- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजनीतिको शान्तिपूर्ण मार्ग पहिल्याएपछि पहिलो पटक जननिर्वाचित हुँदा माओवादी केन्द्रले उपत्यकालाई परीक्षणको रुपमा लिएको थियो । माओवादी द्वन्द्वले आक्रान्त भएका उपत्यकाबासीले त्यतिबेला माओवादीलाई काठमाडौको १० मध्ये ४ र ललितपुरको ३ वटै क्षेत्रबाट आफ्नो जनप्रतिनिधिको रुपमा चुने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको १० र रोल्पाको १ बाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर पाए । माओवादीले पहिलो संविधान सभा निर्वाचनमा ३१ लाख ४५ हजार ५१९ मत प्राप्त गर्यो । कुल मतको करिब ३०.५२ प्रतिशत र प्रत्यक्षतर्फ १ सय २० सिट जित्यो । समानुपातिक र मनोनित गरी १०९ थपेर २२९ सिट ल्याएर माओवादीले सरकार बनाएको थियो ।
काठमाडाैं उपत्यकामा मात्रै ललितपुरका तीन वटै क्षेत्रमा कब्जा गर्यो । माओवादीले काठमाडौं २ बाट तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई हराएको थियो । माओवादीका केन्द्रीय सदस्य झक्कु सुवेदीले माधव नेपाललाई हराएपछि उनको देश विदेशमा चर्चा परिचर्चा मात्रै भएन एमाले महासचिव नेपालले पदबाटै राजीनामा दिए ।
त्यसैगरी डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले काठमाडौंको ७ बाट, हितमान शाक्यले काठमाडौंको ६ बाट निर्वाचित भइ संविधान सभा सदस्य भए ।
त्यतिबेला नेपाली कांग्रेसले २३ लाख ४८ हजार ८९० अर्थात् करिब २२.७९ प्रतिशत मत ल्याएको थियो । कांग्रेसले प्रत्यक्ष ३७ सिट, समानुपातिकतर्फ ७३ र मनोनित ५ गरी ११५ सिट ल्याएको थियो ।
त्यो बेला कांग्रेस दोस्रो भएको थियो । त्यस्तै एमालेले २२ लाख २९ हजार ६४ मत ल्याएको थियो । करिब २१.६३ प्रतिशत मत एमालेले ल्याएको थियो । प्रत्यक्षमा ३३ सिट र समानुपातिक र मनोनित गरी ७० र ५ गरी १०८ सिट ल्याएको थियो ।
जनताले माओवादीलाई पहिलो, कांग्रेसलाई दोस्रो र एमालेलाई तेस्रो दलको रुपमा पठाए । कांग्रेस एमालेले आफ्नो जनमतलाई सहश्र स्वीकार गर्दै आफ्नो भूमिकामा रहे ।
२०६५ साउन ८ गते संविधान सभाले डा. रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित गर्यो । २०६५ साउन ३२ गते संविधान सभाको दुईतिहाई बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित गर्यो र माओवादीको नेतृत्वमा एमाले, फोरम, जनमोर्चा, संयुक्त वाममोर्चा लगायतका दलहरूको सहभागीतामा संयुक्त सरकार निर्माण भएको थियो ।
तर माओवादीले सरकार सम्हालेपछि देशमा झन् बेथितिको चाङ लाग्यो । सरकारी प्रशासन भताभुंग हुने अवस्था आयो । सेना र प्रहरीमा हस्तक्षेप, प्रशासन निकम्मा भए ।
जसको परिणाम माओवादी सरकारबाट बाहिर मात्र बसेन संविधान निर्माण नभई संविधान सभा विघठन भयो ।
त्यतिमात्र होइन माओवादीले सरकार सम्हालेपछि अव्यवस्थित शहरीकरण बढ्यो । काठमाडौं उपत्यकामा माओवादीबाहेक अरुले जग्गा खरिद बिक्री गर्न सक्ने अवस्था आएन । उनीहरु चाँडै नै नवधनाढ्यमा परिणत हुँदै गए । यो क्रम बढ्दै गएपछि समाजमा आर्थिक बेथिति पनि बढ्दै गयो ।
संविधान निर्माणमा लागेका सांसदहरुसमेत आर्थिक बेथितिको मतियार बन्दै गए र फलस्वरुपः संविधान निर्माण नगरी २०६९ जेठ १४ गते पहिलो संविधान सभा भंग भयो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिए । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो । सोही सरकारले दोस्रो संविधान सभाको निर्वाचन गरायो ।
निर्वाचनपछि आएको परिणामले २०७० सालमा माओवादीले उपत्यकामा एक सिट पनि हात पार्न सकेन । प्रचण्डले काठमाडौं १० र सिराहा १ मा उम्मेदवारी दिएका थिए । काठमाडौं १० बाट प्रचण्डले हात धुने अवस्था आयो ।
२०६४ को संविधानसभा निर्वाचनमा पहिलो भएको माओवादी २०७० मा शून्य भएको भयो । २०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि पुनः जित्ने आँकलन गरिएको थियो ।
तर माओवादीबाट उम्मेदवारी दिएका तीनै जना उम्मेदवारले पराजय भोगे । त्यतिबेला माओवादीबाट काठमाडौं १ मा अनिल शर्मा, ६ मा झक्कु सुवेदी र १० मा हितमान शाक्यले उम्मेदवारी दिएका थिए ।
जसमा शर्मा तेस्रो भए भने सुवेदी र शाक्य निकटतम प्रतिद्वन्द्वी रहे । २०७४ मा एमालेको सहायताले ललितपुर ३ मा कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गर्दै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ पम्फा भुषाल विजयी भएकी थिइन् ।
तर यसपटक उनी एमाले उम्मेदवार अमृत खड्का भन्दा पनि निकै पछि परिन । उनको स्थानमा गत असारमा मात्रै गठन भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हात पारेकी छिन् ।
योसँगै उपत्यकामा माओवादी शून्यमा झरेको छ । २०६४ सालदेखिको माओवादीको उपत्यकाभित्रको १४ वर्षे रजगजको अन्त्य गरिदिएको हो । शहरमा फैलाएको यो राजनीतिक आतंकलाई सभ्य मतदाताले राम्रैसँग बुझे ।
सर्वहारा वर्गका लागि भन्दै लडेको जनाएको माओवादीका नेताहरु करोडपति बने । त्यसकै हिसाबकिताब यसपालि मतदाताले दिएका छन् ।