arrow

पुरानो पुस्तामा दम्भ र अहङ्कार, नयाँ पुस्तामा आकांक्षा र विद्रोह

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ मंसिर २४ शनिबार
rajendra-panthi-article-55.jpg

नेपालको संविधान अनुसार संघीय र प्रादेशिक सांसदको दोस्रो कार्यकालको लागि मंसिर ४ मा सम्पन्न आवधिक निर्वाचनको नतिजा आइसकेको छ । निर्वाचनको प्राप्त नतिजा अनुसार जनताका थुप्रै किसिमका आकांक्षा र आक्रोशसहित पुस्तान्तरण र रुपान्तरणको सन्देश पाइन्छ । 

खासगरी पुराना पार्टीहरूका क्रियाकलापप्रति आक्रोश देखिन्छ । नयाँ पार्टी र युवाप्रति आशा र आकांक्षा देखिएको छ । निर्वाचन परिणाम अनुसार संघमा कुनै पनि पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउने अवस्था छैन । अहिले पार्टी र पार्टीका केही शीर्षस्थ नेताहरू सरकार बनाउन दौडधुपमा लागेका छन् । 

सदाजस्तै अहिले पनि उनीहरूले आफूभन्दा अरुलाई देख्नै सकेका छैनन् । उनीहरूमा हामी नै सर्वेसर्वा हौँ भन्ने घमण्ड, दम्भ र अहंकार रहेको छ । ती शीर्षस्थ नेताहरूले अहिलेको जनमतलाई कदर नगरी अपमान गर्दै पनि छन् । देशभरि ‘नो नट अगेन’ अभियान चलिरहँदा र आम जनताले जताततै छिछी र दूरदूर भनिरहँदा पनि केही प्राविधिक कारणले मात्र शीर्षस्थ नेताले जितेको देखिन्छ । 

यस्तो अवस्थामा तिनीहरुलाई अझै पनि अहंकार र घमण्ड छ कि हामी बिना देश र सरकार कसैले चलाउन सक्दैनन् । तिनै शीर्षस्थ नेताहरूको यही अहंकार र घमण्डले आज देशले यो दुर्गति बेहोर्नु परेको छ । नेपालमा प्रजातन्त्र पुनःबहाली भएको बत्तीस वर्षमा सत्ताको हालीमुहाली यिनै देउवा, प्रचण्ड, माधव र ओली बारम्बार दोहोरिइरहेका छन् र अझै दोहोरिने दाउ हेरिरहेका छन् । 

यस्तो अवस्थामा पार्टी भित्रको युवा पुस्ता चुप नबसी हस्तक्षेप वा विद्रोह गरी नेतृत्वमा आउनु पर्छ । जनताको माग र आशालाई यी पुराना पार्टीहरूले अझै पनि सम्बोधन गरेनन् भने नयाँ वैकल्पिक पार्टीहरू जन्मने र ती पुराना पार्टीहरू इतिहासको पानामा सीमित हुने निश्चित प्रायः नै देखिन्छ । भर्खरै सम्पन्न निर्वाचनको परिणामबाट पनि यी तथ्यहरू प्रामाणिक रुपमा स्पष्ट देख्न सकिन्छ ।

नेपाली कांग्रेसकै कुरा गर्दा पनि अहिले जनताको मतको कदर र सम्मान गर्ने हो भने पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको दौडबाट बाहिरिनु पर्छ । आम जनता मात्र नभएर नेपाली कांग्रेसका कार्यकर्ताले समेत देउवालाई नो नट अगेन भनिरहेका थिए । तर उनले प्राविधिक रुपमा जिते । देउवा मानसिक र शारीरिक रुपमा सरकार चलाउन परिक्षणबाट असफल भएका छन् ।

निर्वाचनमा पनि डडेल्धुरामा उनका विरुद्ध उठेका गुल्मीका सागर ढकालको जनमत सामान्य रुपले विश्लेषण गरिनुहुन्न । डडेल्धुरामा प्राविधिक रुपमा देउवाले जिते पनि जनमत देउवाप्रति आक्रोश देखिन्छ । कुनै बेला देउवाले नेपालको राजनीतिक परिवर्तनको लागि योगदान दिएका थिए र त्यसैको साँवा व्याज उनले धेरै वर्ष खाए । 

उनले नेपाली जनताको सामाजिक र आर्थिक अवस्थाको परिवर्तनको लागि केही गर्न सकेनन् । यस्तो अवस्थामा आउँदा पनि अझै देउवा पक्षीय कांग्रेसले देउवाकै भजन गाउँदै हिड्नु भनेको देशलाई झन् अस्थिरतातिर धकेल्नु र कांग्रेसलाई सक्नु नै हो । देउवाकै कारण कुनैबेला प्रजातन्त्रको पर्यायवाची मानिने कांग्रेस आज एक्लै उभिन नसकेर गठबन्धनको नाममा कम्युनिष्टको सहारा लिएर जनता माझ जानु परेको छ । स्थानीय, प्रादेशिक र संघीय चुनावी माहौललाई हेर्दा कांग्रेसका प्रमुख देउवा हुन् कि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन् ठम्याउन नै गार्हो लाग्ने भयो ।

अहिले पनि प्रचण्ड आफूले कांग्रेसलाई जस्तो बनाउन मन लाग्यो उस्तै बनाउन सकिन्छ भन्दै गर्व गर्छन् । आज नेपाली कांग्रेसले आफ्नो आस्था, विचार, सिद्धान्तलाई निमिट्यान्न नै पारेर प्रचण्डलाई केन्द्र बनाएर हिँडेको छ । नेपाली कांग्रेस कम्युनिष्टहरू चिराचिरा भएको बेलामासमेत एक्लै चुनावमा होमिन सकेन ।

यसपालिको निर्वाचनमा कम्युनिष्टको सहारा लिएर कांग्रेस ठूलो दल र केही धेरै सिट जितेको भए पनि संगठन र विचारको दृष्टिकोणले कमजोर भएको छ । आज नेपाली कांग्रेसले आफ्ना इमान्दार कार्यकर्तालाई पूर्वाग्रहमा राखेर पार्टीलाई प्रचण्डीकरण बनाएको देखिन्छ । पार्टीको महाधिवेशनबाट केही नयाँ पुस्ता आए पनि तिनीहरूले प्रतिरोध गर्न नसकेको देखिन्छ । 

जनताको मतले अबको प्रधानमन्त्री युवा पुस्ता हुनुपर्छ भनिरहँदा पनि ती युवाहरू केन्द्रीय पङ्तिबाट अझै दबाबमा परेको देखिन्छ । देशको यस्तो दुरावस्था हुँदासमेत केही सीमित व्यक्तिको फाइदाका लागि पुनः वृद्धलाई नै प्रधानमन्त्री बनाउन खोज्नु भनेको देशलाई थप जटिलता र अस्थिरतातिर नै धकेल्नु हो । यस्तो अवस्थामा नेपाली कांग्रेसका जिम्मेवार नेताले अत्यन्तै सुझबुझ तरिकाले विचार पुर्याउनु पर्ने देखिन्छ ।

नेकपा एमाले र माओवादीलाई पनि यसपालि जनताले नराम्ररी धूलो चटाइदिएका छन् । खड्गप्रसाद ओलीको अंहकार र दम्भले एमाले खुम्चिनु परेको छ । उनले पार्टीलाई ओलीकरण बनाए । जसको परिणाम उनका हेभिवेट नेताले शर्मनाक हार बेहोर्नु पर्यो र पार्टीले ठूलो क्षति बेहोर्नु पर्यो । अहिले जनताले ओलीलाई सरकारमा जाने मत दिएका छैनन् । उनी सरकार बाहिर बसेर सच्चिनु पर्छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि सरकारको साँचो समात्न जनमत दिएका छैनन् । अहिलेको निर्वाचन परिणाम हेर्दा नेकपा माओवादी भनेको त्यही २०६४ को माओवादी पार्टी हो र ? भन्ने अवस्थामा पुगेको छ । आज महागठबन्धन गरी निर्वाचनमा जाँदा पनि माओवादीले नराम्ररी हार्नु परेको छ । यसैले सरकारको नेतृत्वको लागि माओवादी जनअनुमोदन भएको छैन । अबका दिनमा माओवादी नसच्चिने हो भने सकिने सम्भावना देखिन्छ ।

नेपाली कांग्रेसमा देउवा बाहेक आफूलाई अघि सारी प्रधानमन्त्रीको दौडमा रहेका शीर्ष नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला र डा. शशांक कोइरालाहरू पनि उमेर, सक्रियता, भिजन, जनमत आदिको दृष्टिकोणले नेतृत्व गर्न लायक छैनन् । प्रधानमन्त्री भनेको लिगलिगको दौडमा बाजी मारेर जितिने खेल होइन । अनि उत्तर वा दक्षिण फर्केर शाष्टाङ्ग दण्डवत् गरेर आशीर्वादले पाउने पद पनि होइन ।

कसैले आँखामा आँसु निकालेर अब त मेरो पालो हो भन्दैमा पनि प्रधानमन्त्री पाइने होइन । आजको २१ आंै शताब्दीमा देशको प्रधानमन्त्री बन्नु भनेको बाँडीचुँडी खानु भनेको पनि होइन । अहिलेको नेपाली जनताको मतादेश र जनादेशको आसय भनेको देशलाई योजनासहित हाँक्ने र समृद्ध नेपाल बनाउने सपना भएको प्रधानमन्त्री हुनुपर्छ भन्ने हो । 

युवालाई नै प्रधानमन्त्री बनाउनु पर्छ भन्ने नै हो । अहिलेको लागि नेपाली कांग्रेसभित्र  महामन्त्री गगन थापा नै सर्वोपयुक्त विकल्प देखिन्छन् । नेपाली कांग्रेसका सबै शीर्षस्थ नेताहरूले महामन्त्री गगन थापालाई नै एक मात्र विकल्प बनाई प्रधानमन्त्रीको दौडमा अगाडि सार्नुपर्छ र उनलाई अन्य पार्टीको सहयोग लिई प्रधानमन्त्री बनाउनुपर्छ ।

आज बारम्बार पुस्तान्तरण र रुपान्तरणको मुद्दा उठिरहेको बेलामा सत्ताको साँचो अब युवा पुस्ताले पाउनुपर्छ भनेर यति ठूलो जनदबाब आइरहँदा पनि नेतृत्व पङ्ति आफ्नो दम्भ देखाइरहेका छन् । लामो समयसम्म देशको शासन सत्ता चलाएर असक्षम सावित भएका पुरानो पुस्तालाई जसरी पनि बिदा गरी अबको नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ भन्ने जनमत नै पुस्तान्तरणको मुद्दा हो । 

अबको राज्य सञ्चालन र पार्टी सञ्चालनको नेतृत्वमा नयाँ पुस्ता आउनु पर्छ भनेर जनआवाज र जनमत घन्किदै गएको सुनिन्छ र पुराना पार्टीको विकल्पमा नयाँ पार्टी जन्मिएका छन् । शासन सत्तामा लामो समयसम्म जरा गाडेर बसेको पुरानो पुस्ताप्रति विद्रोह र जनआक्रोशका स्वरहरू पनि बुलन्द हुँदै गएको देखिन्छ ।

आजको पुस्तान्तरण आवाज र आक्रोश भनेको केबल उमेरको दृष्टिकोणले मात्र व्यक्ति परिवर्तन गर्न खोजिएको होइन सक्रियता र परिणामको मापनलाई पनि आधार बनाइएको हो । मानिसको उमेर बढ्दै जाँदा स्वभाविक रुपमा उसमा शारीरिक र मानसिक स्थिति कमजोर हुँदै जान्छ । तर पनि उमेरको दृष्टिकोणले मात्र कसैलाई तन्नेरी र बुढो भनिहाल्नु पर्दैन । 

संसारमा शासनसत्ता चलाउने कुरामा कतिपय तन्नेरी असफल भएका छन् भने वृद्ध पूर्ण सफल भएका प्रशस्त उदाहरण छन् । नेपालको सन्दर्भमा अहिलेको नेतृत्वलाई दोष लगाउन खोजेको उमेरले होइन मात्र उनीहरूको सक्रियता र विगतको कामको परिणामले हो । प्रजातन्त्र पुनः बहाली भएको ३३ वर्ष हुँदासम्म एउटै व्यक्ति वा एउटै शक्ति विभिन्न पार्टीका नाममा सत्ताको वरिपरि घुमिरहेको छ । 

ऊ सत्ता छोड्न पनि सक्दैन र देश र जनताको लागि केही गर्न पनि सक्दैन । राजनीतिक पार्टीका रुपमा विभिन्न नाम दिएर सत्तालाई बिला लगाइ बाँडिचुँडी खाने गरिएको तीतो यथार्थ छ । पार्टीभित्र गुट बलियो बनाउने र जहिले पनि आफू नै नेतृत्वमा रहने प्रवृत्तिले नयाँ पुस्ताले मौका पाउन सकेका छैनन् । नेपालका धेरैजसो राजनीतिक दलहरू निश्चित व्यक्तिका निजी कम्पनी जस्ता पनि बनेका छन् । 

ती दलहरूमा आन्तरिक लोकतन्त्र भन्ने नै छैन । सबै झोले र टीके प्रणालीबाट चलेका छन् । दलहरू राजनीतिक चिन्तन र विचारभन्दा पनि गुटवाद, परिवारवाद, नातावाद, कृपावाद, चाकरी र चाप्लुसीवादबाट परिचालित भएका छन् । यस्तै सोच र चिन्तनले गर्दा नेपालका दलहरू दलजस्ता हुन सकेनन् । जसरी पनि कुर्सी चाहिने र देश लुट्ने प्रवृत्तिले गर्दा पुराना पुस्ताबाट नेपाल र नेपालीको उन्नति, प्रगति र समृद्धि हुन सकेन ।

नेपालमा वर्षौँदेखि पटकपटक कुनै न कुनै पार्टीका नामबाट सत्ता र शक्तिको नेतृत्व गर्ने भनेका यिनै शेरबहादुर देउवा, पुष्पकमल दाहाल, खड्गप्रसाद ओली, माधवकुमार नेपाल आदि नै रहे र अहिले पनि यिनीहरू नै लाज पचाएर सत्ताको दाउ हेरिरहेका छन् । जनताको यति ठूलो आक्रोश र खबरदारी हुँदाहुँदै यी पात्रहरू पुनः जाग्न लागेका छन् । यिनले विगतमा कहिँ न कतैबाट आफ्नो कार्यकालमा देशको समृद्धिभन्दा पनि आफ्नो गुट र आफन्तको समृद्धिमा समय खर्चिए र देशलाई झन्पछि झन् कंगाल बनाउँदै गए । 

यिनीहरूको प्रमुख उद्देश्य भनेको पार्टीभित्रको गुट बलियो बनाउने र जसरी हुन्छ सत्ताको स्वाद लिने भन्दा अरु केही देखिएन।यिनीहरू सत्ता स्वार्थको लागि जे हुन र जे गर्न पनि तयार भए । यिनीहरूमा राजनीतिक विचार र सिद्धान्त भन्ने केही पनि देखिएन । सत्ताकै लागि कांग्रेस कम्युनिष्ट र कम्युनिष्ट कांग्रेस मात्र बनेनन् कि जे बन्दा सत्ता मिल्छ त्यही बनिदिए । सत्ताकै लागि मिलेमतोमा अप्राकृतिक गठबन्धन नै गरी चुनावमा गए।यी राजनीतिक पार्टीमा र नेतामा कुनै विचार, सिद्धान्त, नैतिकता, इमान्दारिता, जवाफदेहिता र उत्तरदायित्वपन भन्ने छैन । यसले गर्दा नेतृत्वपङ्ति पूर्ण असफल र असक्षम प्रमाणित भएको छ ।

आजको नेपालको महत्वपूर्ण आवश्यकता भनेको समाज रुपान्तरणको हो । व्यवस्था परिवर्तन पछिको कुरा नै गर्ने हो भने पनि २०४७ देखि अहिलेसम्म आउँदा  राजनीतिक दलका २४, तत्कालीन राजाका २, दलरहित १ गरी जम्मा २७ सरकार बने । कुनै पनि सरकारले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न सकेनन् । पहिले मिलेमतोमा सत्तामा जाने अनि केही महिना नबित्दै खुट्टा तान्ने प्रवृत्तिले सरकार चल्न सकेनन् । 

आज गणतन्त्र घोषणाको १४ वर्ष भइसक्यो तर समाज जहाँको त्यहीँ छ । सरकार जति फेरिए पनि देश र जनताको अवस्थामा रुपान्तरण हुन सकेन । न देशमा उद्योग कलकारखाना खोलिए न जनताको जीवन स्तरमा सुधार भयो । नेता धनी र  सम्पन्नशाली बन्दै गए भने जनता गरिब हुँदै गए । व्यवस्था परिवर्तनबाट जनताले जे आशा गरेका थिए त्यो पाउन सकेनन् । देश सिंगापुर र स्वीट्जरल्याण्ड बन्ला भन्दा पछिल्लो अवस्थाको श्रीलंका हुन लाग्दैछ ।

जहिले पनि राजनीति भनेको सत्ता केन्द्रित मात्रै छ।राजनीतिलाई अत्यन्तै दुर्गन्धित र फोहोरो बनाइएको छ।दलमा जहिले पनि आफूलाई सर्वेसर्वा ठान्ने टाउकेहरूले न आफूले परिवर्तन गर्न चाहे न अरुलाई मौका दिए।यसले गर्दा रगतको खोलो बगाएर ल्याएको परिवर्तनबाट जनता सधैं निराश हुनुपरेको छ । संघीयताका नाममा भुरेटाकुरे राज्य जस्तै बनाई देशको सम्पत्ति लुट्ने काम भएको छ । देशको बजेटभरि चालु खर्चमा नै सकिन्छ भने पुँजीगत खर्च आर्थिक वर्षको अन्त्य असारमा शुरु भएर असारैमा सिद्धिन्छ । उपलब्धि शुन्यप्रायः नै हुन्छ । २०४७ पछि विकास नै भएको छैन भन्न खोजिएको होइन, जुन रप्तारमा हुनुपर्ने थियो र जे परिणाम आउला भनिएको थियोे त्यो हुन सकेन । देशका सम्पूर्ण अङ्गहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका थुप्रै प्रमाण र तथ्यहरू छताछुल्ल बाहिरिएकै छन् ।

आज दलहरूमा आन्तरिक लोकतन्त्रको अभ्यास र प्रयोग नहुँदा दलहरू दल बन्न  सकेनन् । लोकतन्त्रमा दलहरूको क्रियाकलाप लोकतान्त्रिक होला भन्दा झन सामन्तीशैली देखियो । नेतृत्वले काम पनि नगर्ने कुर्सी पनि नछोड्ने प्रवृत्तिले लोकतन्त्र फैलिन, हुर्किन र बलियो हुन पाएन । लोकतन्त्र प्राप्तिपछि जनताले पाएको एउटा कुरा भनेको वाक् स्वतन्त्रता नै हो । अरु उल्लेखनीय केही देखिएन । यो सम्पूर्ण कुराको दोषी भनेका अहिलेका ठूला पार्टीका जिम्मेवार नेतृत्व नै हुन् । 

व्यवस्था परिवर्तनको लागि जनताको यति ठूलो साथ र समर्थन हुँदा पनि जनअपेक्षा अनुकूलका केही काम हुन नसकेको हुनाले अहिलेको राजनीतिक पहिलो पुस्ता अब विश्वास गर्न लायक नै छैन र कुनै हालतमा यिनलाई सत्ताको साचो सुम्पिनु हुँदैन।सत्ताको लागि मात्र सत्तामा जाने भन्दा अरु सोचाइ यिनमा छैन । जनमतको कदर गर्दै युवाको आक्रोश र आकाक्षालाई बुझ्ने गरी नयाँ पुस्ताले सत्ता प्राप्तिको हस्तक्षेप गर्नुपर्छ, अब पर्खने अवस्था छैन। नयाँ पुस्ता आउँदा केही रुपान्तरण हुन्छ कि भन्ने आशा गर्ने ठाउँ छ भने पुरानाबाट अब केही हुन्न भन्ने पूर्णतया प्रमाणित भइसक्यो ।

पार्टीमा गुट र उपगुट बनाएर बसेका नेताका केही टीके र झोलेहरूले आफूले पनि तिनीहरूबाट केही रस चुस्न पाइने हुनाले पनि तिनैको भजन गाउँदै हिँडेका छन् । सिनियर नेताहरूमा मै खाऊँ मै लाऊँ सुख सयल मै गरूँ अरु मरून् दुर्बलहरू भन्ने चिन्तन रहेको तथ्यगत रुपमा प्रमाणित भएको छ । हिजो हवाई चप्पल लाएर राजधानी छिरेका प्रायः नेताहरूका आज काठमाडौंमा ठूला आलिशान महल छन् । 

उनीहरूको जीवनस्तर अति उच्च वर्गीय बनेकोछ । यस्तो अवस्था देख्दादेख्दै  अझै पनि यिनैको स्तुति गरेर वा यिनैलाई पुनः सत्ताको साँचो दिलाउनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु नै हो र देशलाई अझै नराम्रोसँग खाडलमा फसाउनु हो ।

जनता पार्टीले गरेका सामन्तीशैलीका विरुद्ध जाग्न लागेको भर्खरै सम्पन्न निर्वाचनले पनि देखाएको छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । दलहरूलाई दण्ड र पुरस्कार दिने भनेकै निर्वाचन हो।अहिलेको निर्वाचनमा पनि देशको राजधानी लगायत चितवनमा ठूला पार्टीलाई जनताले राम्रै धक्का र दण्ड दिएका छन् । कतिपय पार्टीहरूका किल्ला र गढ भत्किएका छन् । 

लामो समयसम्म कुर्सीमा जरा गाडेर बस्नेहरूका विरुद्ध आम नागरिकको ठूलो आक्रोश पोखेका छन् । नेपालको  राजनीतिभित्रको यो विकृत ऐजेरुलाई जसरी पनि निर्मूल पार्नुपर्छ र नयाँ पुस्ताले सत्ता सम्हाली देशको मुहार फेर्न ढिलो गर्नुहुन्न ।

नयाँ पुस्ता वा युवा पुस्तालाई अन्धो भएर समर्थन गर्नुपर्छ भन्न खोजेको होइन अब  विकल्पमध्येको सर्वोपयुक्त विकल्प यही हो।हाम्रो देश बनाउन कोही बाहिरबाट ल्याउने कुरो भएन । यहीँ रहेका मध्येबाट असफल र असक्षमलाई बिदा गर्ने, सच्चिन चाहनेलाई मौका दिने, नयाँलाई अवसर दिनु नै अहिलेको विकल्प हो । 

अहिलेको युवापुस्ता पनि सबै दुधले नुहाएका छन् भन्न खोजेको होइन । आजसम्म युवा पुस्ताले अवसर नै पाएनन् । नयाँ पुस्ता जाँचिन बाँकी नै छन् । उनीहरूलाई कामबिना आक्षेप लगाउनु हुँदैन । जनताले पनि विगतबाट पाठ सिकेर विकास र समृद्धिको लागि युवालाई घच्घचाउनु पर्छ । युवा आयो अब गर्ला भनेर चटक्क छोड्नु हुँदैन । 

तिनीहरूलाई निगरानी गरिरहनु पर्छ । अहिलेका कांग्रेसमा देउवा वा देउवाको पुस्ता, कम्युनिष्टमा ओली र प्रचण्ड वा यिनका पुस्ता सबै नै असफल भएका छन् । यिनले राज्य सञ्चालन गर्न सकेनन् । जनताको आशालाई निराशामा परिणत गरिदिए । काम गर्न सक्षम छ भने मान्छे उमेरले बुढो नहुने हुँदा उमेरलाई मात्र आधार बनाउनु पर्छ भन्न खोजेको होइन । तर अहिलेको नेतृत्वमा सक्रियता, जोश, जाँगर भन्ने केही छैन । यिनीहरू उमेरले पनि असक्षम भए सक्रियताको दृष्टिकोणले पनि शिथिल भए । सबै दृष्टिकोणले पूर्ण असफल भए ।

अबको नेतृत्वको आशाको धिपधिपे भनेको युवा पुस्ता नै हुन सक्ने हुनाले परम्परित पुस्ता भन्दा नयाँ युवा पुस्ता नै अघि सर्नुपर्छ । लोकतन्त्रमा दलको विकल्प स्वतन्त्र हुन सक्दैन तर विकल्प नहुँदा केही स्वतन्त्रले जितेको देखिन्छ । हरेक पार्टीले आफ्नो पार्टीलाई स्थायित्व र जीवन्तता दिने हो भने नेतृत्वको अब नेतृत्वको विद्रोह गरेर नेतृत्वमा पुग्नुपर्छ । गुटबन्दीका कारण अवसरबाट बन्चित भएका युवाहरू पार्टीका विरुद्ध अब बोल्नुपर्छ ।

अहिले प्रधानमन्त्रीको लागि लिगलिगमा दौडिन खोजेका ओली, प्रचण्ड, देउवा आदिलाई मैदानबाट बाहिर्याउनु पर्छ । यिनलाई कुनै पनि हालतमा दोहोर्याउनु हुँदैन।नेपाली राजनीतिको पहिलो पुस्ता प्रयोगबाट नै पुरै असक्षम र असफल प्रमाणित भयो । अब यिनीहरूलाई कहिँ कतै अवसर दिनु भनेको आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हो । 

दोस्रो र तेस्रो पुस्ता जाँचिन पाएको छैन । उसले अवसर खोजिरहेको देखिन्छ । सामान्य तरिकाले हेर्दा दोस्रो र तेस्रो पुस्तालाई आक्षेपै लगाउने अवस्था पनि छैन । तिनीहरूमा देशको विकास र समृद्धिको पक्षमा केही सपना, योजना,आत्मविश्वास र हुटहुटी तीव्र देखिन्छ । त्यसकारण अब हरेक पार्टीमा युवा पुस्ताले हस्तक्षेप गर्नै पर्छ । दलका सबै मान्छे वा सबै बुढापुस्ता खराबै छन् भन्न खोजिएको हैन, केही असल पनि छन् । तिनलाई अभिभावक बनाएर काम गर्नुपर्छ । 

अहिलेको जनमत भनेको सरकारमा युवा पुस्ताले नेतृत्व गरी लामो समयसम्म रहेको नेपालको राजनीतिक विकृतिलाई सदाको लागि अन्त्य गर्नुपर्छ र पुराना पुस्ताले पनि यसरी नयाँ विचार र सपना बोकी आएका यस्ता युवालाई अवसर दिनुपर्छ र देशमा लामो समयदेखि रहेको राजनीतिक अस्थिरता र दुर्गन्धलाई सफा गर्नुपर्छ । 

२१ औं  शताब्दीको युग अनुकूल र लोकतन्त्रलाई मलिलो र बलियो बनाएर देश हाँक्ने एउटा सक्षम नेतृत्व नेपाली जनताले खोजिरहेको अवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले जस्ता ठूला पार्टीका नेतृत्वले गम्भीर भएर सोच्नुपर्छ र आफूमा रहेको अहंकार र दम्भ त्याग्नुपर्छ । 

अहिले नेपाली कांग्रेस पनि गुटउपगुट मात्र नलागेर सम्पूर्ण जनमतको कदर हुने गरी महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्छ । सबै पार्टीहरूले चुनावी परिणामलाई स्वीकार्नु पर्छ । युवाहरूको देश विकासप्रति अत्यधिक चिन्ता र चिन्तन साथै सामाजिक रुपान्तरण गर्न सक्ने उत्कट चाहना र योजना पनि हुनाले अबको सत्ता युवा पुस्तालाई नै हस्तान्तरण गरिनुपर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ