arrow

पूरा हुँदै पोखरेलीको सपना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
Pokhara international airport nepal.jpg

पोखरा । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।

यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्धएयरले आवश्यक तयारी गरिरहेको उक्त एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । उडान अनुमतिका लागि बुद्ध एयरले सम्बन्धित निकायमा निवेदन दिइसकेको उनले बताए । एयरलायन्सले पोखराबाट पहिलो उडान पोखरा-बनारस-पोखरा गर्ने योजना बनाएको उनले बताए ।

“हामी उडानको लागि लगभग तयारीमा छौँ, पोखरा-बनारसको उडानको अनुमति माग्नुका साथै त्यसअघि परीक्षण उडानका लागि पनि अनुमति मागिएको छ”, उनले भने । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

उडान सञ्चालनकै तयारीस्वरुप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटानकार्य सकिएको उनले जानकारी दिए । धावनमार्गको ‘अप्रोच’मा पर्ने डाँडाको ४० मिटर डाँडा काटेर समतल बनाउने गरी बाँकी २४ मिटर काट्ने काम पनि तीव्र रुपमा चलिरहेको उनले बताए ।

“जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान (हेलिकोप्टर र अल्ट्रालाइट बाहेक) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी भएको छ”, जोशीले भने । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारी भइरहँदा पोखरेली पर्यटन व्यवसायी यसले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताउँछन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकीय नगरी पोखराको सिधैँ विश्व बजारमा सम्पर्क हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउछन् । आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधैँ पोखरा आउनसक्ने भएकोले यहाँको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताए ।

पोखरामा दैनिक २० हजार भन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवाशको सुविधा दिन सकिने बताउँदै उनले विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका सडक लगायतका पूर्वाधारमा विशेष ध्यान दिनु जरुरी रहेको बताए । “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आगामी दिनमा पोखरा र गण्डकी प्रदेशका विभिन्न जिल्लाका उत्पादनलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ”, उनले भने ।

पोखरामा विभिन्न देशबाट आउने पर्यटक साहसिक पर्यटनलाई पनि लक्षित गरेर आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष धर्म पन्थीले बताउछन् । पोखरा हुँदै अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण आधार शिविर, धवलागिरि पदमार्ग, मर्दी पदमार्ग आदिमा पर्यटक जाने गरेको बताउँदै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा र यससँग जोडिएका पर्यटकीय गतिवधि बढ्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको पर्यटनका लागि बरदान सावित बन्ने नेपाल टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित गर्ने बताउँदै उनले विमानस्थल सञ्चालनसँग जोडिएका अन्य पूर्वाधारको विकास तथा विस्तारमा राज्यको ध्यान जानु जरुरी रहेको बताए ।

पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको विमानस्थल निर्माणका अभियन्तामध्येका एक विश्वशङ्कर पालिखे बताउछन् । अभियन्ता पालिखेका अनुसार विमानस्थलको निर्माणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ देखि सङ्घर्षका कार्यक्रम शुरु गरेको थियो ।

विमानस्थल निर्माणका लागि पोखरेली जनताको लामो सङ्घर्षको इतिहास जोडिएको उनले बताए । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेका थिए ।

निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । करिब तीन हजार ७०० रोपनी क्षेत्रफलमा निर्मित विमानस्थलमा न्यारोबडी एयर बस तीन सय २० र बोइङ सातसय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ ।

यस विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । 

विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् । विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएपछि गत चैतमा चिनियाँ निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो ।

तथ्याङ्क अनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ