arrow

विधि मिच्दै प्रमुख निर्वाचन आयुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
election-dinesh-kumar-thapaliya1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । यो वर्ष भएका स्थानीय तहका निर्वाचनदेखि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म आफू सुहाउँदो नियम बनाउँदै आएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि आफू सुहाउँदो नै नियम बनाएर चुनावको मिति घोषणा गरेका छन् । सो क्रममा उनले निर्वाचनसम्बन्धी ऐनको व्यवस्थाविपरीत हुने गरी मिति घोषणा गरेका हुन् । 

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने कानूनी व्यवस्था विपरीत थपलियाले बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सकिनै लाग्दा मात्र निर्वाचन गर्ने निर्णय गरेका हुन् । 

थपलियाले फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन मिति तोकेका छन् । जबकि राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ । 

 राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ मा राष्ट्रपतिको र उपदफा ५ मा उपराष्ट्रपतिको निर्वाचन बहालको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि हुनुपर्ने व्यवस्था छ । यो व्यवस्थालाई प्रमुख आयुक्त थपलियाले कुल्चिएका हुन् । 

आयोग भने संविधानको मर्मअनुसार नै मिति तोकिएको बताउँछ । आयोगका प्रवक्ता शालिग्राम पौडेल भने संविधानको मर्मअनुसार नै निर्वाचनको मिति तोकिएको दाबी गर्छन् । 

आयोगको यो निर्णयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कानून संशोधन नगरी राष्ट्रपति निर्वाचनलाई आयोगले धकेलेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेलामा पनि प्रमुख आयुक्त थपलियाले नूनको सोझो गर्ने क्रममा मतगणनाका क्रममा आफू सुहाउँदो ब्याख्या गर्दै मतगणना गराएका थिए । 

नेकपा एमाले निकटका उनले मतगणना गर्दै जाँदा जहाँ एमाले कमजोर हुन्छ त्यहाँ मतगणना अवरुद्ध भएपछि पुनः मतगणना गर्दा एमालेका उम्मेदवारले जितेको पाइएको थियो । यसमा अन्य दलहरुले गम्भीर आपत्ति जनाउँदासमेत थपलियाले सुुनुवाइ गरेनन् । 

रुपन्देहीमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हार्ने अवस्था पुगेपछि मतगणना रोकिएपछि पुनः मतगणना गर्दा पौडेलले जितेका थिए । पौडेललाई जिताउने क्रममा निकटतम प्रतिस्पर्धी दल र उम्मेदवारका प्रतिनिधिसमेत सहभागी भएका थिएनन् । 

त्यस्तै अर्का उपाध्यक्ष सुवास नेम्वाङले हार्ने अवस्थामा रोकिएको मतगणना कार्यक्रम पुनः संचालनमा आएपछि नेम्वाङले जितेका थिए । 

त्यस्तै नेकपा एसका सम्मानित नेता झलनाथ खनाललेसमेत आपत्ति जनाउँदा जनाउँदै भएको गणनामा उनले हारेर एमालेका उम्मेदवारले जितेका थिए । 

त्यस्तै स्याङ्जामा पद्मा अर्यालले हार्ने निश्चित भएसँगै मतगणना गर्न नै थुप्रै समय लगाइएको थियो । 

प्रमुख निर्वाचन आयुक्तको मनोमानीले मर्कामा परेको भन्दै दलहरुले असन्तुष्टि जनाउँदै आए पनि उनको अगाडि कसैको केही जोर लागेको छैन । 

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका–
निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रपति पदका लागि फागुन १३ गते उम्मेदवारी दिनुपर्नेछ । 

फागुन १४ गते उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ । त्यही दिनदेखि उजुरीउपर जाँचबुझ गर्ने, १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । 

उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम भने फागुन २७ गते शुरु हुनेछ । उम्मेदवारको मनोनयन पत्र फागुन २७ गते दर्ता गर्ने, त्यही दिन उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ । 

फागुन २८ गते जाँचबुझ गरी निर्णय दिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ