arrow

फ्ल्यासब्याकः भाँडमे जाए जन्ती

logo
कृष्ण शर्मा,
प्रकाशित २०७९ चैत ४ शनिबार
flash back-bhadme jaye janti.jpg

गत वर्ष अमेरिकास्थित टेक्सास राज्यको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्ड पछिको कुरा हो । अनुमति पत्र भएको खण्डमा खुला रुपमै हतियार लिएर हिँड्न पाइने अमेरिकाको मिसिसिपी राज्यबाट सरुवा भइ आएको मेरो अफिसमा काम गर्ने एक साथीले भर्जिनियामा लुकाएर हिँड्न मिल्ने पेस्तोलको अनुमति कसरी लिने होला भनी मेरो राय माग्यो । 

‘मलाई त यसबारे केही थाहा छैन त’ भन्दा उसले मलाई यसरी हेर्यो मानौं म अर्कै ग्रहबाट आएको अमानिस थिएँ। उसलाई लागेको हुँदो हो मैले पनि पेस्तोल लुकाएर हिँड्छु। र मैले अमेरिकी संविधानमा भएको दोस्रो संशोधनले प्रदत्त गरेको अधिकारको पूरा प्रयोग गरिरहेको छु।

‘मैले त आजसम्म त्यसबारे सोचेकोसम्म पनि छैन’ भन्दा उसले भन्यो, ‘प्राप्त अधिकार तथा स्वतन्त्रताहरु प्रयोग गरिएनन् भने गुम्ने डर हुन्छ। त्यसैले बन्दुक नचलाए पनि किनेर राखिराख्नु उत्तम हुन्छ। के थाहा प्रतिरक्षाको लागि प्रयोग गर्नुपर्ने दिन पनि त आउन सक्छ।’

उसको कुरा सोह्रै आना सही थियो तर पनि मैले शब्दमै ‘तिम्रो कुरा ठीक हो’ भन्न सकिन । म गत वर्ष भएका दर्जनौं नसंहारकारी घटनाले नराम्ररी गिजोलिइसकेको थिएँ । टुटिसकेको थिएँ । दुखिरहेको थिएँ।

सरकारी तथ्यांकका अनुसार गत वर्ष नोभेम्बरको ७ तारिखसम्ममा मात्रै ३७ हजार ८६१ जनाको ज्यान जाने गरी ५८७ पटकसम्म गोलीकाण्ड भएका रहेछन् अमेरिकामा । तीमध्ये ४२ वटा गोलीकाण्ड त स्कुलमा मात्रै भएका रहेछन् । सन् २०२० मा ४६ हजार बढी मानिसको मृत्यु बन्दुकको कारणबाट भएको रहेछ।  

यो वर्ष संघीय सरकारले बन्दुकबाट हुने हिंसा रोक्न तुरुन्तै कडा कानून ल्याएन र हत्याको यो शिलशिला यसरी नै कायम रहेमा ५० हजार भन्दा बढीले बन्दुकबाट हुने हिंसाको कारण आफ्नो ज्यान गुमाउने खतरा रहने छ ।

अधिकार तथा स्वतन्त्रताहरु प्रयोग गरिएनन् भने आवश्यक नठानिन सक्छन् । संविधानमा संशोधन हुन सक्छ र ती अधिकार तथा स्वतन्त्रताहरु गुम्ने डर हुन्छ। 

तर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई निष्फिक्रीका साथ प्रयोग गरिएकोले नै हुनुपर्छ एक अर्को अध्ययनका अनुसार, अमेरिकामा २०१५ देखि २०१९ सम्मको समय अवधिमा प्रत्येक दिन औसतमा ३१६ जना उपर बन्दुक चलाइयो जसमध्ये १०६ जनाले दैनिक रुपमा ज्यान गुमाए र २१० जना घाइते भएर बाँचे । 

केही महिनाअघि मात्रै न्यूयोर्कको बफेलो नाम गरेको शहरको एउटा किनमेल केन्द्रमा एक ब्यक्तिले गोली चलाउँदा मात्र तीस सेकेन्डको अवधिमा १० जना निर्दोष अश्वेत अमेरिकी नागरिकहरुको असमयमै निधन भयो । कैयौं घाइते भए । 

ती घाइतेहरुले जीवनभर एउटा नमीठो क्षणलाई बिर्सन नपाई बाँच्नुपर्ने छ । मृतकका परिवारजनले त्यो दिनलाई हरेक वर्ष रुँदै सम्झनु पर्ने बाध्यता हुनेछ । मानसिक क्षतिको त कुरै नगरौं ।

जिम्मेवारी बिनाका केही स्वतन्त्रताहरु मानव जीवनका लागि भारी सिद्ध भएका उदाहरण खोज्न टाढा कतै पुग्नै पर्दैन । तपाई हामी सामु बग्रेल्ती छन् । टेक्सासको स्कुलमा भएको गोली काण्डपछि मानसिक रुपमा म जस्तै थिलोथिलो भएकी मेरो छिमेकी शिक्षिका भन्छिन्, ‘पढाउने इच्छा हुँदा हुँदै पनि अर्को शैक्षिक सत्रदेखि जागीरबाट संन्यास लिनु बाहेक अर्को विकल्प छैन। यो घर बेचेर अलिक टाढा गएर सानो घर किन्छु र बाँकी रकमले बाँकी जीवन बाँच्दछु। बाँच्नकै लागि मात्र पनि यसरी डरले दिन दिनै मर्न सकिँदो रहेनछ ।’

म हातहतियार राख्न र प्रतिरक्षाको लागि साथमा लुकाएर हिँड्न पाउने अधिकारलाई स्वतन्त्रताको नाममा प्रयोग गर्नेवाला थिइन र छैन पनि । हामी सानो हुँदा स्वच्छन्द हुन चाहन्थ्यौँ वा स्वतन्त्र म यसै ठोकुवा गरेर भन्न सक्दिन । तर गाउँका साथीभाइहरुसँग साँझपख खेल मैदानमा भकुन्डो खेल्न शुरु गर्नै लाग्दा जब ठूल्दाजुले बारीमा सब्जी तथा फलफूलका बिरुवामा पानी सिँचाइ गर्ने बेला भयो भनी बोलाउनु हुन्थ्यो तब हामी दुवैका अनुहारमा एकै पटक दिक्दारी भावहरु सोहोरिएर आउँथे। मलाई आज पर्यन्त थाहा छैन हामी स्वतन्त्र भएर साथीहरुसँग खेल्न नपाएकोमा दिक्किएका हुन्थ्यौं वा घरको काम कर्तब्य प्रति बेफिक्री रहेर स्वच्छन्द हुन नपाएकोमा । 

तर हामी खेल मैदानमा छिटो फर्कने लालसामा रीस नमर्दै पोखरीबाट बाल्टीका बाल्टी पानी डोरीको सहयोगमा आवश्यकता भन्दा बढी बारीभरि सिँचाइ गर्थ्यौं अनि हतार हतार मैदानतिर दगुर्न थाल्थ्यौं । ठूल्दाजुले भने फेरि अर्को काम थपेर फर्काउनु हुन्थ्यो, ‘यत्तिकै फेरि उफ्रिन जान पाउँला भनेका हौला । भोलि बिहानै सेमरा धान कुट्न जानु छ। अब यी बोराहरु लडियामा हाल्नु पर्छ। जाओ अँध्यारो नहुँदै भुपबहादुरलाई खेतबाट बोलाएर ल्याओ र बोरा उचालेर उसलाई सहयोग गरओ ।’ 

थपिएको काम गर्दा गर्दै रात पर्थ्यो । साँझको खाना खाँदा मात्रै होइन बिस्तारामा सुत्न जाँदासम्म पनि हाम्रो रीसले भरिएको दिक्दारी मरिसकेको हुन्थेन। हजुरआमा बुझक्की हुनुहुन्थ्यो। उहाँले हाम्रो आन्दोलित मनलाई भुलाउन सुत्ने बेलामा कहिले सुटुक्क मिस्रीका टुक्रा, कहिले मिठाइ, कहिले फलफूल आदि दिनुहुन्थ्यो। 

त्यो एक दिनको मात्र कुरा थिएन । उक्त उपक्रम दैनिकी जस्तै भएकोले बिहान स्कुल जाँदै गर्दा बाटोमा सहपाठी साथीहरुले जिस्काउँथे । भन्थे –तिमीहरुको ठुल्दाइ आफूले केही खेल्न जान्दैन त्यसैले तिमीहरुले खेलेको हेर्न सक्दैन र इर्श्या गर्छ ।

घर आएर दिउँसोको खाजा खाँदा हामीले हजुरआमालाई सोध्थ्यौं, ठुल्दाजुले हामीले फुटबल, भलिबल आदि खेलेको किन मन पराउनु हुन्न ? 

हजुरआमाले आलटाले जवाफ दिनुहुन्थ्यो ।

उक्त शृंखला कलेज शुरु हुने समयसम्म चल्यो । अझ अगाडि गएर भन्नु पर्दा २०४८ सालतिर माइलोदाजुको बिहेको जन्ती जाने दिनसम्म चल्यो । 

त्यो दिन तराईको हाम्रो घरमा बिहेको रमझम थियो । घर भरि पाहुना हुनु स्वभाविक नै भयो । फागुन महिनाको अन्तिम साता भएकाले हल्का गर्मी शुरु भैसकेको थियो । 

त्यसदिन बिहान अचानक जमीनमुनि गाडेको ह्युम्पाइपको धाराबाट पानी आउन छोड्यो । बिहेको समयमा पानी नभएपछि अप्ठेरो हुनु स्वभाविकै थियो । 

ठुल्दाजुले सुशील र मलाई अर्को ठाउँबाट पानी निकाल्नको लागि नयाँमील भन्ने ठाउँमा गएर चार वटा बीस फुटे फलामका पाइपहरु दुई वटा साइकलमा बाँधेर ल्याउन भन्नुभयो। पाइप गाड्ने मिस्त्रीहरु गाउँमै थिए ।

आफु भन्दा ठूलाले दिएको काम अस्वीकार गर्ने स्वतन्त्र संस्कार थिएन । जाने मन नहुँदा नहुँदै पनि ध्रुब काकाको साइकल मागेर हामी पाइप ल्याउन भनी दुई वटा साइकलमा हुइकियौँ । 

हाम्रो क्षमता भन्दा गह्रुंगा थिए ती दुई इन्च डायमिटर भएका चार वटा बीस फुटे फलामे पाइप। 

बीच बाटोमा आउँदा नआउँदै पसलेले बाँधिदिएको डोरी फुस्कियो । हामीले जति कोसिस गरी बलियोसँग बाँधे पनि छिन छिनमा साइकलका डन्डीबाट पाइपहरु फुस्किरहे । 

जन्ती जाने बस छुट्छ कि भनेर म चिन्तित भएको जस्तो कुरा सुनेर सुशीलले रिसाउँदै भन्यो, ‘भाँडमे जाए जन्ती ।’

म यदाकदा सबैले महसुस गर्ने गरी रिसाउँथेँ । तर सुशील रिसाएको कसैले पनि देखेका थिएनन् । 

मैले मेरो भाइ डरलाग्दो गरी रिसाएको देखेको त्यो पहिलो पटक थियो ।

दुई वटा साइकलमा दुवैतर्फ दुई दुई वटा फलामे पाइप बाँधेर डोहोर्याउँदै पसिनाले निथ्रुक्क भिज्दै घरसम्म ल्याउँदा साँझको ५ बज्न लागेको थियो । 

अहिलेको जस्तो ताररहित सेल फोनको ब्यवस्था भएको भए हामीलाई सायद छिटो छिटो आउन आदेश गइसकेको हुन्थ्यो होला । 

घरमा आउनासाथ जन्ती जान ढिला भयो किन ढिलो गरेको भनेर ठुल्दाइले उल्टै हप्काउन के थाल्नु भएको थियो हजुरआमालगायत सबै आमा, काकी र दिदीहरुले उहाँलाई गाली गर्नुभयो, ‘बिहेको दिन आफूहरु ठालु पल्टिएर यी साना भाइहरुलाई त्यति अफ्ठेरो काममा पठाउने अनि ढिला गरे भनेर हप्काउन थाल्ने ? काम गर्ने मान्छे खोजेर पठाउन सकिँदैनथ्यो ?’

त्यसपछि सुशील र म दुवैले सल्लाह बिनै संयोगवश एकै पल्ट ‘भाँडमे जाए जन्ती !’ भन्दै भान्सामा गएर भोक लागेको छ केही खान दिनुस भन्यौं । 

मैया दिदीले हामीलाई मन पर्ने सेलरोटी, काँक्रोको अचार र मासु दिनुभयो अनि बाहिर निस्केर बसमा बसेर जान लागेका सबै जन्तीहरुले सुन्ने गरी भनिदिनुभयो, ‘बाबुहरु थाकेर भोकै आएका छन् । खाना खाँदै छन् । नुहाउनु पर्यो । कपडा लगाउनु पर्यो । भाँडमे जाए जन्ती भन्दै छन् बिचराहरु । हजुरहरु गए हुन्छ कुर्ने समय नभए । उनीहरु यहीँ बस्छन् । अरुको बिहेमा कहिल्यै सुबिस्ता साथ जाने भाग्य रहेनछ यिनीहरुको, आफ्नै बिहेमा सुबिस्ता साथ जालान् ।’

मैया दिदीको कुरा सुनेपछि ठूलोबुबा बसबाट निस्केर सिधै भान्सामा आउनु भयो र आफूलाई यसबारे केही थाहा नभएको भन्दै सबैभन्दा पहिले हामीसँग क्षमा माग्नु भयो । बीचमा बसेर पसिना नओभाएका हाम्रा काँधमा हात राख्दै भन्नुभयो, ‘अहिले नुहाउनु पर्दैन । खाना खाएपछि दुवैले कपडा लगाउ अनि सँगै जाने।’

ठूलोबुबा जो हामी दुवैका गायत्री मन्त्र सुनाउने गुरु पनि हुनुहुन्छ । त्यति भने पछि हामी दंग । हाम्रो रीस तत्कालै मरिहाल्यो । 

बाहिर निस्केर उहाँले ठुल्दाजुलाई ‘अब आइन्दा यी पढ्ने छोराहरुलाई अनावश्यक काममा लादेर बढी सताउने होइन । बुझ्या हो ? आफूले भनेको कुरा काट्न सक्दैनन् भनेर यो हदसम्म गएर कजाउने ?’ भन्दै हप्काउनु भयो । 

राजनीतिक सभा समारोहहरुमा अन्तिममा आउने प्रमुख अतिथिलाई जस्तो गरेर हामी कपडा लगाएर गाडीमा जाँदा ठूलोबुबाले स्वागतमा ताली पड्काइदिनु भयो । अनि अरुले पनि ताली पिटे । हामि फेरि दंग ।  

त्यस दिनदेखि हामी स्वतन्त्र भएको महसुस गर्यौं । विवाहस्थल दाङ जिल्लाको सदरमुकाम लमहीमा प्रेम दाजु र शम्भु भिनाजुसँग जीवनमै पहिलो पटक ह्या हामी मात्रै कति पेलिने भन्ने सम्झिएर बियरसमेत पियौँ ।

सायद स्वतन्त्रता र स्वच्छन्दताका अनुभूतिहरु सँगसँगै लिएकोले यी दुई नितान्त फरक कुराहरु एउटै हुन् कि भन्ने भ्रम धेरै समयसम्म रहिरह्यो ।

ठुल्दाजुले सायद माइलोदाजुको बिहेको समयसम्म हामीलाई काममा जोत्ने स्वतन्त्रतालाई स्वच्छन्द साथ अलिक बढी नै प्रयोग गर्नु भएको थियो कि । हामीले पनि भर्खर प्राप्त स्वतन्त्रतालाई पेय पदार्थमै पुर्याएर अलिक बढी नै स्वच्छन्द हुन खोजेका थियौँ कि ?

स्वतन्त्रताको बेरोकटोक एवं लगामहीन स्वच्छन्दताले मलाई भड्कायो । केही समयको लागि नै सही तर जँड्याहा बनायो । कसलाई रहर हुँदैन होला जीवनको चापरहित वायुमण्डलमा पुगेर चील जस्तै आफ्ना स्वतन्त्रताका पखेटा फैलाइ अनन्तसम्म तैरिने उत्कट अभिलाशा ? कसलाई रहर हुँदैन होला जीवनको सङ्लो पानीमा माछा जस्तै बेरोकटोक पौडिरहने इच्छा ?  

हामी सम्झन्छौं स्वतन्त्रता निःशुल्क प्राप्त हुन्छ र यसले सबथोक दिन्छ । तर हामीले कहिल्यै सम्झन सक्दैनौँ कि यसले जिम्मेवारी बहन गर्ने क्षमताको माग गर्दछ । र यसलाई निरन्तर सम्हाल्न सक्नु पर्छ । 

जब हामी स्वतन्त्रतालाई सम्हाल्न सक्दैनौँ तब यसको बोझले हामीलाई पीडा दिन्छ । स्वतन्त्रताको कुरा राजनीतिमा मात्र लागु हुन्छ भन्ने भ्रम पालेर मानिसहरुले आफूलाई चिन्न नसकिरहेको अवस्थामा आजको समय गुज्रिरहेको छ । 

ब्यक्तिगत जीवनमा पनि स्वतन्त्रताको चाहना गर्नु र प्राप्त गर्नु एउटा कुरा हो। तर त्यसको उच्चतम उपयोग गर्नु भन्दा ठूलो चुनौती केही हुँदैन ।

कल्पना गरौंः के सुशील र मैले विवाहको दिनमा परिवारको सदस्य भएको हैसियतमा ती फलामे पाइपहरु नल्याएको भए ठूलो बुबाबाट त्यो प्रेम र स्याबास पाउँथ्यौं होला ?

तर सबै कर्महरु सधै माथिको परिभाषामा समेटिन सक्दैनन् । बन्दुक राख्न र प्रयोग गर्न पाइने स्वतन्त्रताको मुद्दाले शतकौँदेखि अमेरिकी राजनीतिलाई यति जकेडेर राखेको छ कि यही मुद्दा प्रत्येक राष्ट्रपतीय, सिनेट तथा संघीय एवं राज्य स्तरका हर चुनावमा पेचिलो विषय बनेर रहेको छ ।

मानसिक अवस्था ठीक नभएको, कस्तो अवस्थामा बन्दुक चलाउने र नचलाउने निर्णय गर्ने उमेर भइनसकेको, अपराधिक मनस्थिति भएको ब्यक्तिले बन्दुक पाउँदा भएका र हुने दुर्घटनाहरुले हरेक दिन समाचार पत्रहरु भरिएको हुने अवस्थामा म कसरी प्राप्त अधिकार तथा स्वतन्त्रताहरु नगुमाउन बन्दुकको पक्षधर बनुँ ?

त्यो स्वतन्त्रता जसले जीवनहरण गर्छ, जसले महिला पुरुषलाई असमयमै विधवा र विधुर बनाउँछ, जसले बालबालिकाहरुलाई  टुहुरो बनाउँछ, जसले समाजलाई नै बिटुलो बनाउँछ, जसले बाँचेकाहरुलाई मानसिक शिकार बनाइ जीवनको रेतमा बसेर बाँच्न बाध्य बनाउँछ त्यस्तो प्रकारको हिंस्रक स्वतन्त्रतालाई कसरी व्यवस्थित गर्ने ? 

चाहे त्यो अमेरिका होस् या नेपाल, मुद्दा फरक होलान् तर हिंसाको परिणति एकै प्रकारको हुँदो रहेछ। अहिले १७ वर्ष अगाडि सकिएको १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा मारिएका कति लासको जिम्मा कसले लिने र त्यसको सजाय के हुने भनेर नेपालले अप्ठेरो बहस गरिरहेको छ । 

७५ वर्षअघि भारतले महात्मा गान्धीको सफल नेतृत्वमा अहिंसात्मक आन्दोलनकै बलमा बेलायत जस्तो शक्तिशाली विस्तारवादी शक्तिलाई परास्त गरेको नजिरलाई मन्त्र बनाएर अहिंसात्मक आन्दोलन छेँडेको भए यतिबेला प्रचण्डलगायत कम्युनिष्ट शक्तिहरुले आज यो दिन भोग्नै पर्दैनथ्यो । अनि यी बहस चल्दा हिंसा पीडितका परिवारहरुमा ऐठन हुँदैनथ्यो । मन गिजोलिंदैनथ्यो । टुट्दैनथ्यो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ