arrow

पोखराका उद्योगी व्यवसायी बैंकको ज्यादति विरुद्ध आन्दोलन चर्काउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
Andolan.jpg

पोखरा । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज दरका कारण आत्तिएका पोखराका उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलन गर्ने भएका छन् । यसअघि पनि आन्दोलन गर्ने तयारी गरिएको भएपनि देशमा निर्वाचन हुने समय भएपछि आन्दोलन रोकेका पोखरेली उद्योगी व्यवसायीहरु यसपटक निर्णायक आन्दोलनको तयारीमा पुगेका छन् ।

पोखरेली उद्योगी व्यवसायीको आन्दोलनलाई नेपाली कांग्रेस कास्कीलेसमेत ऐक्यबद्दता जनाउने र आवश्यकता अनुसार नेपाल सरकार, प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंक वा पार्टीको जिम्मेवारीमा रहेका नेताहरुलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

बिभिन्न बैंकबाट ऋण लिएका व्यवसायीहरुमाथी बैंकले चर्को ब्याज लगाउने मात्र नभएर धितो राखेको जग्गा लिलामी गर्ने धम्की दिने, तारन्तार टेलिफोन गरेर वा भेटेर किस्ता बुझाउन दवाव दिने गर्दा मानसिक तनाव भोग्नुपरेको गुनासो व्यवसायीको छ ।

पोखरामा नेपाली कांग्रेस कास्कीकोतर्फबाट आयोजना गरिएका छलफलमा उद्योगी व्यवसायीका नेताहरुले मात्र नभएर नेपाली कांग्रेसका नेताहरुले पनि बैंकले पछिल्लो समयमा ऋणि र व्यवसायीहरुमाथि दिएको दवावको खुलेर बिरोध गरे ।

कास्की कांग्रेसको तर्फबाट आयोजित दुई वटा छुट्टाछुट्टै छलफलमा ब्यवसायीहरुले कास्की कांग्रेसले ब्यवसायीको समस्या सुनेर सम्बोधन गर्न पहल गर्न लागेकोमा खुशीसमेत प्रकट गरेका थिए ।

उनीहरुले बैंकहरुको गलत कदम बिरुद्ध पोखरा उद्योग वाणिज्य संघ संयोजक र लेखनाथ उद्योग वाणिज्य संघ सहसंयोजक रहेर साथै अन्य व्यवसायिक संस्थाहरु समेतको संलग्नतामा धर्नासहित आन्दोलनका कार्यक्रम गर्न लागिएको र त्यसमा राजनीतिक दलको समेत ऐक्यबद्धता र सहभागिताको अपेक्षा गरिएको बताए ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले अप्ठेरो अवस्थामा रहेका व्यवसायी र ऋणिहरुको समस्या समाधानको पहल गर्न कास्की कांग्रेस प्रतिबद्ध रहेको बताउंदै पार्टीका नेताहरुलाई मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर सामु पुगेर आवश्यक दवाव दिन कांग्रेस तयार रहेको जानकारी दिए ।

बरालले कांग्रेस पार्टी जनताको पार्टी भएकोले आम व्यवसायीहरुका समस्या सम्बोधन गर्न कांग्रेस गम्भीर बन्ने स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बैंकर र नेपाल राष्ट्र बैंकबीचको कार्टेलिङ र सिण्डिकेट अन्त्य गर्न नसक्दासम्म यस्तो पीडा भोगिरहनुपर्ने बताए ।

विभिन्न बैंकहरुमा राष्ट्र बैंकका वर्तमान वा पूर्व कर्मचारीका परिवारको लगानी र नेतृत्व भएकाले  तिनीहरुले बैंकका गलत क्रियाकलाप संरक्षण गर्ने खालको नीति बनाउने हुँदा त्यसको मारमा न्यून र मध्यमवर्गीय व्यवसायीहरु पर्ने गरेको मुल्मीले सुनाए ।

उनका अनुसार राष्ट्र बैंकको संचालक समितिमा पनि पूर्व कर्मचारी र बहालवाला कर्मचारीको मात्रै बर्चस्व हुने गरेको छ भने २२ वटा वाणिज्य बैंकको नाम फरक रहेपनि स्वामित्व भने सीमित व्यक्तिहरुमा नै रहँदा आम व्यवसायी र ऋणिलाई समस्या भएको हो ।

नेपाल राष्ट्र बैंक र बैंकर्स एशोसिएशन बीचको चलखेल र सिण्डिकेट तोड्न आम उद्योगी व्यवसायी आन्दोलनमा लाग्नुपर्नेमा मुल्मीको जोड थियो । नेपाली कांग्रेस खुला अर्थतन्त्रको पक्षमा रहेपनि बैंकर्स र राष्ट्रबैंक बीचको कार्टेलिगंबारेमा कांग्रेससमेत चुप बसेको भन्दै उनले आपत्ति प्रकट गरे ।

नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष माईकल कर्माचार्यले पनि नेपाल राष्ट्र बैंक र बैंकर्स एशोसिएशन बीचको सेटिंग तोड्न सबै लाग्नुपर्ने बताए । उनले नेपाल उद्येग बाणिज्य महासंघ. नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाहरु उद्योगी व्यवसायीको पक्षमा दह्रो गरेर भिड्न सक्नुपर्नेमा जोड़ दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले सात प्रतिशत ब्याज तिर्ने गरि ऋण लिएका व्यवसायीबाट २/३ गुणा बढाएर ब्याज लिने प्रवृत्तिका बिरुद्ध आन्दोलन गर्ने अवस्था आएको स्पष्ट पारे ।

कार्यक्रममा सहभागी ब्यवसायी एवं कांग्रेस नेताहरु सबैले बैंकले अप्रत्यासित रुपमा ब्याज दर बढाउने र ऋणिहरुलाई चर्को दवाव दिएकाप्रति आपत्ति जनाएका थिए ।

उनीहरुले बैंकको गलत रवैयाका कारण केही दिन अघि सिहंदरबार अगाडि व्यवसायीले गरेको जस्तो आत्मदाह वा त्यस्तै प्रकृतिका घटना बढ्ने सम्भावना रहेको भन्दै चिन्ता प्रकट गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्यसमेत रहेका नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघका गण्डकी प्रदेश अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले माछा पालेको पोखरीमा पानी सुकेपछि माछाको जस्तो गति हुन्छ, त्यस्तै अवस्थामा नेपालका उद्योगी व्यवसायी पुगेको भन्दै पीडा पोखे ।

एकातिर आर्थिक संकट बढ्दै जाँदा ऋणिहरुले बैंकको ब्याज र किस्ता तिर्न समस्या भैरहेको भन्दै उनले बैंकहरुले ब्याज दर बढाउने, पेनाल्टी लगाउने र अनावश्यक दवाव दिने गरेको बताए ।

उनले बैंकको आधार दर बाहेक न्यून प्रतिशत मात्र प्रिमियम रेट कायम गर्नुपर्नेमा ६ प्रतिशतसम्म बढाएर ऋणिहरुलाई ब्याज दर चर्को बनाउने गरेको भन्दै आपत्ति प्रकट गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बाबुराम गिरीले कांग्रेस निजी क्षेत्र मैत्री हुनुपर्ने भन्दै पोखरेली उद्योगी व्यवसायीको आन्दोलनलाई पार्टीले अपनत्व लिएर अघि बढ्नुपर्नेमा जोड़ दिए ।

पोखराका होटल व्यवसायी गणेशबहादुर थापाले बैंकले ऋण लगानी गर्दा लिने सेवा शुल्क, रजिष्ट्रेशन शुल्क र धितो मूल्यांकन शुल्क मात्र घटाउन सके पनि ब्याजदर कम हुने बताए ।

केही ठूला व्यवसायीलाई सस्तो ब्याजदरमा ऋण प्रवाह गरेर साना र मझौला व्यवसायीहरुमाथि चर्को ब्याज लगाउनुको पछाडिी पनि पक्कै चलखेल भएको भन्दै थापाले अन्तर बैंकिंग ऋण ५/६ प्रतिशत ब्याजमा मिल्ने तर पव्लिकलाई भने १८ प्रतिशतसम्म ब्याज लगाउने प्रवृति बिरुद्ध सबै गम्भीर बन्नुपर्नेमा जोड़ दिए ।

टान पोखराका अध्यक्ष धर्मराज पन्थीले बैंकहरुले अरबौं नाफा गर्ने तर ब्यवसायीहरु पलायन हुंदै जाने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए ।

होटल व्यवसायी रामचन्द्र भट्टराईले बैंकहरुले लालपूर्जा समातेर सुरक्षित महसूस गर्नु पनि दुर्भाग्य भएकोे भन्दै सबै ऋणिहरुबाट लालपूर्जा संकलन गर्दै गए बैंक पनि डुब्ने र देश पनि डुब्ने भएकोले अब बैंकलाई ठिक ठाँंमा राख्न सरकारलाई दवाव दिनुपर्ने बताए ।

अर्का पर्यटन व्यवसायी हरि भुजेलले बैंकहरुले ब्याजदर बढाउँदै जाने तर लगानी नथप्दा व्यवसायीहरु व्यवसायिक जीवनसंगै मानव जीवनबाट समेत पलायन हुनुपर्ने अवस्थामा पुग्न बाध्य भएको बताए । उनले बैंकले आम व्यवसायी र ऋणिहरुको गर्धनमा तरबार राखेर मर्नु न बांच्नुको अवस्थामा पुर्याएको आरोप लगाए । 

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले २० करोडको सम्पत्ति धितोमा राखेर दुई करोड मात्र ऋण लिंदासमेत व्यवसायीमाथि विभिन्न खाले दवाव दिइएकोप्रति आपत्ति प्रकट गरे । उनले बैंकरहरुले झोलामा पैसा बोकेर राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई बुझाइनु बिडम्बना भएको पनि बताए । 

पर्यटन व्यवसायी तथा पोखरा पर्यटन परिषद्का पूर्व सदस्य गणेश बहादुर भट्टराईले गरिवी र बेरोरोजÞगारीको बढ्दै जाने, युवाहरुको विदेश पलायन बढ्दै जाने अवस्थासंगै पर्यटन क्षेत्रका मजदूरहरुसमेत ५० प्रतिशत बाहिर गैसकेको बताए । उनले करिव ३५ प्रतिशत व्यवसायीहरु व्यवसायबाट बाहिरिएको भन्दै यस्तै अवस्था कायम रहेमा पर्यटनसमेत चौपट हुने बताए ।

नेपाली कांग्रेस कास्की जिल्ला सदस्य गंगाधर पराजुलीले बैंकहरुले शुरुमा ऋण दिंदा बेस रेटमा १/२ प्रतिशत मात्र प्रिमियम रेट लगाएर ऋण दिने गरेको तर केही समयको अन्तरालमा नै प्रिमियम रेट ६ प्रतिशतसम्म पुर्यांएर जवर्जस्ती ब्याज असुल गर्ने गरेको बताए ।

रेष्टुरेन्टको सर्विस चार्ज हटाएजस्तै बैंकले लिने सर्विस चार्ज र प्रिपेड चार्ज मात्र हटाउन सकेपनि ऋणिहरुले महँगो ब्याज लिने बैंक छोडेर अर्कोमा जान सक्ने अवस्था हुन्थ्यो तर सर्विस चार्ज र प्रिपेड चार्ज तिर्नुपर्ने बाध्यताका कारण बैंक परिवर्तन गर्न समेत ऋणिलाई कठिन हुने पराजुलीले बताए ।

बैंकर्स एशोसियशनले नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई प्रभावमा पार्न कुल नाफाको केही रकम छुट्याउने गरेको गुनासो आउने गरेको भन्दै पराजुलीले बैंकहरुलाई राष्ट्र बैंकका अधिकारीहरुलाई अनावश्यक रकम खर्च गर्न भन्दा ऋणिहरुलाई राहत दिन आग्रह गरे ।

नेपालमा हाल रहेका २२ वटा वाणिज्य बैंकहरुको वार्षिक मुनाफा झण्डै ३४ अर्ब रहेको र त्यसमध्ये एक अर्ब रुपैया बैंकर्स एसोसिएशनले आंफ्नो अनुकुल नीति बनाउन राष्ट्र बैंकका अधिकारीहरुसहित अरुको लागि खर्च गर्ने हुंदा गलत गर्ने बैंकहरुलेसमेत राष्ट्र बैंकबाट संरक्षण पाउने गरेको भन्दै केही व्यवसायीले  चिन्ता प्रकट गरेका थिए ।

नेपाली कांग्रेसका जिल्ला सदस्य विश्वशंकर पालिखेले पार्टीहरुले चुनावको बेला व्यवसायीहरु खोज्ने तर व्यवसायीलाई समस्या परेको बेला चुप लाग्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देल,उ पाध्यक्ष तारानाथ पहारी, नाटाका हरिराम अधिकारी, पर्यटन बोर्डका प्रर्व सदस्य बासु त्रिपाठी, विदेशी मुद्रा सटही व्यवसायी संघका अध्यक्ष रुपकराज मिश्र, पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, कांग्रेस निकट पर्यटन व्यवसायीको संस्थाका अध्यक्ष सोम थापा लगायतले बैंकको ज्यादति बिरुद्द एकजुट हुन र आवश्यक परे काठमाडौं केन्द्रित आन्दोलन गर्नसमेत जोड़ दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ