- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हाम्रा प्रातः स्मरणीय तथा परम पूज्य बहिष्ठ, पराशर, भरद्वाज, विश्वामित्र, व्यास आदि प्राचीन महर्षिहरू र सर्वशक्तिमान दशरथ, शान्तनु, धृतराष्ट्र, पाण्डु, युधिष्ठिर आदि ठूल ठूला प्राचीन राजाहरू र अहिल्या, द्रोपदी, कुन्ती आदि जस्ता प्रसिद्ध ऋषि पत्नीहरू र राजमहिषिहरूमा लागेको चरित्र–दोषको आरोपलाई धर्मका ठेकेदारहरूले रटाएको शब्द साधारण जनताहरूले उक्त पूज्य व्यक्तिहरूको वकालत गर्दै भन्ने गर्छन्— तिनीहरू सामर्थवान थिए, तिनीहरूलाई दोष कस्तो ? तिनीहरूलाई दोष लगाउनु महापाप हो । हाम्रो क्षुद्र बुद्धिमा यति शक्ति कहाँ छ, पूज्य व्यक्तिहरूका आचरणलाई सही रूपबाट बुझ्न सकियोस् । हामी पूज्य व्यक्तिहरूका चरित्रमा त्रुटि देखाउन सामर्थ्य छैनौँ भनी गोस्वामी तुलसी दासले भनेका छन्—
“समरथ कहँ नहिं दोष गोसाई ।
रवि पावक सुरसरि की नाई ।।”
प्रस्तुत लेखमा गवेषणापूर्ण विचार गर्ने प्रयत्न रहनेछ, त्यो के भने समर्थ व्यक्तिहरूमा चरित्र त्रुटिलाई दोष मान्ने की नमान्ने । प्रस्तुत श्लोक गोश्वामीले देवर्षी नारदको मुखबाट त्यतिखेर भनाएका हुन् जब उनले शैलराजपुत्री उमाको हस्तरेखा हेर्दै उनका भावी पति शिवका दोषहरूका वर्णन गरेका थिए र यस आशंकाले कि शायद पर्वत–सम्राट् हिमालय आफ्ना भावी ज्वाइँका दोषहरू सुनेर दुःखी र हताश नबनु, उनलाई सान्त्वना दिनको लागि यस किसिमको श्लोक भने—
“जो विवाह सन होई ।
दोषउ गुन सम कह सबु कोई ।
जो अहि सेज सयन हरि करहीं ।
बुध कछु तिनकर दाषु न धरहीं ।।
भानु कृसान सर्व रस खाहीं ।
तिन्ह कहँ मन्द कहत कोउ नाहीं ।।
सुभ अरू असुभ सलिल सब बहई ।
सुरसरि कोउ अपुनीत न कहई ।।
समरथ कहँ नहिं दोष गोसाई ।
रवि पावक सुरसरि की नाई ।।”
अन्तिम श्लोकको ‘नाई’ शब्दले स्पष्ट छ कि यहाँ सामर्थ्य व्यक्तिहरूको तुलना गंगा–जल, सूर्यको ताप तथा आगोसँग गरिएको छ जो तत्दाभिमानी देवताहरूको जडरूप हो तथा जुन जडरूप वस्तुतः स्वयं नै सर्वथा निर्दोष छैन, अब सामर्थ्यवान व्यक्तिहरूको चरित्रको बारेमा लेख्ने प्रयास गर्नेछु ।
भलै गंगा–जल, सूर्यको ताप तथा आगोमा दोष नमानौँ । तर चेतन व्यक्तिहरूको चरित्रमा त्रुटि हुँदा तिनलाई सामर्थ्यवान मान्दा मान्दै पनि तिनमा भएको दोषलाई स्वीकार्नै पर्ने हुन्छ । आसय यो हो कि कुनै पनि व्यक्तिमा सामर्थ्यको मात्रा जति धेरै या थोरै हुन्छ, उसको दोष पनि त्यति नै धेरै या थोरै मानिन्छ । कारण के भने सामर्थ्यको ह्रास–वृद्धिको साथ नै उत्तरदायित्वको ह्रास–वृद्धि हुने गर्छ ।
यस कुरालाई सबैले जानेका छन् र मानेका छन्, यदि कुनै अबोध बालक या कुनै विक्षिप्त मनुष्यले कसैलाई गाली गर्यो भने त ऊ त्यो गालीलाई— बालकहरू अथवा पागलहरूलाई उचित–अनुचितको विचार कहाँ ? यस्तो सोचेर उपेक्षा गर्ने गरेको छ साथै अरू मानिस पनि उसलाई यही भनेर सान्त्वना दिन्छन्, छाडिदेउ !
यो अहिले त नादान बालकै छ अथवा पागल हो, यसको गालीलाई मनमालिनु पागलपन हो, इत्यादि । न्याय सिद्धान्तलाई विचार गर्दा— असमर्थहरूको कुनै दोष हुदैन, सामथ्र्यवानहरूको त बल–बुद्धि यति परिपक्व रहन्छ कि तिनीहरू आफ्नो आचरणलाई राम्रो या नराम्रो भनेर राम्ररी बुझ्न सक्छन् जसबाट उनको यो अनिवार्य कर्तव्य बन्दछ । तिनीहरू आफ्नो शुद्ध आचरणद्वारा प्रकृत जनताको लागि एउटा अनुकरणीय आदर्श सदा बनिरहोस्, किनभने साधारण मानिस त आफ्नो पथ–प्रदर्शकहरूको नै अनुशरण गर्ने गर्दछन् ।
‘भगवत्गीता’ पनि यसै सिद्धान्तको अनुमोदन गर्दछ, “एउटा माननीय व्यक्ति जे गर्दछ, त्यो अरू मानिसले पनि गर्दछ । र उसले जुन आदर्श स्थापित गर्दछ, त्यसको अनुशरण लोकले गर्दछ ।”
देवताहरूको आचरणको बारेमा अध्ययन गर्दा एउटा प्रश्न देखापर्यो — के वास्तवमै उनीहरूको आचार व्यवहार यस किसिमको थियो, उनीहरू स्वार्थी थिए या हाम्रो आदर्श बन्ने योग्य थिए । हिन्दूहरूको पौराणिक कथन छ, ब्रह्मा, विष्णु र महेश परमात्माको नै अवस्था भेदका तीन रूप हुन् । अर्थात् एउटै परमात्मा जगत्–स्रष्ठाको रूपलाई ब्रह्मा, जगत्–पालकको रूपलाई विष्णु र जगत्–संहारकर्ताको रूपलाई महेश भनिन्छ । विष्णु भगवान त एउटा जाति विशेष (देव–जाति) को मुखिया भएको थाहा हुन्छ जसले आफ्नो जातिको अभ्युदय साधनाको लागि तल ओर्लिन संकोच मानेनन् ।
विष्णुको पक्षमा भन्ने गरिन्छ, परमात्माले सधै राम्रोको नै पक्ष लिन्छ, बदमासको होइन, यो कथन वास्तवमा सोह्रै आना अन्याय र पक्षपातले भरिएको छ । कारण के भने पुराणहरूको अध्ययन गर्दा थाहा हुन्छ, देवताहरूमा पनि बदमासी थियो र असुरहरूमा पनि एकदम राम्रा व्यक्तिहरू पनि थिए । यदि देवताहरूको दृष्टिमा असुर बदमास थिए भने असुरहरूको दृष्टिमा देवताहरू पनि बदमास थिए ।