arrow

पाँच वर्षमा स्वास्थ्यमन्त्री भएकालाई नफापेको चुनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
health-ministers-lost-election.jpg

काठमाडौं । मंसिर ४ गते सम्पन्न संघीय संसदको निर्वाचनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीहरुलाई सांसदमा पत्याएन । विगत पाँच वर्षमा कोरोना संक्रमण, त्यसपछि स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र अहिलेको डेंगीसम्म आइपुग्दा नेपाली जनताले विगतमा स्वास्थ्य मन्त्रालय सम्हालेका नेताहरुलाई पराजित गरी सजाय दिएका छन् । विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हाँकेका १० जना पूर्व मन्त्री चुनावी मैदानमा थिए । उनीहरुमध्ये पाँच वर्ष स्वास्थ्य मन्त्रालय हाँकेका सबै मन्त्री पराजित भएका छन् । 

चुनावी मैदानमा पूर्व स्वास्थ्यमन्त्रीहरु विरोध खतिवडा, हृदयेश त्रिपाठी, भानुभक्त ढकाल, शेरबहादुर तामाङ, उपेन्द्र यादव, राज्यमन्त्री उमेश श्रेष्ठ र खगराज अधिकारी उम्मेदवार थिए । त्यसमध्ये खगराज अधिकारीले प्रदेश सभामा उम्मेदवारी दिएका थिए । उनी बाहेक सबै पराजित भए । 

यसपल्ट मकवानपुर–२ बाट नेकपा एकीकृत समाजवादी नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका खतिवडा एमालेका महेशकुमार बर्तौलासँग पराजित भएका हुन् । 

खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्दा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरे । अनेरास्ववियूको उपाध्यक्षबाट बागमती प्रदेश कमिटी उपसचिव रहेका बर्तौला खतिवडाका राजनीतिक चेला हुन । उनैले खतिवडालाई हराइदिएका थिए । 

खतिवडाले बर्तौलासँग हार्नुपर्ला भन्ने सोचेका पनि थिएनन् । लामो समयदेखि त्यही क्षेत्रमा राजनीति गर्दै आएका खतिवडा आफ्नै चेलासँग पराजित भए । एमाले विभाजनपछि खतिवडा नेकपा एसको तर्फबाट स्वास्थ्य मन्त्री भएका थिए । 

यसपटक अर्बपति विनोद चौधरी चुनावी मैदानमा आए । उनै अर्बपतिसँग पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट जनता प्रगतिशील पार्टीका संयोजक तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी भिडे । 

अनवरत रुपमा त्यही क्षेत्रमा चुनाव लडिरहेका त्रिपाठीलाई ७ हजार १८७ मतले पछि पार्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका विनोद चौधरी विजयी भएका हुन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला त्रिपाठी केही समय स्वास्थ्यमन्त्री भएका थिए । 

उता नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि चितवन क्षेत्र नम्बर २ बाट पराजित भएका छन् । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भए । उनी लामो समय मन्त्री नभए पनि स्वास्थ्यमन्त्री भएको चार्ज लाग्यो । 

यस्तै अर्का एमालेका नेता तथा पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ पनि पराजित भए । सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएका पूर्व स्वास्थ्यमन्त्री तामाङलाई कांग्रेसका मोहन बस्नेतले हराए । बस्नेतले तामाङलाई ११ हजार ८७४ मतले पछि पार्दै विजयी भएका हुन् । उनी पनि लामो समय स्वास्थ्यमन्त्रालय सम्हाल्नेमा पर्दैनन् । तर छोटो समय मन्त्री हुँदा पनि जनताले स्वास्थ्य मन्त्रालयमा रहँदा उनले केही काम नगरेको चार्ज लगाए । 

केपी ओली प्रधानमन्त्री भएको बेला जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान तथा स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव थिए । 

उनी मन्त्रालयमै नबस्ने, विदेश भ्रमणमा जाने, प्रधानमन्त्रीलाई पनि थाहै नदिई काम गर्ने गरेपछि ओलीले उपप्रधानमन्त्री पद खोसेर मन्त्रीमा झार्दै कानून मन्त्री बनाए । 

स्वास्थ्य मन्त्रालयमा बस्दा वीर अस्पताल लगायतका सरकारी अस्पतालमा भएको अनियमितताको बारेमा अख्तियारमासमेत उजुरी परेपछि उनलाई हटाइएको थियो । अहिले यादव भारी मतान्तरले पराजित भए । 

यादव सप्तरी क्षेत्र नम्बर २ बाट १८ हजार मतान्तरले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका हुन् । यादवलाई पराजित गर्दै राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरे भने प्रतिस्पर्धी यादवले १६ हजार ९६३ मत प्राप्त गरेका थिए ।

उपेन्द्र यादवलाई हटाएर मोरङ क्षेत्र नम्बर ३ मा एमाले नेता भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको थियो । त्यही बेला कोरोना संक्रमण विरुद्धका सामग्री खरिदमा ओम्नी ग्रुप भित्रिएको थियो । त्यसलाई भित्राउन तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र भानुभक्त ढकालको हात रहेको थियो । 

मत दिने बेलामा मोरङका जनताले त्यही कोरोना संक्रमणको त्रास सम्झेका कारण पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हराइदिए । 

कोरोना संक्रमण भन्दा अघिका स्वास्थ्यमन्त्रीहरु गगनकुमार थापा र खगराज अधिकारी भने भारी मतले विजयी भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ