arrow

थकाली हत्या आरोपमा सर्वस्वसहित जन्मकैद सजाय पाएका गिरी २३ वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
Umesh giri.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या अरोपमा सर्वस्वसहित जन्मकैद ठहर भएर २३ वर्षसम्म फरार रहेको एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उमेश गिरी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउसो ४ः२५ बजे चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलस्थित सीमा अधिकारीको घरमा कोठा भाडामा लिएर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेको गिरीलाई आइतबार जिल्ला अदालत कास्कीका पेश गरेर अदालतको आदेश बमोजिमको सर्वस्वसहित जन्मकैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

घटनाक्रम अनुसार कास्की प्रहरीका अनुसार २०५६ साउन २२ गते पोखरा महानगरपालिका वडा नं.३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थकालीलाई धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) समेत प्रयोग गरी टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरिएको थियो ।

घटना अनुसन्धानकोक्रममा तत्कालै उमेश गिरीबाहेक अन्यलाई पक्राउ गरेको थियो । घटनामा संलग्न भइ पक्राउ परेका पेले भन्ने प्रेमकुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दिपक पुनलाई २०५८ चैत १ गते फैसलाले सर्वस्वसहित जन्मकैद सजाय तोकिएको थियो । यस्तै, सोही घटनामा पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिकप्रसाद पुन, लक्ष्मीप्रसाद पराजुलीलाई तीन वर्ष कैद सजाय तोकिएको थियो । 

यसैगरी सोही घटनामा संलग्न उमेश गिरीको हकमा अ.ब. १९० बमोजिम मुत्लवीमा रहने ठहर भएको थियो । २०६६ साउन २७ मा मुत्लवीबाट जागी दर्ता भएपछि २०६६ फागुन ७ गते फैसला हुँदा प्रतिवादी उमेश गिरीलाई सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । सर्वस्वसहित जन्मकैद सजाय पाएका गिरी घटनादेखि नै फरार भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ