arrow

अनुदानले २० हेक्टर क्षेत्रफल सिञ्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
raj-kulo-3.jpg
फाइल तस्वीर

स्याङ्जा । सिँचाइको अभावमा तनहुँका धेरै खेतीयोग्य जमिन बाँझो रहेका छन् । खेतीयोग्य जमिनको उपभोग गर्नुपर्छ भन्ने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरी उपयोग तथा त्यस्ता जग्गाको सदुपयोगमा जोड दिएको छ ।

सोहीअनुरुप प्रदेश सरकारले प्रदेश सर्शत अनुदानअन्तर्गत साना सिँचाइ कार्यक्रमले तनहुँमा सिञ्चित क्षेत्र बढाएको छ । तनहुँको म्याग्दे गाउँपालिका-७ पयर राधेटारीस्थित पयर राधेटारी सिँचाइ जल उपभोक्ता समितिले कृषि ज्ञान केन्द्रमार्फत पाएको अनुदानबाट खेतीयोग्य भूमि बढाएको छ ।

केही क्षेत्रफलका लागि मात्रै सिँचाइ हुने क्षेत्र अहिले ज्ञान केन्द्रको साना सिँचाइ कार्यक्रमअन्तर्गतको अनुदानले यस क्षेत्रको उब्जनी बढेको पयर राधेटारी सिँचाइ जल उपभोक्ता समितिका संयोजक चतुरबहादुर नेपालीले बताए । उनका अनुसार यस क्षेत्रका ३५ घरधुरीको समूहले मात्रै सिँचाइ गरेको अनुदान रकमले कुलो निर्माण गरी सिञ्चित क्षेत्र बढाएको छ । 

ज्ञान केन्द्रबाट रु एक लाख ८७ हजार दुई सय ७० अनुदान पाएको नेपालीले जानकारी दिए । “साठी मिटर कुलो बनाएर ल्याएको सिँचाइबाट त्यस क्षेत्रमा दुई खेती धान, आलु, मकैखेती गरिँदै आएको छ, उक्त नहरको सिँचाइले ६५ घरधुरी लाभान्वित भएका छन्”, नेपालीले भने । पक्की कुलो निर्माण गरिए पनि त्यस क्षेत्रमा अझै पानी अपुग रहेको र रकम अपुग भएको उनले बताए । 

“सिँचाइ भएपछि जग्गा खाली छैन, हामीलाई सहज भएको छ, अपुग भएकाले माग गर्ने तयारी गरेका छौँ”, उनले भने । यस समितिले जस्तै भानु नगरपालिका-५ बिरुवास्थित १५ घरधुरीको चुँदी बिरुवा कृषक समूहले पनि ज्ञान केन्द्रबाट अनुदान लिएर सिँचाइ अभाव रहेको खेतीयोग्य भूमिलाई सिञ्चित बनाएको छ । यस समूहले पाएको अनुदानले करिब दुई घण्टा टाढाबाट पानी ल्याएर सिञ्चित क्षेत्र बढाएको चुँदी बिरुवा कृषक समूहका अध्यक्ष प्रेमजङ्ग अधिकारीले बताए । 
    
सिँचाइ हुन थालेपछि यस क्षेत्रमा उत्पादन वृद्धि भएको उनी बताउछन् । “पन्ध्र जनाको समूह बनेर लिएको अनुदानले यहाँ सिँचाइले उत्पादन वृद्धि भएको छ, बाह्रै महिना विभिन्न प्रकारका उत्पादन लिन सकेका छौँ, सिँचाइ भएपछि यहाँ दुई पटक धानखेती, आलुखेती, मकैखेती, तोरी, गहुँ, मुसुरो खेतीबाट उत्पादन लिन सकिएको छ”, अधिकारीले भने । 

यस्तै, व्यास नगरपालिका-८ बर्लाचीस्थित ३४ घरधुरीको ओझा डिही कुलो उपभोक्ता समूहले पनि ज्ञान केन्द्रबाट अनुदान लिएर सिँचाइ क्षेत्र बढाएको छ । यस समूहले रिस्ती खोलाको पानी पाँच सय मिटरको दूरीबाट ल्याइएको ओझा डिही कुलो उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद ओझाले जानकारी दिए ।

उनका अनुसार केन्द्रबाट रु एक लाख ८८ हजार नौ सय दुई अनुदान पाएको थियो । अनुदान रकमले १९ मिटर दूरीको कुलो निर्माण गरिएको छ । त्यससँगै ठाडो खोला जडित रहेकाले अझै कुलो निर्माणका लागि रकम अभाव रहेको उनी बताउछन् । 

बाँध निर्माणका लागि अझै रु चार लाख अभाव रहेको उनी बताउछन् । ठाडो खोलाबाट सुरक्षित बनाएर सिँचाइ गर्नुपर्ने भएकाले अझै कुलोका लागि रकम अभाव रहेको अध्यक्ष ओझाले बताए । 

कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले साना सिँचाइ कार्यक्रमअन्तर्गतको अनुदानले जिल्लाको २० हेक्टर क्षेत्रफल सिञ्चित भएको जानकारी दिए । उनले अनुदानले जिल्लाको खेतीयोग्य जमिन बढाउन सहयोग पुगेको बताए । सिँचाइको अभावले खेती गर्न नपाइएको भूमिमा अहिले खेती भइरहेको उनी बताउछन् । 

४४ लाख सिँचाइ अनुदान
    
कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा २४ कृषि समूहलाई अनुदान प्रदान गरेको छ । ज्ञान केन्द्रले आठ पालिकाका पानी अभाव भएका खेतीयोग्य भूमिमा सिँचाइको व्यवस्था गरेको छ । केन्द्रले रु ४४ लाख १५ हजार नौ सय २० अनुदान प्रदान गरेको थियो । 

उक्त रकमबाट जिल्लामा चार सय ९० मिटर कुलो पक्की बनाइएको छ भने चार मोटर वितरण, नौ सय मिटर पाइप वितरण र चार वटा कुलोको बाँध निर्माण गरिएको ज्ञान केन्द्रका प्रमुख तिवारीले जानकारी दिए । 

उनका अनुसार उक्त परिमाण दिइएको अनुदानले २० हेक्टर क्षेत्रफलमा सिँचाइयुक्त जग्गा बनाउन सकिएको छ । चौबीस समूहलाई रु एक लाख ३३ देखि एक लाख ९२ हजारसम्म अनुदान उपलब्ध गराइएको उनले बताए । कृषिमा लगानी अझै पर्याप्त नभएको कृषकको गुनासो छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ