arrow

पदीय गरिमाले मत जित्न नसकेकाहरू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
loser-havey-weight-leader.jpg

काठमाडौं । मङ्सिर ४ को निर्वाचनमा शक्तिशाली नेताहरूले पनि पराजय भोग्नु परेको छ । निर्वाचनमा बहालवाल गृहमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसमेतले हार भोगेका छन् । बिरलै हार व्योहोरेको सुन्न पाइनेमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले हारेका छन् । खाँणले रुपन्देही-३ मा राप्रपाका दीपक बोहरासँग हार व्योहोर्नु पर्‍यो । गृहमन्त्री खाँण २ हजार ६८१ मतान्तरले पराजित भए । बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेकामा खाँणले ३४ हजार ३६ मत मात्र ल्याउन सके । 

यसअघि २०६४ सालमा गृहमन्त्री रहँदा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि हारेका थिए । सिटौलाले यस पटक पनि हारेका छन् । सिटौलालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ सय ७६ मतले हराए । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएका छन् भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।

मुख्य हार व्योहोर्नेमा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि रहेका छन् । झलनाथ खनाल इलाम-१ मा एमालेका महेश बस्नेतसँग पराजित भए। खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका बस्नेतले २५ हजार ६९९ मत ल्याएका छन् । खनालले २२ हजार ३४५ मत पाएका छन् । 

त्यस्तै माओवादी केन्द्रकी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसाल ललितपुर-३ मा पराजित भइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की सो स्थानबाट विजयी भइन् । कार्कीले ३१ हजार एक सय ३६ मत पाउँदा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरिन् । 

खानेपानीमन्त्री उमाकान्त चौधरी बारा-१ मा एमालेका अच्युतप्रसाद मैनालीसँग हारे। नेपाली कांग्रेसका सह महामन्त्री समेत रहेका चौधरीलाई ९ हजारभन्दा बढी मतले हराउँदै एमालेका मैनाली विजयी भए। एमालेका मैनालीले ३९ हजार १ सय ९५ मत पाए भने कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याए ।

नेकपा एसका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ काठमाडौं-८ मा पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १०१०५ मत ल्याउँदा श्रेष्ठले ४ हजार ८७७ मतका साथ तेस्रो भए।

कांग्रेस नेता तथा राज्यमन्त्री उमेश श्रेष्ठ चितवन-२ मा पराजित भए। उनी स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेसँग पराजित हुन पुगे । लामिछानेले श्रेष्ठलाई ३४ हजार १ सय ७० बढी मतले हराए । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । सत्तारूढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत पाए ।

 पूर्व सभामुख ओनसरी घर्तीले काठमाडौं-२ बाट चुनाव हारिन् । २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भइन् । गौतमले १५ हजार दुई सय २९ मत ल्याउँदा घर्तीले ९ हजार ४ सय ४९ मत पाइन् । 

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं-५ बाट चुनाव हारे । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनलाई हराए । प्रदीपले १५ हजार २३७ मत ल्याए भने ईश्वरले १० हजार १७२ मत ल्याए ।

एमाले महासचिव शङ्कर पोखरेल दाङ-२ मा माओवादीकी रेखा शर्मासँग पराजित भए। शर्माले २६ हजार ८७७ मत प्राप्त गर्दै विजयी भइन भने एमाले महासचिव पोखरेलले २६ हजार ६८० मत प्राप्त गरे । पोखरेल १९७ मतान्तरले पराजित भएका हुन् । 

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग चुनाव हारे। ढकालले ३४ हजार १८९ भोट ल्याए भने एमालेका पाण्डेले २६ हजार ६०८ मत ल्याए । 

 माओवादीका महासचिव देव गुरुङले लमजुङमा कडा चुनौती दिएर चुनाव हारे । एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले उनलाई हराए । पृथ्वी सुब्बाले ३४ हजार ९ सय ६९ मत पाएका छन् । भने देव गुरुङले ३१ हजार ७ सय ८१ मत पाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ