arrow

बैङ्किङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरु गर्‍यो एन बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
naibl-nBank-no-banking--2022.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले नेपालमा नै पहिलो पटक एन बैङ्क (नियो बैङ्क) सञ्चालनमा ल्याइएको छ। नबिल बैङ्कले बिहीबार (आज) भर्चुअल कार्यक्रम गरी एन बैङ्क (नियो बैङ्क) को सुरु गरेको हो।

बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा एन बैङ्कको शुभारम्भ गरेसँगै नबिल बैङ्क कम्प्युटराइज्ड बैङ्कबाट डिजिटल बैङ्कमा परिणत भएको छ। मोबाइल बैङ्किङ एपलाई पूर्ण रूपमा परिमार्जन गरी एन बैङ्कको शुभारम्भ गरेर नबिल डिजिटल बैङ्किङको नेतृत्व गर्न सफल पहिलो बैङ्क भएको छ।

नबिल बैङ्कले एन बैङ्कलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो। नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एन बैङ्कले जनताको बैङ्किङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैङ्किङमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एन बैङ्कको शुभारम्भसँगै अब बैङ्किङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैङ्कले गर्नेछ। ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैङ्किङ सेवाहरू प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैङ्किङमा नयाँ तरङ्ग ल्याएको छ।’ उपभोक्ताले विश्वसनीयता र व्यक्तिगत अनुभवद्वारा मूल्याङ्कन गर्ने बताउँदै उनले भने, ‘एनबैंक कुनै पनि भौतिक शाखाविनाको निजी कृत भर्चुअल बैङ्किङ हो।’

बैङ्कका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एन बैङ्कको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैङ्किङ सेवाहरू सजिलैसँग लिन सक्नेछन्। एन बैङ्कले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्ष चौधरीले अबको बैङ्किङ भविष्य डिजिटल बैङ्क नै रहेको स्पष्ट गरेका छन्।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले डिजिटल बैङ्कको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। ‘एन बैङ्कको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु । हामीले सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौँ र आज नबिल स्मार्टबैंक एप उत्कृष्ट बैङ्किङ अनुभवको लागि एन बैङ्कमा परिणत भएको छ।’ अनलाइन बैङ्किङ रोज्ने ग्राहकलाई एन बैङ्कले आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्ने सम्मका सेवा दिने उनले बताए।

नबिल बैङ्कका डिसिइओ विनयकुमार रेग्मीले नेपाली बैङ्किङ उद्योगमा नवयुगको सुरुवात भएको बताए। ‘आज पूर्णतया डिजिटल बैङ्क, एनबैंक शुभारम्भ गरेर नेपाली बैङ्किङ उद्योगमा नवयुगको सुरुवात भएको छ,’ रेग्मीले भने, नबिल बैङ्कले डिजिटल प्रविधिमा अगुवाइ गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौँ जसले तपाईँको बैङ्किङ सेवा लिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ।’

के हो एन बैङ्क, कसरी उपयोग गर्ने ?
एनबैंक (नियो बैङ्क) – मोबाइल बैङ्किङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नेपालमा पहिलो पटक नबिल बैङ्कले सुरु गरेको डिजिटल बैङ्क हो। यस पहिले नै नबिल स्मार्टबैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगो ‘ए’ बाट एन बैङ्कको ‘एन’ मा परिणत हुन्छ। यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एण्ड फिल अपडेट गरिएको छ।

नबिल बैङ्कमा खाता नखोलेका महानुभावहरूले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैङ्क खाता खोल्न सक्नेछन्। एन बैङ्क मार्फत खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैङ्कको दाबी छ।एनबैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैङ्क खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् । 

यस्ता छन् एन बैङ्कका प्रमुख ५ विशेषताहरू
१. ३० सेकेन्ड मै खाता खोल्न सकिने  

एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एनसेभिङ् खाता खोल्न सकिनेछ। खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ। खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन्।

२. डिजिटल ऋण
ग्राहकहरूले आफ्नो एनबैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छन्। नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ।

ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोन लोन प्राप्त गर्न सक्छन्। बैङ्कको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सीधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन्। यसको लागि बैङ्क धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन। 

३. एन–रेमिट
नेपाल भित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैङ्कहरूबाट सिधै नबिल बैङ्कको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ। प्राप्तिकर्ताले केही सेकेन्डमा नबिल बैङ्क खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछ।

४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैङ्क खाता सञ्चालन गर्न सक्नेछन्। विदेशमा बस्ने ग्राहकहरूले नबिल बैङ्कबाट एसएमएस अलर्ट, ओटिपि, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन्।

५. २४ सै घण्टा सातै दिन सेवा
बैङ्कले आफ्ना ग्राहकलाई बैङ्कको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत २४ सै घण्टा सेवा प्रदान गर्नेछ। एन बैङ्कको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको छ।
माथिका बाहेक, ग्राहकले आफ्नो एपबाट सीधै बैङ्किङ सेवाहरूको होस्टको लागि आवेदन दिन सक्छन्:

क. नयाँ डेबिट कार्ड
ख. डेबिट कार्ड प्रतिस्थापन
ग. क्रेडिट कार्ड
घ. व्यक्तिगत ऋण

यसबाहेक, निम्न सूचना सेवाहरू पनि एपबाट पहुँच गर्न सकिन्छ:
क. सम्पर्क
ख. शाखाहरू-एटिएमहरू 
ग. ब्याजदर
घ. विनिमय दर
ङ. इएमआई क्यालकुलेटर

एन बैङ्क मार्फत ग्राहकहरूले आफ्नो मोबाइल बैङ्किङ एपमा प्रयोग गर्ने सबै कुरा गर्न सक्छन्। नबिल बैङ्कले एन बैङ्कको सुरुवात गरेर सम्पूर्ण बैङ्किङ क्षेत्रलाई एक पटक पुनः नयाँ उदाहरण पेस गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ