन भनिसकेका छन् । त्यो अवस्था एकातिर रहे पनि अर्कातिर कांग्रेस सभापति देउवाले सहजै संसदीय दलको नेता अरुलाई स्वीकार गर्दैनन् ।
कांग्रेस भित्र विग्रह शुरु हुनेछ । यदि नेपाली कांग्रेस पार्टीले साना पार्टीको साथ लिई मिलीजुली सरकार बनाउन असफल भयो भने एमालेलाई गुहार्नेछ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु भन्दा एमालेले ओलीको नेतृत्वमा सरकार बनाउन पहल गर्नेछ । यसमा एमाले असफल हुनेछ ।
यता कांग्रेसले देउवालाई थाँती राखी नयाँ अनुहारलाई संसदीय दलको नेता चयन गर्न नसक्ने वा नमान्ने र देउवाको नेतृत्वमा रवि लामिछाने, राप्रपा र केही स्वतन्त्रको समर्थन नआउने हो भने कांग्रेस नेतृत्वमा सरकार बन्न कठिन हुन्छ । त्यो अवस्थामा विगत डेढ वर्षअघि ओलीको सरकार विस्थापित गर्न नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र कांग्रेस नेतृत्वको सरकार बनाउन रोक्न केपी ओलीले पनि महन्थ ठाकुरलाई विगतमा प्रस्ताव गरे जस्तै कांग्रेस र एमाले दुवैले रवि लामिछानेलाई प्रधानमन्त्री बनिदिन प्रस्ताव गर्न सक्छन् ।
रवि लामिछानेलाई कांग्रेसले प्रस्ताव गर्नु भन्दा यदि सम्भव हुन्छ भने कांग्रेसले संसदीय दलको नेतामा डा. शेखर कोइराला, गगन थापा वा अरु कोही नयाँ अनुहार चयन गरी रवि लामिछाने, स्वतन्त्र, माओवादी केन्द्र र माधव नेपालको पार्टीलाई साथमा लिई मिलीजुली सरकार बनाउनु वा एमालेसँग मिली सरकार बनाउनु पर्ने अवस्था भविष्यमा आउन सक्छ ।
अब आउने दिनमा सुविधाजनक सरकार बनाउन कांग्रेसको संसदीय दलमा नयाँ नेतृत्व चयन गरी सरकार बनाउन सकिने भए हिच्किचाहट गर्नु हुँदैन । यो अवस्थामा अब प्रधानमन्त्री देउवाले त्याग देखाउन सक्नु पर्दछ । जो प्रधानमन्त्री भए पनि आफ्नै पार्टीको नेतृत्वमा नै सरकार बन्ने हो ।
रामले किष्किन्धा जिते । सुग्रीवले रामलाई नै राजा बन्न आग्रह गरे । राम मानेनन् । मित्र सुग्रीवलाई नै राजा बनाए । रामले लंका जिते । विभीषणले रामलाई नै राजा बन्न आग्रह गरे । लक्ष्मणले त जोड नै गरे । तर राम मानेनन् । विभीषणलाई राजा बनाए । भारतमा सन् १९४७ अगष्ट १५ पछि सबै नेताहरूले महात्मा गान्धीलाई सरकारको नेतृत्व गर्न आग्रह गरे । गान्धी मानेनन् । जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बनाए ।
टाढा टाढाको उदाहरण दिनु तिर लाग्दा आफ्नै देशका महान् व्यक्तित्व त्यागी नेता गणेशमान सिंहले पनि राजा वीरेन्द्रले प्रधानमन्त्री पदको अफर गरेकामा अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेको ऐतिहासिक तथ्य छ ।
राजनीति भनेको जसरी पनि पद प्राप्ती गर्नु र सत्तामा पुग्नुमात्र होइन । नेपालका राजनीतिज्ञ नेताहरुले यो कुरा गहिरोसँग मनन गरुन् । यदि संसदीय दलमा नेतृत्व नयाँ चयन गर्दा कांग्रेस पार्टीको नेतृत्वमा सरकार बनाउन सकिन्छ भने अब कांग्रेस सभापतिले त्याग गरी बाटो खोलिदिनु पर्दछ । (लेखक बेलायतमा इञ्जिनियरिङ पेशामा छन्)