- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आम निर्वाचन २०७९ बाट १२ ओटा दल संसदमा आए । यीमध्ये दुईवटा एक एक सिट बाहेकका दश ओटै दलले गएको हप्ता आफ्नो संसदीय दलको नेता छाने । त्यसमा एउटा बाहेक सबै दलका प्रमुख नै निर्विरोध नेता भए । उनका विरुद्ध प्रतिस्पर्धाका लागि यी दलभित्र कतै चाइँचुइँ पनि भएन ।
पार्टी अध्यक्ष संसदीय दलको नेता नभएको त्यो एउटा दल पनि आफू चुनावमा हारेका कारण अरुलाई यो नेता पद हस्तान्तरण गर्न वाध्य भएका हुन् । यसरी अध्यक्ष निर्विरोध नेता छानिनेमा राष्ट्रिय मान्यता पाए नपाएका सबै पर्छन् । यो चुनावमा सात ओटा दलले मात्र त्यस्तो मान्यता पाएका थिए । जसमध्ये चार ओटा दल पुराना हुन् ।
संयोग कस्तो देखियो भने पुराना यी चारओटै दलका आकार अघिल्लो चुनावको तुलनामा पछिल्लो चुनावमा घट्यो । यो पटक राष्ट्रिय मान्यता नपाएकामध्ये एउटा दल पुरानो हो जो अघिल्लो निर्वाचनमा त्यस्तो मान्यता पाएकामध्ये एउटा थियो । अघिल्लमे निर्वाचनमा पाँचाँै दलको स्थानमा रहेको योदल अहिले नवौंमा पुगेको छ । त्यसले पनि यो पटक आफ्नो अध्यक्षलाई नै सांसदीय दलको नेतामा निर्विरोध छानेर थप शक्ति दियो ।
पुराना मध्येका यी चारओटै दल यो चुनावमा अघिल्लो पटकको भन्दा कम मत ल्याउनेमा पर्छन् । यो भनेको दल दब्लाउँदै गएको अवस्था हो तर यता यिनका नेता भने त्यो दलभित्र झन् बढी शक्तिशाली भए । अवस्था कुन हदसम्म देखियो भने एउटा दल नेपाली कांग्रेस बाहेक सम्बन्धित दलका प्रमुखलाई कसैले सामान्यरुपको पनि चुनौती दिन नै नसक्ने स्थिति रहेछ । निर्वाचित भएका नयाँ पुराना सबै दलमा कांग्रेस बाहेक सब दलका अध्यक्ष नेतामा निर्विरोध भए ।
कांग्रेसमा चुनाव त भयो तर पार्टी सभापतिले नै दलको नेतामा ७२ प्रतिशत हुने गरी मत ल्याए । यो भनेको आफ्नो दल भित्र दुई तिहाई भन्दा बढी मत हो । एमाले र माओवादीले त शत्प्रतिशत (निर्विरोध) मत पाएर तिनका अध्यक्ष नेतामा विजयी भए । यो भनेको आफ्नो दलभित्र यी अध्यक्षहरु थप शक्तिशाली हुनु हो ।
एमाले र माओवादीका नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यी दुइपार्टीका अघिल्लो वर्षको मंसिर पुसमा सम्पन्न महाधिवेशनबाट निर्विकल्परुपको शक्तिशाली नेता बनेका हुन । त्यसबेला केन्द्रीय कमिटीदेखिका सबै पद यी नेताले आफैँले छानेका थिए ।
अहिले संसदीय दलको नेतामा पनि त्यस्तै भयो । उनीहरुविरुद्ध उम्मेदवारी परेन मात्र होइन यसबारे कसैले चाइँचुइसम्म गरेनन् । अर्थात् उनीहरुमा शक्ति थपिँदै गयो । यता उनीहरुको नेतृत्वमा सम्पन्न निर्वाचनमा भने उनका दलको ठूलो हार भयो ।
बलिया बन्दै देउवा
पछिल्ला दिन नेपाली कांग्रेसका सभापति देउवा चर्चामा आए । कारण हो पुसको पहिलो हप्ता भएको संसदीय दलको नेतामा भारी मतान्तरले निर्वाचित हुनु । यो निर्वाचनले उनको शक्ति धेरै बढायो । पार्टी महामन्त्री गगनकुमार थापासँगको प्रतिस्पर्धामा ८९ मतदातामध्ये देउवाले ६४ र थापाले २५ मत पाए ।
पार्टीको संसदीय दलको नेतामा यो मतान्तरले निर्वाचित भएसँगै देउवा पार्टीभित्र मात्र होइन समग्र देशको राजनीतिमा झन् शक्तिशाली अर्थात् झन् मोटा भए । यसअघि उनी पटकपटक संसदीय दलको नेता निर्वाचित भएका थिए । देउवाको २६ भदौ ०५२ मा पहिलोपटक, ७ साउन ०५८ मा दोस्रोपटक, २१ जेठ ०६१ मा तेस्रोपटक, २३ जेठ ०७४ मा चौथोपटक र २९ असार ०७८ मा पाँचौँपटक प्रधानमन्त्री भएको इतिहास छ ।
यो पटक संसदीय दलमा ७१.९१ प्रतिशत सांसद आफ्नो पक्षमा उभिएको देखाएका देउवासँग केन्द्रीय कार्यसमितिमा पनि ठूलो शक्ति छ । केन्द्रीय समितिमा उनको पक्षमा ८२.२७ प्रतिशत सदस्य छन् । अझै १० जना मनोनयनको अधिकार सभापतिलाई छ ।
०५८ मा देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा हुँदा देउवाले ६४ प्रतिशत मत ल्याएर जितेका थिए । ०७४ मा देउवा र प्रकाशमान सिंह आमनेसामने भएका थिए । त्यसवेला देउवा ६९ प्रतिशत मत ल्याएर संसदीय दलको नेता चुनिएका थिए । यसपटक संसदीय दलमा देउवाको पक्षमा हालसम्मकै बढी ७१.९१ प्रतिशत मत आयो । एक वर्षअघि भएको १४औँ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पाटी सभापति बनेका थिए ।
मतको हिसाब
देउवा यसरी आफ्नो दलमा झन्झन् बलिया हुँदै जाँदा उनको दलको आकार भने मतको हिसाबमा घटेको देखियो । दोस्रो ठूलो दल एमालेको पनि अवस्था त्यस्तै छ ।
पूर्व न्यायाधीश बलराम केसीका अनुसार यतिबेला शक्ति थपिएका ठूला दलका नेता शेरबहादुर देउवा र केपी शर्मा ओली जनमतको ठूलो प्रतिशतबाट पराजित भएका व्यक्ति हुन् । खासगरी प्रत्यक्षतर्फ यी दलले पाएको मतमा त्यस्तो पराजय प्रकट भएको हो ।
संविधानले प्रत्यक्षतर्फ १६५ सिट छुट्याएको छ । यो संख्या जितहारको हिसाबको आधार हुन सक्दछ । एमाले अध्यक्ष ओलीले त प्रत्यक्षतर्फको यो १६५ सिटमध्ये मिडियामा १०० सिट जित्ने ठोकुवा गरेका थिए । यो पक्षबाट हेरियो भने उनको पराजयको प्रतिशत धेरै माथि हुन्छ । त्यसमध्ये एमालेले पाएको ४४ सिटको मात्रै हिसाब हुँदा ओलीको हारको भार ७५ प्रतिशत हुन्छ । यसो भनेको देशको यो प्रतिशतको जनसंख्याले ओलीको नेतृत्वलाई रुचाएन ।
कांग्रेसका सभापतिको अवस्था पनि त्यस्तै छ । यद्यपि यो दलले प्रत्यक्षतर्फ १६५ मध्ये ५७ सिट जितेको छ । यो भनेको कांग्रेसले करिव ६५ प्रतिशतले हारेको हो । आफनो दलमा ७२ प्रतिशतले जितेका देउवा देशका वयस्क जनता माझ भने यति ठूलो प्रतिशतले हारेको हिसाब आउँछ ।
प्रत्यक्षतर्फ १६५ मध्ये १८ सिट पाएको माओवादीका नेता प्रचण्डको त कति प्रतिशतको हार हो भन्ने हिसाब नगर्दा पनि भयो ।
पराजयको उल्लेखित प्रतिशतको यो हिसाबले सम्बन्धित दलको हैसियत अर्थात् आकारप्रकार यस रुपले घटेको बुझाउँछ । तर उता सम्बन्धित दलका यिनै नेतामा झन् ठूलो शक्ति गयो । ओली प्रचण्ड निर्विरोध नै नेता भए भने देउवा पनि धेरै ठूलो प्रतिशतको मत पाएर यस अघिको अवस्थाबाट झनै मोटाए ।
दुई चुनावको तुलना
पार्टी अध्यक्षमाथि संसदीय दलको नेता समेतको पद थपिएर झन मोटाएका यी नेताको नेतृत्वमा सम्पन्न चुनावमा दलको अवस्था कस्तो रह्यो भन्ने अघिल्लो र हालैका दुई चुनावका परिणाम हेरे पुग्छ ।
एमालेः मङ्सिर ४ मा सम्पन्न आम निर्वाचन २०७९ को समानुपातिकतर्फको कूल मत १ करोड ५ लाख ६० हजार ८२ थियो । यो संख्याबाट नै समानुपातिक तर्फका मत बाँडफाँट भएका हुन् ।
निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा राखेको समानुपातिक नतिजा अनुसार यो चुनावमा सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । तर अघिल्लो पटक भन्दा घटेको छ । यो चुनावमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । प्रत्यक्षतर्फ अघिल्लो वर्ष ८० सिट जितेको उसले यो पटक ४४ सिटमात्रै पायो । समानुपातिकतर्फ पाएको मतका आधारमा समेत उसका प्रतिनिधि सभाका सांसद संख्या ७८ पुगेका हुन् । २०७४ को निर्वाचनमा यो दलले ३१ लाख ७३ हजार ४९४ मत ल्याएर ४१ सिट पाएको थियो । अघिल्लो निर्वाचनमा पाएको मतको तुलनामा यो पटक एमालेको ३ लाख २७ हजार ८५३ मत कम आयो जसले उसलाई समानुपातिकमा ३४ सिटमात्र दिलायो । अघिल्लो चुनावमा प्राप्त भएको १२१ सिट संख्याबाट यो पटक ४३ सिट घटेको छ ।
यो दलले आफनो चुनावी अभियानमा विगतका भन्दा छ लाख बढी मत ल्याउने घोषणा गरेको थियो । यसको घोषणामा प्रत्यक्षतर्फ १०० र समानुपातिक तर्फ ५० सिट ल्याउने भनिएकोमा ४४ र ३४ मात्रै पायो भने कति सिट घटेछ हिसाब गरौं ।
यता यति धेरै सिट गुमाएको नेतृत्वलाई नै पदमाथि पद थप्ने काम भयो । यसका नेता ओली अध्यक्ष त छँदैथिए त्यसमाथि संसदीय दलको नेतामा पनि निर्विरोध भए । अर्थात् अध्यक्ष मोटाए दल चाहिँ दुब्लायो । दलले सिट गुमायो नेतृत्वको चाहिँ बढोत्तरी भयो ।
कांग्रेसः संसदमा पहिलो दल बनेको नेपाली कांग्रेसमा भने स्थिति अलिकति भिन्न छ । यो निर्वाचनमा यो दलले प्रत्यक्षतर्फ ५७ सिट पायो । अघिल्लो निर्वाचनमा यसले २३ सिट जितेको थियो । त्यसको तुलनामा यो पटक ३४ सिट बढी ल्याएको हो । तर यता कांग्रेसको पनि यो निर्वाचनमा समानुपातिकतर्फको लोकप्रिय मत चार लाख भन्दा बढीले घट्न गयो भने समानुपातिकमा आठ ओटा सिट गुमे । यो पटक कांग्रसेले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो । तर अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत पाएकोमा यो पटक पहिलाको तुलनामा ४ लाख १३ हजार १६४ मत कम पायो ।
त्यति मात्रै होइन यो निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने हैसियत गुमाएको दलको रुपमा परिचित भयो । प्रत्यक्षतर्फ १६५ सिटमध्ये यो दलले जम्मा ९१ क्षेत्रमा मात्र आफ्ना उम्मेदवार खडा गराएको थियो । यो सबै संख्या जितेको भए पनि उसले बहुमत पाउने थिएन ।
यो निर्वाचन सम्पन्न हुँदा यसका सभापति देउवाको सभापतित्वको कार्यकाल दोस्रो र संसदीय दलको नेतामा छानिएको पाँचौँपटक थियो । यस्तो बेला या नेतृत्वमा चुनाव हुँदा यो दलले बहुमतसमेत माग्न नसक्ने अवस्थामा आइपुग्यो ।
दलको हैसियत यता यस्तो अवस्था प्रकट भैरहँदा उता उनै सभापतिमाथि संसदीय दलको नेताको पद पनि थपियो ।
माओवादीः माओवादी केन्द्र यो निर्वाचनमा तेस्रो दलको हैसियतमा रहेको छ । तर विगतको भन्दा २१ वटा सिट गुमाएर । यसका अध्यक्ष प्रचण्ड दलको संसदीय नेतामा निर्विरोध छानिए । अघिल्लो वर्षको पुसमा उनी यसरी नै निर्विरोध अध्यक्ष छानिएका थिए ।
उनको नेतृत्वमा सम्पन्न यो चुनावमा यो दलको लोकप्रिय मत घटेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादीले यो पटक समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत पायो । समानुपातिकमा पाएको मत अनुसार माओवादीले यो पटक समानुपातिकबाट १४ सिट पाएको छ । अघिल्लो निर्वाचनमा यो प्रणाली अन्तर्गत यो दलले २० सिट पाएको थियो । यो प्रत्यक्ष र समानुपातिकतर्फ गरी माओवादीका प्रतिनिधि सभाका सांसदको संख्या ३२ रहेको छ । अघिल्लो निर्वाचनमा यो दलको सिट संख्या ५३ थियो ।
अघिल्लो निर्वाचनमा १७ सिट ल्याएको जसपाले यो पटक प्रत्यक्षमा ७ र समानुपातिक ५ सहित १२ सिटसहित छैँटौँ दल बन्यो । अघिल्लो निर्वाचनमा यसको सिट संख्या १७ थियो । यो दलका अध्यक्षले भने यो पटक चुनाव हारे ।
पहिले १६ ओटा सिटको धनी लोसपा यो पटक चार सिटमा झरेको छ । यसले राष्ट्रिय मान्यता पनि पाएन । तर यसका अध्यक्ष आफ्नो दलको नेतामा निर्विरोध छानिएर बलिया नेता बन्न गए ।