arrow

विवाहः हिजो र आज

logo
शीतल गिरी,
प्रकाशित २०७९ फागुन २० शनिबार
shital-giri-article-bibaha-hijo-aaja.jpg

हिन्दूहरूका लागि विवाह सोह्र संस्कारहरूमध्ये एउटा पवित्र संस्कार हो । आत्मा–शुद्धि र सन्तान उत्पादनको धारणाबाट अभिप्रेरित भएर विवाह गरिन्छ । विवाह भनेको दुई विपरीत लिङ्गीय व्यक्तिहरूको सम्बन्ध हो । 

वेदमा विवाह स्त्री–पुरुषको आन्तरिक गठबन्धन हो भनी उल्लेख भएको छ । प्राचीनकालमा पतिको सुकार्यको आधा–फल पत्नीले प्राप्त गर्ने हुँदा विवाह–विच्छेद वा विधवा विवाहको प्रचलन प्रायः थिएन । विवाह दुई आत्माको मिलन तथा सन्तान उत्पादनको लागि अत्यन्त आवश्यक कुरा हो । ईसाई तथा मुसलमानमा ‘विवाह एउटा कानूनी संस्था हो’ तर हिन्दूहरूका लागि पत्नी सन्तान उत्पादन गर्ने यन्त्र मात्र नभई धेरै थोक मानिन्छ । विवाहको जग्गेमा बधूद्वारा आफ्नो शर्त मौखिक रूपमा राख्ने गरिन्छ । वरद्वारा सो शर्त स्वीकार गरिन्छ ।     

हिन्दू वैवाहिक संस्कारका बखतमा धार्मिक रीतिहरूको पूर्णतया अनुशरण गरिन्छ । पुरोहितबाट वेदका मन्त्रहरू उच्चारण हुनका साथसाथ पवित्र अग्नि कुण्डमा हवन पनि गरिन्छ । विवाह नगरीकन कुनै पनि हिन्दूले धार्मिक कार्यहरू पूर्ण गर्न पाउँदैन । पुरुषको अर्धाङ्गनी नारीलाई मानिने भएकोले धार्मिक कार्यमा पत्नीको उपस्थिति अनिवार्य मानिन्छ । हिन्दू विवाह पुरुष र नारीबीचको अटूट सम्बन्ध हो । कस्तै परिस्थितिमा पनि यो सम्बन्ध टुक्र्याउन पाइँदैन भनी हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएको छ । तर आजभोली आपसमा समझदारी कायम राख्न नसक्ने पति–पत्नीहरूलाई कानूनले पारपाचुके गरी सम्बन्ध विच्छेद गर्ने अधिकार प्रदान गरेको छ । हिन्दू विवाह धार्मिक संस्कार भएबाट धर्मको पनि पूर्ति हुन्छ । व्यक्तिले आफ्नो धर्मपालना पत्नीका साथ गरोस् भनी वेदमा पनि उल्लेख भएको छ । रीति वा आनन्द पनि हिन्दू विवाहकै एउटा उद्देश्य हो ।         

कन्याका बाबुले यज्ञकार्यका लागि अनेक योग्य र अविवाहित पुरोहितहरूलाई आमन्त्रित गरी यज्ञ पहिले पूर्ण गर्ने गरिन्थ्यो । कुशलतापूर्वक यज्ञ सम्पन्न गर्ने ऋत्विजलाई वस्त्राभरणद्वारा सुसज्जित पारी वस्त्रालङ्कारले अलङ्कृत आफ्नी कन्यालाई पिताले कन्यादान गर्दथे । 

यस्तो विवाहलाई गौरवशाली मानिएको हुँदा देव–विवाह भनिएको हो । यस विवाहको विशेषता के हो भने बर खोज्न भौतारिनु पर्दैनथ्यो । यस विवाहमा आर्थिक स्वतन्त्रता, गौरवपूर्ण सामाजिक स्थिति र वौद्धिक मैत्री हुने भएकोले एउटा महत्वपूर्ण विधान मानिन्थ्यो । यस प्रकारको विवाह पहिले पुरोहित वर्गमा प्रचलित थियो । साधारणतया ऋषिहरूमा वैवाहिक सम्बन्ध गाँस्ने परम्परा थिएन । तर यदि कुनै ऋषिले विवाह गरे भने कन्याका पिताले एउटी गाई वा गाई–गोरु दुवै धर्मकार्यको लागि प्राप्त गरेर धार्मिक विधिपूर्वक कन्यादान गर्दथे ।     

एकपत्नी विवाहको आदर्श हुँदा–हुँदै पनि हिन्दूहरूमा बहुपत्नी विवाहको प्रचलन उहिलेदेखि नै थियो । खासगरी धनीहरू र राजा महाराजाहरूमा बहुपत्नी विवाहको प्रचलन प्रबल रूपमा थियो । संस्कारसम्बन्धी कार्यहरूमा चार पत्नीमा ‘महिषी’ (मुख्य पत्नी), ‘परिवृत्ति’ (प्रभावकारी), ‘वक्ता’ (व्यक्तिगत प्रिय) र ‘पालागली’ (दरवारमा सबभन्दा तल्लो तहमा काम गर्ने अधिकृतको छोरी) मान्यता पाएको कुरा डा. केएम कपाडियाले आफ्नो पुस्तक ‘म्यारिज एन्ड फेमिली इन इन्डिया’ को पृष्ठ ९४ मा उल्लेख गरेका छन् । 

आचार्य मनुले आदेश दिएका छन्— बाँझी आइमाईलाई पुरुषले एघार बर्षमा सौता हालोस् । आचार्य मनुले के पनि भनेका छन् भने मद्यपान गर्ने, क्रुर, रोगी, दुराचारिणी र खर्चालु नारीलाई पुरुषले चट्टै त्यागिदेओस् । मनुले त्यस्ती पत्नीलाई त्यात्नु भने तापनि पत्नी त्याग्न सरल थिएन । 

पत्नी त्याग्ने सम्बन्धमा विज्ञानेश्वरले— ‘शुद्रसँग व्यभिचार गर्ने पत्नीलाई छोडिदिनु पर्दछ । यो छोडिदिनुको अर्थ घरबाट निकाल्नु होइन । उसलाई भोजन र वस्त्र दिई एउटा कोठामा थुनिदिनु पर्दछ’ भनेका छन् । 

वास्तवमा स्मृतियुगपछि मात्रै हिन्दूहरूमा बहुपत्नी–विवाह प्रथा चलेको हो । प्रथम पत्नीबाट सन्तान उत्पादन नभएमा वंशको निरन्तरताका लागि एकभन्दा बढी विवाह गरिन्थ्यो । मध्यकालीन समाजमा जतिसक्यो सक्दो बढी पत्नी राख्न सक्नु प्रतिष्ठाको विषय मानिन्थ्यो । 

धनोपार्जनको कारणबाट पनि बहुपत्नी–विवाहले प्रोत्साहन पायो । नेपाल एउटा कृषिप्रधान मुलुक भएकाले कृषिकार्यको लागि बाहिरी मान्छे लगाई खर्च बढाउनुभन्दा विवाह गरी काम गर्न पठाएमा आफ्नो कामको बेलामा खर्च बचत हुने तथा अरुको काममा गएको बेलामा धनोपार्जन पनि हुन्थ्यो । 

दाइजोको लोभ र नारी–जातिको आधिक्यले गर्दा पनि बहु–पत्नी विवाहले प्रोत्साहन पाएको थियो । बहुपति–विवाह हिन्दू आदर्शको विपरीत छ । त्यसो त द्रोपदीको उदाहरणले हिन्दूहरूमा बहुपति प्रथाको जानकारी दिन्छ । तैपनि यस्ता उदाहरणहरू ज्यादै नै न्यून छन् । 

हिन्दूहरूमा विवाह हुँदा आफ्नो जातिकाले आफ्नै जातिमा गर्नुपर्छ । अर्थात् ब्राह्मण युवकले ब्राह्मण कन्यासितै विवाह हुनुपर्छ र त्यसैगरी अन्य जाति उपजाति तथा प्रजातिहरूमा पनि आफ्नै बरावरीमा बिहाबारी गर्नुपर्छ । आक्कल झुक्कल विवाह सम्बन्धी परामर्श केटाबाट लिने गरिए तापनि केटीबाट भने पटक्कै लिइदैनथ्यो । तर आधुनिककालमा आएर बाबु–आमाबाट यो अधिकार अपहरण भई सम्बन्धित केटा र केटीकै निर्णयमा सीमित हुन थालेको छ ।     

हिन्दूहरू अनेक जातिहरूमा विभाजित छन् । प्रत्येक प्रजातिहरू एउटा न एउटा जातिसित सम्बन्धित हुने गर्दछन् । यति मात्रै होइन अरू जातिमा रक्तशुद्धता नहुने धारणाबाट अभिप्रेरित भएर आफ्नो जातिबाहिर गई विवाह गर्ने गर्दैनन् । सगोत्री विवाहलाई वर्जित गरे झै सप्रवरविवाह पनि निषेध गरिएको छ । उच्च कुलका पुरुषहरूले सबै जातिका नारीहरूसित विवाह गर्न सक्ने नियम कुलीनविवाहले बनाएको थियो ।     त्यसैले उच्च कुलका युवकहरू आफूलाई मन परेका जुनसुकै जातिकी युवती भए पनि विवाह गर्दथे ।         

अन्तर्जातीय विवाहको अर्थ दुई भिन्न–भिन्न जातिका नारी र पुरुषबीचको विवाह हो । यस्तो विवाहमा जातिगत कुनै बन्धन हुँदैन । समाज–शास्त्रीहरूको मतअनुसार हिन्दूहरूमा अन्तर्विवाहको प्रचलन प्राचीनकालदेखि नै थियो । 

वर्ण–व्यवस्थाअन्तर्गत जाति–व्यवस्था उत्पन्न भएपछि अन्तर्विवाहलाई अंकुशमा पार्न अनेक कठोर नियमहरू बने । कठोर नियमहरूका कारण समाज झन्–झन् भड्खालोमा जाकिन थालेको हुँदा, ती कुरीतिहरूलाई नष्ट पार्ने उपाय अन्तर्जातीय विवाहलाई नै ठानियो । तर कतिपय धर्मप्राण हिन्दूहरू आज पनि अन्तर्जातीय विवाहको पक्षमा छैनन् । 

जानी–जानीकन आफूभन्दा तल्लो जातिको केटोलाई ज्वाइँ बनाउन कुनै पनि आमाबुवा तयार हुँदैनन् । शिक्षाको प्रसार र समयको प्रभावमा परेर कालान्तरमा अन्तर्विवाह र अन्तर्जातिय विवाह नछुट्टिएला, त्यो बेग्लै कुरा हो तर आजको सन्दर्भमा यो विवाह प्राथमिकतामा पर्न सकेको भने छैन । अन्तर्जातीय विवाहलाई प्रोत्साहित पार्ने मूलकारण पाश्चात्य शिक्षा हो । सबै जाति आफ्नो संस्कृति लिएर एक–अर्काको नजीक आएर विनिमय गर्नलाई अवसर पाए । व्यक्तिवादी भावनाको पनि उदय भयो ।         

एकीकरण पश्चात पहाड र काठमाडौं उपत्यका निवासीहरूको सम्पर्क तराईवासीसित हुन गयो । फलस्वरूप तराईवासीहरूले भारतेली समाजबाट ग्रहण गरेको दाइजो प्रथाको अनिवार्यता शनैः शनैः पहाड र काठमाडौं उपत्यकामा पनि विस्तारित हुन गयो । शिक्षाको प्रसारले गर्दा आज नेपालमा अन्तर्जातीय विवाहले प्रोत्साहन पाएको छ र दाइजो प्रथालाई प्राणघातक हमला भएको छ ।     

आयुर्वेदशास्त्रीय विवरणअनुसार पूर्णतया तरूना–तरूनी नभइकन यौन–समागम गर्नु हुँदैन । वयस्क नभई गरिने सम्भोग हानिकारक हुन्छ । बालविवाहले जन्मिएका सन्तानको स्वास्थ्यलाई क्षीण पार्दछ भन्न सकिन्छ । बालविवाहको कारणले गर्दा मान्छेको काँधमा एकदमै जिम्मेवारीको बोझ लादिन्छ । लोग्ने मानिसहरू त तै विशेष फुक्का हुने हुँदा आफ्नो व्यक्तित्व विकासलाई प्रयास गर्न सक्तछन् । तर स्वास्नीमानिसहरू त विवाहपछि पूर्णतया कुँजा बन्दछन् ।         

नारीले आफ्नो सतीत्वको रक्षा नगरी जथाभावी जोसुकैसित पनि यौनसम्पर्क राख्दै हिँडेमा हिन्दू–समाजको आदर्श र पवित्रतामा धब्वा लाग्ने हुनाले विधवा पुनर्विवाहलाई रोक लगाएको थियो । नेपालमा भन्दा पनि विशेष गरी भारतवर्षमा हजारौं–हजार वर्षदेखि अनेक विधर्मी र विदेशीहरूको बेरोकटोक आवागमन हुने गरेको थियो । 

नारी र पुरुषहरूबीच सृष्टिको प्रारम्भिक–कालदेखि नै यौनसंसर्गमा गतिशीलता रहिआएको छ । त्यसैले विदेशी र बिधर्मीहरूको संसर्गबाट हिन्दू समाजमा वर्णसंकरहरूको बाहुल्यता बढ्ला र रक्तमा शुद्धता नरहला भन्ने भयले हिन्दूहरूले विधवा–पूनर्विवाहउपर कठोर रोक लगाए ।     

विवाहमा बधूले प्रशस्त दाइजो र सम्पत्ति ल्याउने हुनाले बरको धन–सम्पत्तिमा वृद्धि भई जीवनयापनलाई सुगम हुन्छ । स्वास्नीको माइतबाट प्राप्त धनले लोग्नेले कुनै स–सानो उद्योग–धन्दामा लगानी गर्न पाउँछ । स्वास्नीको माइतबाट प्राप्त धनले खास गरी बेरोजगारलाई ठूलो टेवा पुर्याउँछ । अनमेल–विवाह, बाल–विवाह, बहु–विवाह, यौन–पिपासा सदा अतृप्त रहनु, एकले अर्काको भावना बुझ्न नसक्नु, आपसमा समझदारीको अभाव हुनु, त्यागको भावना जागृत नहुनु, धेरै सन्तान हुनु, सन्तान नहुनु, दुईमा एक रोगी हुनु, विवाहका अवसरका शर्तहरू पालना नहुनु । आर्थिक र राजनैतिक कारणहरू मुख्य हुन पारपाचुकेको ।     

कौटिल्यको विवरणअनुसार दुश्चरित्र, नपुंशक र राजद्रोही पतिबाट पत्नीले पारपाचुके पाउन सक्थी । तर पछि–पछिका हिन्दूशास्त्रकारहरूले स्वास्नी मानिसहरूबाट पारपाचुके लगायतका सम्पूर्ण अधिकारहरू खोसिदिए । पति र पत्नीको सम्बन्ध ईश्वरबाट रचिने हुँदा पारपाचुके पनि ईश्वरले नै गराउन सक्छ भनी दलील दिन थालियो । पति भनेको ईश्वर हुन्, नारीले पतिलाई परमेश्वर मानी पूजा गर्नुपर्छ भनी वाल्यावस्थादेखि हिन्दू समाजमा नारीहरूलाई शिक्षा दिइन थाल्यो । 

हिन्दू–समाजमा पारपाचुकेका पक्षमा आफ्नो मन्तब्य प्रकट गर्नलाई पनि हिन्दू–धर्मशास्त्रहरूका एकपक्षीय दृष्टिकोणहरूले सदा तगारो तेर्स्याइएको पाइन्छ । वेदमन्त्र र ऋचाका स्रष्टा नारीहरूलाई बिर्सेर पछिका शास्त्रकारहरूले अनेक थरीका प्रतिबन्धहरू नारीका अगाडि राखिदिएको महसुस हुन्छ । नारीहरूलाई जागरुक पार्नका लागि पाश्चात्य शिक्षा, सह–शिक्षा, इलेक्टोनिक र इन्टरनेटको साधनमा वृद्धि, समानताको धारणा, राष्ट्रिय आन्दोलन, वैज्ञानिक शिक्षा, औद्योगीकरण र शहरी संस्कृति, महिला आन्दोलन, प्रेमालाप, वैधानिक सुविधा आदि महत्वपूर्ण मानिएका छन् । 

आजका युवा पिंढीले अन्तर्जातीय विवाहलाई अंगालेको देखिएको छ । आजको युवा–समूहले परम्परागत विवाह–प्रणालीलाई जुन तरीकाले त्याग्दै गएको छ, वास्तवमा त्यो क्रान्तिकारी कदम हो, समयोचित माग हो र स्तुत्य छ । 
 



नयाँ