- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कतिपय अकाट्य सत्य कुराहरु हामीसँग यतिबिघ्न नजिक हुन्छन् कि हामी हाम्रा नाङ्गा आँखाले तिनीहरुलाई सजिलै देख्न सक्दैनौं । जस्तै आँखाका परेली । आँखाकै डिलमा जम्मा हुने आँशुका थोपा । आँखाको दुवैतिर एकनासले उभिएका कान । आँखाको ठीक अगाडि तर केही तल शानका साथ उभिएको नाक । अँध्यारोमा पनि छायाँ जस्तै कहिल्यै हामीलाई नछोड्ने मृत्यु ।
हो, मृत्यु । मृत्यु पनि जीवन जस्तै हामीसँग यति नजिक रहेर कुम ठोक्याउँदै यात्रा गरिरहन्छ । उसलाई हामी सजिलै देख्नै सक्दैनौं । गत फागुनको तेस्रो साता चौरासी पूजा सम्पन्न भए लगत्तै ऊ मेरा गुरुलाई लिएर जान भनी नजिकै ढुकेर बसेको रहेछ । तर कसैले देख्नै, शंका गर्नै सकेनन् ।
पूजा सकिँदा साथ लिएर गयो । यसरी लग्यो मानौं उसले गुरुसँग अरु कसैले नसुन्ने गरी चौरासी पूजासम्मको अलिखित सम्झौता नै गरेको थियो ।
वेदना र पीडा जति हाम्रो काखमा खन्याउँदै उहाँलाई लिएर गएपछि म कवि शिरोमणि लेखनाथ पौडेलको कालजयी ‘काल महिमा’ याद गरिरहेछुः
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टेर्दैन त्यो,
...
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ।
मलाई गायत्री मन्त्र सुनाउने गुरु (नारायणप्रसाद शर्मा पौडेल) नातामा मेरा ठुलो बुबा हुनुहुन्थ्यो भने मेरो मनका मामिलामा चाहिँ ‘हिरो’, अर्थात्, मेरो प्रेरणाका स्रोत । समकक्षीहरु उहाँको तर्कशैली, निडर र हक्की स्वभावबाट कायल थिए भने हामी केटाकेटीहरु चाहिँ उहाँको माया अनि उहाँको हृदयदेखि नै आउने ठूलो हाँसोका पारखी ।
सानो सुखद समाचारले उहाँको खुशीलाई सगरमाथामा पुर्याउँथ्यो । भाइ सुशील र म एसएलसीमा प्रथम श्रेणीमा पास भएको दिन म सायद स्वयं नमर्दासम्म पनि बिर्सन सक्दिन होला । भैरहवाको पवन मिष्ठान्न भण्डारको अगाडि ‘शोकेशमा बेच्न राखेको सबै पेँडा किनेर हामीलाई गाउँमा लगी परिवारलाई, नातागोतामात्र होइन सबै गाउँलेहरुलाई बाँड्न पठाउनु भएको थियो ।
नागरिकता बनाउने दिनमा पनि त्यस्तै । प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएका सबैलाई पवनको पेँडा बाँड्दै भन्नुहुन्थ्यो – मेरा यी दुई छोराहरुको सफलतामा यति त बन्छ ।
सरकारी जागिरमा संलग्न भएको कारणले कामको सिलसिलामा उहाँ विभिन्न शहर र सदरमुकाम धाइरहनु पर्दथ्यो । सरकारी सेवामा रहँदासम्म उहाँ घर भरिका मात्र होइन एक प्रकारले नेपालको पश्चिम तथा मध्यपश्चिमको तराई क्षेत्रका अभिभावक जस्तै हुनुहुन्थ्यो ।
सचिवसम्मको उच्च पदमा पुगी सेवाबाट निवृत्त नहुन्जेल उहाँले अवसरहरुबाट वञ्चित भई पिछडिएका आदिबासी नागरिकहरुलाई कृषिका अलावा साना तथा मझौला उद्योगतिर आकर्षित गर्न धेरै नीतिगत निर्णय बनाउने र कार्यान्वयन गर्ने काम गरेको तथ्य उहाँले प्राप्त गरेका सम्मान तथा पदकहरुले प्रमाणित गर्दछन् ।
जब चाड पर्वहरुमा घर आउनुहुन्थ्यो अनि उहाँले हामीलाई खोज्नुहुन्थ्यो जसरी हामीले उहाँलाई वर्षभरि खोजिरहेका हुन्थ्यौं ।
हामीले गाउँको मन्दिर नजिकैको खुला मैदानमा भकुन्डो खेलेको हेरेर गद्गद् हुनुहुन्थ्यो उहाँ र घर आएपछि भाइ सुशील र मलाई भन्नुहुन्थ्यो, ‘आज तिमीहरुले मलाई एउटा–एउटा कथा सुनाउनुपर्छ ।’
कहिले आँगनको छेउँमा काठको कुर्सी राखिदिएर त्यसमाथि उभिन लगाउँदै घरका सबैलाई स्रोता बन्न लगाउनु हुन्थ्यो । हामीलाई मन परेको विषयमा बोल्न लगाउनु हुन्थ्यो त कहिले तरवार ठूलो कि कलम भन्ने शिर्षक दिएर वादविवाद प्रतियोगितामा उतार्नु हुन्थ्यो ।
सृजनात्मक स्वतन्त्रताका एकदमै ठूला पक्षपाती हुनुहुन्थ्यो उहाँ । भन्नुहुन्थ्यो, ‘कसैको कोमल मष्तिष्कमा आफ्नो विचार लाद्नु राम्रो कुरा होइन । जगतको अवलोकन गरेर विज्ञानसम्मत धारणा बनाउन हर कोही स्वतन्त्र हुन पाउनु पर्छ ।’
उहाँले आवश्यकता भन्दा बढी माया कहिल्यै दर्शाउनु भएन । हामीलाई लड्नको लागि फराकिलो धरातल दिनुभयो । फेरि उठ्नको लागि समय दिनुभयो । आफैँ उठ्न दिनुभयो । उड्न दिनुभयो । विश्वासरुपी नजर हामीमाथि राख्नु भयो ।
तर कहिल्यै हामी उड्दै माथि जाँदै गर्दा वा तल झर्दै गर्दा बट्टाईलाइ आफ्नो इच्छा अनुसार तल वा माथि लैजानको लागि बलपूर्वक झट्कार्नु भएन ।
भाङको लस्सी पिएर तीन दिनसम्म सुत्दा पनि, दर्जनौं फरक फरक गल्ती गर्दा पनि कहिल्यै हकार्नु भएन । धेरैजसो घटनाहरु कुनै कारणको परिणामस्वरूप मात्र होइन अपितु केही कारणका लागि पनि भएका हुन्छन् जस्तो लाग्दछ मलाई ।
गत बैशाखमा नेपाल गएको बेला मोटरसाइकल दुर्घटना भएपछि गुरुसँग करिब पाँच दिनसम्म सत्संग गर्ने सुवर्ण मौका पाएको थिएँ । लाग्दछ, उक्त दुर्घटना नभएको भए मैले त्यति धेरै समय व्यतित गर्न पाउँदो रहेनछु ।
‘महियांस प्रकृत्या मितभाषिणः ।’ अर्थात् महान् मानिसहरु स्वभावैले कम बोल्छन् । उहाँ धेरै बोल्ने मानिस नभएकोले मैले कसरी पारिवारिक इतिहासबारे उहाँको उत्तरार्धको जीवन दर्शन र सोच्ने शैलीबारे सोध्न सकुँला भन्ने थियो ।
तर उहाँको चरणमा पर्दा साथ मेरो शिरमा आफ्ना कोमल हातहरु राखेर भन्नु भयो – तत् त्वम् असि । अर्थात् जो अनन्त छ, कहिल्यै मेटिँदैन, तिमी त्यही हौ ।
‘रुप र चोला त मेटिन्छ नि, हैन र ?’
त्यसपछि गुरु–चेलाबीच आत्माको अमरताको बारेमा, जीवनको प्रारब्ध अनि उत्तरार्धको बारेमा लामो विचार मन्थन भयो । संस्कृतका श्लोकहरुको उद्धरण गर्दै उहाँले कर्मबाट बन्ने मान्छेको अमिट व्यक्तित्वको बारेमा विस्तारमा कुरा गर्नुभयो ।
एक दिन उहाँको मन साँध्न सोधेँ, ‘भाइ र मैले तानसेनको सेन हाइस्कुलमा तपाईको चाहना विपरीत ऐक्षिक विज्ञान विषय नलिएर इतिहास अनि अर्थशास्त्र रोज्दा तपाईलाई रीस उठेकै थिएन ?
अनि त्यसैताका भाङको लस्सी पिएर तीन दिनसम्म वेहोश भइ सुत्दा पनि तपाईले हामीलाई गाली गर्नु भएन नि ! किन ?’
‘अनुगच्छातु प्रवाह । अर्थात् तिमीहरुले आफ्नो स्वभाव अनुसारको विषय रोज्यौ । मैले रिसाउनु पर्ने कुरै थिएन । तिमीहरुको रोजाइमा मैले कहिल्यै शंका गरिन । रीस उठेको भए म नै गलत हुने थिएँ । जहाँसम्म भाङको लस्सी काण्डको कुरा छ तिमीहरुले नशाजन्य पदार्थ लिएको थाहा पाएपछि म तिमीहरु बिग्रन्छौ कि भनेर अत्यन्त सचेत चाहिँ भएको थिएँ । त्यसैले मेरो साथी प्रेमचन्द्रको जेठो छोरा मोहनलाई तिमीहरुले थाहा नपाउने गरी चियो गर्न खटाएको थिएँ । तिमीहरुले मैले शिकायत गर्नु पर्ने गरी कुनै गल्ती दोहोर्याएनौ । त्यसैले मैले गाली गर्नै परेन ।’
‘जीवनको ८४ वर्ष काट्दै गर्दा कुनै कुरा वा काम गर्न नपाएकामा पश्चात्ताप त छैन नि हजुरलाई ?
‘पश्चात्ताप गर्नुपर्ने त्यस्तो केही छैन । मैले सधै आफूलाई काममा, अध्ययनमा र व्यायाममा व्यस्त राखेँ, त्यसैले म सुखी र खुशी पनि छु ।
वाणि रसवती यस्य, यस्य श्रमवती कृया । लक्ष्मीः दानवती यस्य, सफलं तस्य जीवितं ।।
अर्थात् मनुश्यको सबैभन्दा ठूलो दुश्मन उसको आलस्य हो । परिश्रम जस्तो दोश्रो मित्र कोही हुन सक्दैन । किनकि परिश्रम गर्ने मानिस कहिल्यै दुःखी हुनु पर्दैन ।
पश्चात्तापै त नभनौं होला । तर यदि फेरि फर्केर बाँच्ने अवसर आइदिन्थ्यो भने मैले अलिक बढी समय सायद तिमीहरुसँग भकुन्डो खेलेर बिताउन चाहन्थेँ होला ।’
मेरा कुलपुरुषसँगका संगत र विचार धेरै छन् । तर उहाँको निधन (आज शनिबार नौ दिन) को शोकले बढी लेख्न पनि नसकिँदो रैछ ।
गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वर ।
गुरुः साक्षात परब्रह्मा तस्मै श्री गुरुवे नमः ।।