- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वाण्येका समलङ्करोति पुरुषं या संस्कृतार्धायते।
क्षीयन्ते खलु भूषणानि सततं वाग्भूषणं भूषणम् ॥
अर्थात् सुसंस्कृत प्रकारले धारणा ब्यक्त गर्ने वाणीले नै मानिसको शोभा बढाउँछ। साधारण आभूषण नष्ट हुन्छन् । वाणी नै मानिसको सनातन आभूषण हो ।
भारतका दमदार चरित्र अभिनेता आषुतोश रानाले हालैमात्र एक कार्यक्रममा यसो भने, ‘बोल्न त हामी जन्मेको दुइ वर्षदेखि नै सिक्छौं । तर कुन समयमा के कुरा कसरी बोल्ने भन्ने तरिका सिक्दा सिक्दै पूरा जिन्दगी नै बित्छ । अझ गहन रुपमा बुझ्नु पर्ने कुरा यो छ कि हाम्रो व्यक्तित्व बोलीले नै निर्माण अनि बोलीले नै नष्ट गरिरहेको हुन्छ। त्यसैले हामी बोलौं तर नबकौं ।
नशाजन्य पेय पदार्थ सेवन गरेपछि म बोल्दिनथें, म बक्थेँ । जुन अनुपातमा नशासँगै मेरो दिमागमा घमण्ड पनि चढ्थ्यो ठीक त्यही तर विपरीत अनुपातमा मेरो शोभा घटिरहेको हुन्थ्यो। अपितु मलाई नशाको मातमा हुँदा थाहा हुदैनथ्यो कि मेरा विचारहरु पनि अहम्ले बेलुन जस्तै फुलेर प्रस्तुत भैरहेका हुन्छन् । किनकि मेरो चेतनाको तह नशाको कवचले सदा कछुवा जस्तै छोपिएको हुन्थ्यो ।
एउटा प्रसंग उल्लेख गर्न चाहें । करिब ६ वर्षअघि म कामको सिलसिलामा कोलोराडो राज्यको डेनवर शहरमा थिएँ । त्यहाँका मेरा साथी सचिन मानन्धरले जनवरी महिनाको त्यो मुटु नै छेँड्ला जस्तो चिसो साँझमा उनको साथीको बहिनीको जन्मदिनको समारोहमा लिएर गए । सचिन र उनका ती घरबेटी साथी बाहेक मैले कसैलाई पनि नचिनेकाले समारोहमा खुल्न नसक्नु स्वभाविक नै थियो ।
उक्त अवस्थाको संकेत पाएपछि सचिनले मलाई त्यो घरको भुइँतला अर्थात बेसमेन्टमा लिएर गए। पार्टीको माहोल भएकोले पेय पदार्थ पनि राखिएको थियो। भुइँतलाको कुनामा रहेको ड्राइ बारमा केही युवाहरु बियर आदि पिएर डार्ट खेल्दै रमाइलो गरिरहेका थिए। दुइ पेग ग्लेनफिडिच लिएपछि म पनि विस्तारै खुल्न थालेँ । केही बेरमै मेरो वरिपरि युवाहरु झुम्मिन थाले। हामी विभिन्न विषयमा गफियौँ ।
त्यसैताका मेरी छोरीको एउटा लेख अमेरिकाको प्रसिद्ध अनलाइन जर्नलमा प्रकाशित भएको थियो । मैले बडो गर्व महसुस गर्दै भनेँ सन्तानको पिता बनेर चिनिन पाउँदा जो कोहीलाई पनि खुशी लाग्ने रहेछ। अर्को दिन बिहान सचिनको फोनमा मैले अघिल्लो रात बोलेको कुराको छोटो अडियो क्लिप कसैले पठायो ।
क्याप्सनमा ‘काकाका गफ’ लेखिएको थियो। त्यो देखेपछि मलाई नशाजन्य पदार्थको सेवनपछि सार्वजनिक स्थानमा प्रस्तुत हुँदा कुनै पनि मानिस जतिसुकै जिम्मेवार रुपमा प्रस्तुत भए पनि श्रोताको स्तर र समग्र बुझाइ अनुसार राम्रैसँग हाँसोको पात्र बन्न सक्छ भन्ने स्व–अनुभव सहितको शिक्षा प्राप्त भयो । फर्केर हेर्दा बीसदेखि पैँतालीस वर्षसम्मको जीवनको अत्यन्त उर्जाशील समयमध्ये धेरै त मैले बकेरै खेर फालेको रहेछु जस्तो लाग्यो ।
अब अर्को प्रसङ्गमा जान चाहेँ । विगत ०७ सालदेखि मैले मेरा एक पुराना मित्रसँग घनिष्टता बढाएको छु। उनलाई मैले २४ वर्षअघि काठमाडौंमा भेटेको थिएँ । सायद बीचमा उनी र म दुवै घर गृहस्थी, पेशागत ब्यस्तता, अध्यागमनका झन्झट आदि कारणले त्यति धेरै सम्पर्कमा हुन सकेनौं जति हामी दुवै चाहन्थ्यौं।
उनी र मबीच काठमाडौं छोडेपछि ‘इन–पर्सन’ भेट भएको छैन । उनी आजकल टेक्सासमा बस्छन् । म भर्जिनियामा । उनी अर्थात् विनोद रिजाल र म फुर्सद हुँदासाथ फोनमा गफिन जुट्छौँ ।
विनोदका धेरैमध्ये तीन वटा लोभलाग्दा विशेषताबारे यहाँ लेख्नै पर्ने हुन्छ । पहिलोः उनी सत्यको अत्यन्त नजिक भएर आषुतोश राना जस्तै स्पष्ट अनि खरो बोल्छन् । उनका कुरा सुन्दा मलाई लाग्छ मैले उनले रेकर्ड गरेको टेप खोलेको छु जसको निर्माणका लागि धेरै पटक ‘टेक’ लिइएको थियो ।
उनले बोल्दा अनि..,अँ..,चाहिँ..,त्यसपछि..,आ.. लगायतका फिलरहरु प्रयोग नै गर्दैनन् भन्दा पनि हुन्छ । त्यसको अर्थ के हो भने उनी के बोल्दैछु भन्ने कुरामा एकदमै स्पष्ट छ्न् । साथै उनको शब्द ज्ञानको भण्डार विशाल छ । जसले गर्दा उनी अकमकिएर अनि.., अँ.. इत्यादिको सहारा लिनै पर्दैन ।
दोस्रोः उनी विषय प्रतिको कुशलता बिना हावामा बोल्न रुचाउँदैनन् ।
तेस्रोः उनमा अरुका कुराहरु सुन्ने धैर्यताको त बाँध नै छ भन्दा पनि हुन्छ ।
गत मार्च महिनाको त्यो सिम्सिमे साँझमा उनले छोरीलाई कलेजबाट स्प्रिंग ब्रेक शुरु भएपछि घर लिएर फर्कंदै गर्दा फोन गरे । म पनि कामबाट घर फर्कंदै थिएँ । आकाश खुलेको थिएन ।
पात बिनाका नांगा रुखहरुले मैलो न मैलो, चाँदीको घेरा बिनाको बादलको च्यादर ओढेर रात्रिकाल कुरिरहेको प्रतित हुन्थ्यो । फुसफुस पानी पनि परिरहेको थियो ।
औपचारिकतापछि कता कताबाट प्रसंग ‘विचार’ को बारेमा आयो । अनि त्यसैको सेरोफेरोमा कुराकानी शुरु भयो । उनले किताबको कुनै पानाबाट वाक्य सापटी लिए जस्तो गरी भने, ‘विचार भनेको अनुभव र चेतनाको संयुक्त घुलन हुँदा प्रकट हुने नौनी हो ।’
मैले उनको त्यो वाक्यलाई मेरो मष्तिष्कमा कम्प्युटरले जस्तै ‘प्रोसेसिंग’ गरेपछि एकदमै प्रभावित हुँदै सोधेँ, ‘तिमीले गाडी चलाइरहेका छौ कि छोरी वा भाउजुले ?’
उनले आफूले नै गाडी चलाइरहेको कुरा गरे। मैले गम खाँदै सोचेँ र इमान्दारीपूर्वक भनेँ पनि –मलाई त लागिरहेको थियो कि तिमीले कतै कुनै किताबको पानाबाट यो पंक्ति पढिरहेका छौ ।
तिम्रो बोलीको स्पष्टता र विषय प्रतिको गहन दख्खल अन्दाजीसँग म कायल छु यार, विनोद, ब्रो !
उनी गलल हाँसे ।
हामी गफिएको केही मिनेट पछि म घर पुगेँ । उनीसँगको कुरा अनायाश टुंगियो। दोष मेरो थियो । चाहना हुँदाहुँदै पनि मैले कुरा टुंग्याएको थिएँ ।
घरमा पुगेपछि म चाहन्नथेँ फोनमा आफ्नो बोलीको कारण घरका अरु सदस्यहरुलाई ‘डिस्टब्र्ड’ महसुस होस् ।
भनिन्छ एक दिनमा मानिसको दिमागमा औसत ८० हजार भन्दा बढी विचारहरु प्रवाह हुन्छन् । हामी निद्रामा हुँदा पनि सपनाको रुपमा विचारहरु हाम्रो दिमागमा सल्बलाइरहेका हुन्छन् ।
तीमध्ये दुई चार विचारहरु मात्र हाम्रो स्मरणमा बस्छन् अथवा भनौं हामी दुइ चार विचारहरुका बारेमामात्र सचेत हुन्छौं ।
जस्तैः गुरुले दिएका उपदेशहरु, श्रीमतीले प्रेमपूर्वक वा घृणापूर्वक गरेका केही कुराहरु, काममा हाकिमले गरेका टिप्प्णी वा प्रशंसा, विनोदले भनेका कुराहरु, कुनै मीठो सपना, कुनै मीठा यादहरु ।
म सोँच्छु बाँकी सबै विचारहरु के कारणले उब्जँदा होलान् अनि बिलाएर कहाँ जाँदा होलान् । अनि ती विचारहरु फर्केर आँउदा होलान कि नहोलान् ?
आजकल मैले नेपालका एक सन्त महात्मा भेषराज वन्तसँग अनलाइनको सान्निध्यमा रहेर केही दिनदेखि सत्संग गरिरहेको छु ।
उहाँसँग आँखा बन्द गरेर सत्संगमा बस्दा मेरो दिमागभित्र विचारहरुले गुँड लगाउने एकदमै उपयुक्त मौका पाउँछन् । किनकि म त्यतिबेला स्थिरताका साथ ध्यान मुद्रामा हुन्छु ।
विचारहरु लाखौँ डिब्बासहित अनन्त यात्रामा निस्केको लामो न लामो रेल जस्तै दिमागको लिकमा बेजोडको गतिमा दौडन्छन् । कहिलेकाहिँ लाग्छ ती डिब्बाहरुबीच नाता छ । सम्बन्ध छ । त्यसैले जोडिएर दौडन्छन् । तर धेरै जसो समयमा तिनीहरुबीच अन्ताक्षरी खेल्दा अघिल्लो गीतको अन्तिम अक्षर र त्यसपछिको गीतको शुरुको अक्षर बाहेक केही समानता नै भेट्दिन मैले ।
आँखा खोल्दा ती विचारका डिब्बाहरुले नेटो काटिसकेका हुन्छन् । अनि अर्को विचारको श्रृंखला मेरो वरिपरिको वातावरणमा घुम्न शुरु गरिसकेको हुन्छ।
एक्काइसौं शताब्दीका प्रसिद्ध युवा चिन्तक युवल नोवा हरारीले भने जस्तै म दश सेकेन्ड भन्दा बढी विचार शून्य भएर ध्यानमग्न रहेको अवस्था सम्झन सायद बाल्यकालमै पुग्नुपर्छ होला ।
जतिखेर मानिसको मष्तिष्कमा अनुभव र चेतनाका लिकहरु बनिसकेका हुँदैनन् । साँच्चै अनुभवहरु नहुँदा र चेतनाको अवस्था कलिलै हुँदा बालकको मष्तिष्कमा सायद त्यति विचारहरु आउँदैनन् होला जति ऊ युवक हुँदैगर्दा आउँछन् ।
अझ प्रौढ अवस्थामा पुगेपछि मानिस जति थरि संगत अनुसारका फल, अनुभव र चेतना बटुल्दै जान्छ त्यति थरि विचारहरुको साक्षी बनेर बाँदर जस्तै एक रुख पछि अर्को, अनि एक हाँगा पछि अर्को हुँदै उफ्रन बाध्य हुन्छ।
यसरी बाँदरको जस्तो स्वभाव भएको मन लिएर मानिसहरुबीच अर्थपूर्ण विचार ब्यक्त गर्नु जस्तो चुनौतीपूर्ण काम केही हुँदैन जस्तो लाग्छ ।
बोली फुट्नु र वाक्य फुट्नुको फरक बल्ल महसुस हुँदैछ। त्यसैले होला म मेरो कार्यालयमा काम गर्ने लेखक मित्रहरु डा. जेफ्रि र शिफ्रिन अनि मेरो लामो समयदेखिको साथी विनोद जस्ता ब्यक्तिहरुको वाक्पटुतामा इर्श्या गर्छु जो राम्रो लेख्ने मात्र गर्दैनन् उत्तिकै लोभलाग्दो गरी बोल्छन् । के गरुँ । देवता होइन । मानव हुँ ।
तथापि वन्तजीसँगको संगतले म क्रमशः धन्य हुँदैछु। उहाँले मेरो बाँदर जस्तो उफ्रिरहने मनलाई आफ्नो उन्नत वाणीमा लगेर यसरी समाहित गरिदिनुहुन्छ कि म उहाँको त्यो क्षमतादेखि भित्रभित्रै कृतज्ञ हुन्छु ।
साइकोलोजी जर्नलले केही समयअघि गरेको एक अनुसन्धानका अनुसार पुरुषले एक दिनमा औसतमा करिब सात हजार शब्दहरु बोल्छ । महिलाले बीस हजार ।
उहाँसँगको संगतपछि म आजकल महसुस गर्दैछु कि ममा पहिले जस्तो सार्वजनिक मञ्चहरुमा बक्न नपाउँदा हुने हुटहुटी आजकल बिलकुल घटेर गएको छ ।
नेपाली पोष्टले संचालन गर्ने ‘स्पेस’ मा म जादु, एकदेव, बोंगबस्ति, पुरुषोत्तम, गोविन्दलगायत धेरै राम्रो बोल्ने वक्ताहरुको विचार सुन्न जान्छु ।
पहिले पहिले बोल्न पाए हुन्थ्यो भन्ने हुटहुटी आजकल छैन । मैले बोल्नुपर्ने शब्दहरु क्रमशः कम हुँदै गइरहेका छन् । लाग्दछ म आजकल जति बोल्छु त्यो पनि धेरै भइरहेको छ ।
चुप रहँदा शान्त महसुस हुन्छ। ‘स्पिच इज सिल्भर बट साइलेन्स इज गोल्डेन’ भनेर त्यसै भनिएको होइन रहेछ ।