arrow

काँग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
congress-party-office-1.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहेका छन्। प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा आएको छ। बाँकी तीन वटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ।

समानुपातिकतर्फ समेत मतगणना सकिने तरखरमा छ। समानुपातिकतर्फको पछिल्लो अपडेट अनुसार एमाले पहिलो दलको रूपमा देखा परेको छ। उसले २७ लाख ७४३ हजार ९९९ मत ल्याएको छ।  नेपाली काँग्रेस २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा छ। माओवादी केन्द्र ११ लाख ६१ हजार २५६ मतसहित तेस्रो स्थानमा छ।

अब तीन वटा क्षेत्रमा मात्र मतगणना बाँकी रहेकाले थोरैले मत परिणाम घटबढ भए पनि ठूलो भिन्नता आउने देखिँदैन। पछिल्लो समय उदाएका केही नयाँ दलहरूका कारण पुराना र स्थापित भनिएका दलहरूलाई प्रत्यक्ष र समानुपातिकतर्फको मतमा समेत धक्का लागेको छ। राष्ट्रिय दलका रूपमा उदाएका नयाँ दलहरूका कारण ठूला भनिएका दलहरूलाई सिट सङ्ख्यामा धक्का लाग्दा सुरक्षित ठानेर समानुपातिकमा बसेका नेताहरूको सपनामा भने ब्रेक लाग्ने देखिएको छ।

समानुपातिकतर्फको मत परिणामले नेपाली काँग्रेसका चर्चित नेताहरू संसद्मा जानबाट वञ्चित हुने देखिएको छ। समानुपातिकमा सुरक्षित ठानेर बसेका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाश शरण महतलगायतका प्रभावशाली नेताहरूलाई अप्ठेरो परेको छ।

काँग्रेस प्रवक्ता महत यस पटक प्रत्यक्षमा उम्मेदवार बन्नै चाहेनन्। उनी समानुपातिकको खास आर्य पुरुषतर्फ पहिलो नम्बरमा छन्। निधि पनि मधेसी पुरुषतर्फ पहिलो नम्बरमा बसेका छन्। स्याङ्जा २ बाट चुनाव लड्दै आएका पूर्व उपसभापति गोपालमान श्रेष्ठ जनजाति पुरुषतर्फ पहिलो नम्बरमा छन्। सह महामन्त्री जीवन परियार दलित पुरुषतर्फ र बारा-३ का फरमुल्लाह मन्सुर मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमा छन्।

योगेन्द्र चौधरी थारु पुरुषको पहिलो नम्बरमा बसेका छन्। समानुपातिक छनोट प्रक्रियामा पहिलो नम्बर नै प्राथमिकता हुने गर्दछ। 

यद्यपि समानुपातिकबाट सांसद हुने हरूको सूची टुङ्गो लगाउनु पूर्वसङ्घीय संसद्मा पार्टीको तर्फबाट महिला उपस्थिति हेर्नुपर्छ। काँग्रेसको प्रतिनिधिसभा सदस्यमा निर्वाचित ५५ जना, समानुपातिकबाट पाउने (सम्भावित) सिट ३३ र राष्ट्रियसभामा रहेका १० जना गरी सङ्घीय संसद्मा काँग्रेसका ९६ जना सदस्य हुन्छन्।

यसको ३३ प्रतिशत अर्थात् ३२ जना महिला हुनुपर्छ। अहिले प्रतिनिधिसभामा एक जना र राष्ट्रियसभामा तीन जना महिला छन्। काँग्रेसले अब समानुपातिकबाट २८ जना महिलालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ। बाँकी समानुपातिकतर्फबाट पाउने पाँच जना पुरुष जान पाउने छन्। महिलाको ३३ प्रतिशत पुर्‍याएपछि बाँकी कुन क्लस्टरबाट लैजाने भन्ने प्रस्ट व्यवस्था छैन।

नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीले समानुपातिकतर्फ बन्द सूची पठाइसकेकाले अब कसलाई सांसद बनाउने भन्ने जिम्मा निर्वाचन आयोगको सूत्रले निर्धारण गर्ने बताए। यसमा आयोगले नै कसरी समानुपातिक सांसद छनोट गर्ने भन्ने विषयमा टुङ्ग्याउने भएकाले यसमा पार्टीले केही गर्न नमिल्ने नेता लेखक बताउँछन्।

यद्यपि यस पटक निर्वाचन आयोगले यसबारे निर्णय गरिसकेको छैन। तर, जनसङ्ख्याको अनुपातमा जसको धेरै छ, उनीहरूलाई नै प्राथमिकता दिने सम्भावना हुन सक्छ। त्यसो भएमा महिलाको प्रतिशत पुगेपछि पहिलो नम्बरमा खास आर्य, दोस्रोमा आदिवासी जनजाति र तेस्रो मधेसी क्लस्टरको पुरुषमा पहिलो नम्बरमा रहेका व्यक्तिहरू सांसद बन्नेछन्। यससँगै क्रमशः दलित, थारु, मुस्लिम, अपाङ्गता भएका तथा पिछडिएको क्षेत्र क्लस्टरको पालो आउनेछ।

जसअनुसार काँग्रेसबाट प्रकाश शरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार र योगेन्द्र चौधरी सांसद बन्ने छन्। यदि पिछडिएको क्षेत्रबाट सुरु गर्ने हो भने जय पति रोकाय, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन्। महत र श्रेष्ठ सांसद बन्न नपाउन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ